४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तिहार के र कसको पर्व ?

तिहारले प्रकृति, प्राणी, परम्परालाई सम्मान गर्ने भएकाले यो नेपालीको पर्व हो, हिन्दूको चाड हो, पुर्खाको परम्परा हो ।

तिहार के र कसको पर्व ?
अ+ अ-

सोह्र श्राद्धमा पितृहरुलाई, विजयादशमीमा दुर्गालाई पुजिसकेपछि प्रकृति र पशुपंक्षीसँग मित्रता गर्ने पर्वका रुपमा तिहारलाई लिइन्छ ।

मगरभाषामा ‘ति’को अर्थ नुन मिसाएको पिठोलाई बुझाउँछ भने ‘हार’को अर्थ गाई हुन्छ अर्थात् गाईलाई प्रसन्न तुल्याउने वा खुवाउने पर्वको नाम नै तिहार हो । यमराजले कार्तिककृष्ण त्रयोदशीदेखि कार्तिकशुक्ल द्वितीयासम्म बहिनी यमुनाकहाँ पाँच दिन बसेको हुनाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ ।

यो पर्वमा धुमधाम रुपले दियो बालेर उज्यालो बनाई मनाउने हुनाले शुभदीपावलि भनिन्छ । तिहार, यमपञ्चक, शुभदीपावलि गरी तीन नामबाट यस पर्वलाई जनमासले बुझ्ने गरेका छन् । साधना र ब्रéचिन्तनका लागि पौरस्त्य परम्परामा मोहरात्रि, कालरात्रि, सुखरात्रि, शिवरात्रिको विशेष महत्व छ ।

(क) मोहरात्रि– कृष्णको जन्म (भाद्रकृष्ण अष्टमी)लाई मोहरात्रि भनिन्छ । जुन रात्रिमा साधना गर्नाले मोहको नष्ट र अज्ञानको नाश गर्छ त्यसलाई मोहरात्रि भनिन्छ ।

(ख) कालरात्रि– आश्विनशुक्ल अष्टमीलाई कालरात्रि भनिन्छ । जुन रात्रिमा साधनाबाट प्राप्त ज्ञानले अज्ञानको नाश गरी परमात्मा प्राप्त गर्न सकिन्छ, त्यसलाई कालरात्रि भनिन्छ ।

(ग)सुखरात्रि– कार्तिक औँसीलाई सुखरात्रि भनिन्छ । यस दिन लक्ष्मीको पूजाअनुष्ठानका साथ रात्रिको समयमा कोठा, घर, दोबाटो, भण्डार चारैतिर बत्ती बालिन्छ । दिउँसो गाईको पूजासहित धनधान्याकी अधिष्ठात्रीदेवीको आराधना, उपासना र चिन्तन गरिन्छ । लक्ष्मी नै धन र सम्पत्तिकी दाता हुन् । सम्पत्तिको अर्थ पैसा, दौलतमात्र होइन आनन्द वा परमात्मा प्राप्त गर्नु पनि हो । विकारबाट मुक्त भएपछि पुनः जन्मनुपर्दैन, संसारको दुःखले छुँदैन र सुख प्राप्ति हुन्छ, त्यसैले यसको नाम सुखरात्रि भयो ।

(घ) शिवरात्रि– फाल्गुनकृष्ण चतुर्दशीलाई शिवरात्रि भनिन्छ । चतुर्दशी तिथिका स्वामी शिव हुन् । यसैले चतुर्दशी तिथिमा शिवसँग सम्बद्ध अनुष्ठान गरिन्छ । ‘शिवस्य रात्रिः शिवरात्रि’ अर्थात् शिवको रात्रि नै शिवरात्रि हो । शिवको अर्थ ‘परमात्मा’ र रात्रिको अर्थ ‘ज्ञान’ हुन्छ । जुन दिनको साधनाबाट परमात्माको बोध हुन्छ त्यसलाई शिवरात्रि भनिन्छ ।

पहिलो दिन कागलाई पूजा गरेर तिहारको प्रारम्भ हुन्छ । कागलाई यमराजको दूत, सूचनाको संवाहक भनिन्छ । पुराणकालसम्म कागले चिठ्ठीहरु आदानप्रदान गर्ने, समाचार सुनाउने, परिस्थितिको जानकारी दिने काम गर्दथ्यो । अब कागको भाषा, संकेत नै बुझ्न छोडियो, कागको महत्व हरायो, कागबाट लिइने शिक्षा गुमनाम भयो ।

काकादेवर्चनं श्रुत्वा गृहित्वा तृणकादिकम् ।
अङ्गुल्या मापयेत्तन्तुं त्रयोदशसमन्तिवतम् ।।
सप्तभिर्विभजेत्तस्य शेषेन फलमादिशेत् ।
तत्र शङ्का नैव कार्या न मृषा काकभाषितम् ।।–आर्षवचनम्
लाभो हानिस्तथा सौख्यमानन्दप्रियदर्शनम् ।
भोजनं कलहश्चैव छिक्काकाकश्रृगालकम् ।।
–ज्योतिषः सार शिरोमणि

अर्थात्, “काग, स्याल कराउनेबित्तिकै वा हाच्छिउँ आउनसाथ भूइँमा हेर्दा पहिलोपटक देखेको छेस्कोलाई अङ्गुलीले नाप्ने, त्यसमा तेह्र जोडेर सातले भाग गर्ने । मानौँ हामीले टिपेको छेस्काको लम्बाई ९ अङ्गुल भयो, त्यसमा तेह्र जोड्दा २२ (बाइस) हुन्छ, सातले भाग गर्दा १ बाँकी हुन्छ । शेषका आधारमा फल क्रमशः निम्नअनुसार हुन्छ– एक रहे लाभ, दुई हानि, तीन सुख, चार आनन्द, पाँच प्यारो मानिससँग भेट, ६ मीठो भोजन, सात वा शून्य रहेमा झगडा हुन्छ ।”

पशुपंक्षीको भविष्यवाणी सत्य हुन्छ भन्ने विषयलाई सन् २०१०को विश्वकप फुटबलमा अक्टोपसले प्रमाणित गरिदिएको थियो । हुँदा–हुँदै विदेशीहरूले प्रधानमन्त्री को बन्छ, चुनावमा कसले विजय पाउँछ भन्ने थाहा पाउन गोहीलाई समेत प्रयोग गर्न थालेका छन् । काग केवल पंक्षीमात्र होइन ऋषि पनि थिए । कागभुसुण्डीको तपोबल र दैवी शक्तिका बारेमा रामायणमा पनि चर्चा गरिएको छ । काठमाडौँस्थिर कागेश्वरशिवलिङ्ग छ, गोरखाको भुसुण्डीखोलामा कागभुसुण्डीको तपस्यास्थल छ, मनाङजिल्लामा रहेको तिलिचोतालमा कागभुसुण्डी निकै लामो समय बसेकाले साधुसन्त दर्शनार्थ यहाँ पुग्छन् । काग केवल पंक्षीमात्र होइन ऋषि, साधक, ब्रह्मचिन्तकको प्रतिक हो ।

तिहारको दोस्रो दिन कुकुर पूजा गरिन्छ । कुकुर सबैभन्दा बफदार प्राणी हो । गोप्य अपराध पत्ता लगाउन कुकुरको प्रयोग गरिन्छ । कुकुरले मानिसलाई सुरक्षामात्र दिएन उनीहरुको विश्वासिलो आधारसमेत बन्यो । युधिष्ठिरलाई स्वर्गको बाटो देखाउने, चन्द्रमामा पुग्ने प्राणी कुकुर नै थियो । छोटो निद्रा, मालिकको सेवा, कर्तव्यप्रतिको बफादारीलगायतका पक्षहरु कुकुरबाट नेताले सिक्न सकेको भए हाम्रो हालत यस्तो हुने थिएन ।

तेस्रो दिन गाईको पूजा गरिन्छ । पृथ्वी, जन्मदाता एवं मुक्तिदायिनीका रुपमा गाईलाई पुजिन्छ । गाईका शरीरभरि देवीदेवता र तीर्थस्थलको निबास हुन्छन् । गाईको दूध, दही, गोबर, गहुँत अमृतसमान हुन्छन् । गाईको नजिक बसेर गरेको पाठ, जपिएको मन्त्रबाट छोटो समयमा अधिक लाभ लिन सकिन्छ ।

गाई पशु होइन परमात्मासम्म पु-याइदिन सक्ने शक्ति भएकी देवीस्वरुपा हुन् । गाईलाई गवां अङ्गेषु तिष्ठन्ति त्रयो लोकाश्चराचर ।…..गावो विश्वस्यमातरः इत्यादि शास्त्रीय मान्यताका साथ पूज्नुको कारण यही हो । गाईबाट धुन्धुकारीका भाइ गोकर्णको जन्म भएको थियो । गोकर्णले धुन्धुकारीसहित सम्पूर्ण पितृहरूको उद्धार गरेका थिए । गाईको गोबरबाट गोरखनाथको जन्म भएको थियो । उनकै आशीर्वादले नेपाल एकीकरण सम्पन्न भयो । स्वस्थानीमा गोमाको जन्म गाईकै गोबरबाट भएको वर्णन छ । गणेश बनाउँदा गाईकै गोबरमा दुबो राखिन्छ ।

श्रीकृष्णले अधिकांश जीवन गाईकै सेवामा बिताएका थिए । त्यसैले होला गौतमबुद्धले पनि गाईको मुक्तकण्ठले प्रशंसा गरेका छन् । नेपालको पहिलो राजवंश गोपाल थियो । पशुपति जमिनमुनि हुँदा गाईले दूध चढाउँथिन् । ग्रहदोषले सन्तान नुहँदा गाई दान गरिन्छ । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले प्रधानमन्त्री हुँदा पनि हरेक दिन गाईको सेवा गर्न छुटाउनु भएन । भारतस्थित उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ गाईका परमभक्त छन् । गाईको रक्षा गर्ने भूमि भएकाले गोरखा नाम राखियो । पाश्चात्यहरूले गाईलाई दुर्भाग्यवश मासुका रूपमा प्रयोग गर्दछन् । फल खान छाडेर रुख खानु कसैका लागि लाभ हुँदैन । यही बुझेर प्राचीन कालबाट घरदेखि दरबारसम्म गाई पालेको देखिन्छ ।

याज्ञवल्क्यले शास्त्रार्थमा गाई जितेको, विश्वामित्र–वशिष्ठजस्ता ऋषिहरू पनि गाईमा नै लोभिएका थिए । समुद्र मन्थन गर्दा कामधेनु गाई उत्पन्न भएकी थिइन् । यसैले गाई शान्ति र संवृद्धिको प्रतिक मानिन्छिन् । गाईपूजासँगै तोरणलाई विधिवत् अनुष्ठान गरी घर र गोठको सुरक्षार्थ टाँगिन्छ । लक्ष्मण रेखाकै प्रतिबिम्ब झल्कने गरी तोरणको परम्परा मन्दिरदेखि घरसम्म, गोठदेखि तीर्थस्थलसम्म टाँगेर सुरक्षा, सिद्धि र सुखको कामना गरिन्छ ।

गाईतिहारको बेलुका लक्ष्मीको पूजा गरिन्छ । ढोकादेखि ढुकुटीसम्म गाईको गोबर र रातोमाटोले लिपेर लक्ष्मीको स्वागत गरिन्छ । जहाँ गोबर हुन्छ त्यहाँ लक्ष्मीको बास हुन्छ, रातोमाटोले शक्तिशाली अर्थतन्त्रको बोध गराउँछ । हामीलाई अर्थतन्त्रले ढाड सेकाएको बेला यसलाई विधिपूर्वक पूजा गर्न सरकारको ध्यान गए राष्ट्रको कल्याण हुने थियो ।

चौथो दिन गोरु र गोवर्धनको पूजा गरिन्छ । मन्दिर बनाउने परम्परा आउनुपूर्व तीर्थस्थल वा क्षेत्रको दर्शन गर्ने चलन थियो । अहिले पनि देवघाट, चरताधाम, कैलाश, गोसाइँकुण्डमा मूर्ति पूजा गर्न होइन, क्षेत्रको दर्शन गर्न जाने गर्दछन् । गोबद्र्धन अर्थात् जसको पूजाले गोरुको संख्या सृजनशीलता बढाउँछ त्यसको पूजा गर्ने परम्परा छ । अहिलेको प्रविधि आउनुपूर्व गोरुबाट नै खेतीपातीको काम हुन्थ्यो । प्रेतात्माको मुक्तिका लागि साँढे डाम्ने वा छोड्ने धार्मिक मान्यता थियो । खेतबारीमा गोरुको गोबर प्रयोग हुँदासम्म अन्नमा तागत थियो, फूलफलमा शक्ति थियो, घरमा सम्पत्ति थियो । गोबरले लिप्दा घरमा शान्ति, परिवार निरोगी थिए ।

पाँचौँ दिन दिदीबहिनीबाट सप्तरङ्गी टीका लगाएपछि तिहारको विधिवत् समापन हुन्छ । दाजुभाइको अकाल मृत्यु नहोस्, वंशपरम्पराले निरन्तरता पाओस्, सुखशान्ति होस् भनी दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिन्छन् । सात रङले सातै दिन सुरक्षा गरुन् भन्ने अर्थ दिन्छ । रङका आआफ्नै अर्थ र महत्व हुन्छन् । सेतोले शान्ति, रातोले शक्ति, पहेँलोले धैर्य, हरियोले ऊर्जा आदि अर्थ बताउँछन् । दुबोलाई तेलमा चुबेर मन्त्रद्वारा छेक्ने चलन छ । ओखर फोरेर दाजुभाइका शत्रु नाशको कामना गरिदिन्छन्, मखमली फूलको माला लगाइदिएर दीर्घजीवनको कामना गर्दछन् ।

हाम्रा पर्वले जोड्ने, तिक्तता र रिक्ततालाई हटाएर पूर्णता दिने काम गर्छ । तिहारमा देउसी भैलो खेलेर समाजमा आत्मीयता जोड्ने काम गर्छ । सबै जातका मानिसहरु मिलेर देउसी भैलो खेल्छन् । ‘भैलो’ शब्दले भलो अर्थात् कल्याणबाट अपभ्रंश भएर भैलो बन्न पुगेको देखिन्छ । अहिलेसम्म पहाडका कतिपय ठाउँमा भैलीराम भन्ने चलन छ । राम नेपालीसमाजको राजनीतिदेखि समाजसम्म, परिवारदेखि दर्शनसम्म जोडिएको छ । हे राम सबैको भलो गरिदेऊ भन्न अर्थमा भैलीराम भनिएको हुन सक्छ ।

लक्ष्मीपूजाको दिनमा महिलाहरुले भैलो र गोवर्धन पूजाको दिनमा पुरुषहरुले देउसी खेल्ने चलन छ । भैलो र देउसीको सम्बन्ध बलिराजासँग सम्बनध छ । साँझपछि हरेकका घरमा गएर खेलिने देउसी भैलोले समाजको कथा, हाम्रो संस्कृति, संगीत एवं गायन परम्पराको संरक्षण गरिरहेको छ ।

यसरी यमराज आफ्नो व्यस्त जीवनमा आनन्दका साथ बहिनीकहाँ पाँच दिन बसेको अवसरलाई आधार बनाएर तिहार मनाएको हुँदा यो प्राचीन पर्व भएको देखिन्छ । प्रकृति खुलेको, फूल फुलेको, धान झुलेको, हिमाल हाँसेको समयमा मनाइने तिहारले प्रकृतिसँग जोडिएर, संस्कृतिसँग गाँसिएर, पशुपंक्षीको पूजा गरेर परम्पराको संरक्षण गर्न प्रेरणा दिइरहेको छ ।

दशैँमाथि नग्न रुपमा प्रयोग गर्नेहरु तिहारबारेमा मौन छन् । कोही भदौमा दशैँ मनाउँछन्, कोही हाम्रो होइन भनी इतिहासमाथि आगो लगाउँछन् तर सौभाग्य तिहारमाथि तरबार चलेका छैन । तिहारले प्रकृति, प्राणी, परम्परालाई सम्मान गर्ने भएकाले यो नेपालीको पर्व हो, हिन्दूको चाड हो, पुर्खाको परम्परा हो ।