६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुदः आर्चरीमा फाइनल समीकरण पूरा



अ+ अ-

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरीमा फाइनल खेलको समीकरण पूरा भएको छ । आर्चरीमा कम्पाउण्ड मेन सिङ्गल र वुमन सिङ्गल, रिकर्भ मेन सिङ्गल र रिकर्भ वुमन सिङ्गल तथा स्टाण्डर्ड मेन टिम र वुमन टिमको फाइनल समीकरण तयार भएको हो ।

कम्पाउण्ड मेन सिङ्गलतर्फ गण्डकीका जागृत गुरुङ र गण्डकीकै ख्यामबहादुर क्षेत्री फाइनल पुग्नुभएको छ । जागृतले सुदूरपश्चिमका सुरेश गुरुङलाई एक सय ३६ का विरुद्ध एक सय ४४ स्कोरले हराउनुभएको हो । फाइनलमा गण्डकीकै दुई खेलाडी हुनुभएपछि यस विधामा गण्डकीलाई स्वर्ण र रजत पक्का भएको छ ।

यस्तै गण्डकीका ख्यामले एपिएफएका रमेश भट्टचनलाई १४१–१३५ स्कोरमा पराजित गर्दै जागृतसँगको भेट पक्का गर्नुभएको हो । कम्पाउण्ड वुमन सिङ्गलतर्फ एपिएफकी पार्षदा आचार्य र आर्मीकी इमायुङ राई फाइनल पुग्नुभएको छ । पार्षदाले गण्डकीकी मोनिका रानालाई १३४–१०९ स्कोरले हराउनुभयो । यस्तै इमायुङले एपिएफकी निर्मला कानवाङ राईलाई १३०–१२२ स्कोरले पछि पार्नुभयो ।

रिकर्भ मेन सिङ्गलतर्फ गण्डकीका गङ्गाबहादुर कुँवर र पुलिसका तिलक पुन फाइनल पुग्नुभएको छ । गङ्गाले एपिएफका विराट थापालाई ६–४ अङ्कले हराउनुभएको हो । यस्तै तिलकले गण्डकीका असिम शेरचनलाई ६–४ अङ्कले पराजित गर्दै फाइनलमा स्थान बनाउनुभएको हो ।

रिकर्भ वुमन सिङ्गलतर्फ गण्डकीकी रोजिना थापामगरले आर्मीकी ज्ञानु अवालेलाई ६–४ स्कोरले हराउनुभयो । यस्तै आर्मीकी मञ्जु बजगाईँले गण्डकीका रश्मी दर्लामीलाई सोझो तीन सेटमा ९६–०० पराजित गर्नुभयो ।

स्टान्डर्ड मेन टिमतर्फ गण्डकी र सुदूरपश्चिम उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदा वुमन टिमतर्फ प्रदेश नं १ र आर्मी खेल्नेछ । मेन टिमको पहिलो सेमिफाइनलमा गण्डकीले प्रदेश नं १ लाई ५–१ अङ्कले हराएको हो । यस्तै अर्को खेलमा सुदूरपश्चिमले नेपाल पुलिसलाई ६–४ अङ्कले हराउँदै फाइनल पुगेको हो ।

स्टान्डर्ड वुमन टिमतर्फ प्रदेश नं १ ले गण्डकी प्रदेशलाई ६–० अङ्कले सोझो तीन सेटमा हरायो । यस्तै आर्मीले पनि एपिएफलाई सोझो तीन सेट ९६–००ले पन्छाउँदै फाइनलको यात्रा तय गरेको हो । राष्ट्रिय खेलकुदमा पाँचौँ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा योपटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको छ । खेलमा पाँच प्रदेश, तीन विभागीय र एनआरएनए गरी नौ टिमको सहभागिता रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन् । मधेस र कर्णालीको भने सहभागिता रहेन ।

भारत्तोलनमा सदूूरपश्चिमलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलन प्रतियोगितामा सुदूरपश्चिमले स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको हलमा भएको पुरुष ७३ केजी तौल समूहमा सुदूरपश्चिमका हेमन्त पालले स्वर्ण जित्नुभएको हो । उहाँले स्न्याचमा ९० र क्लिन एण्ड जर्कमा एक सय सात गरी कुल एक सय ९७ केजी भारबहन गर्नुभएको थियो ।

यस्तै नेपाल पुलिसका अशोककुमार साहले रजत र एपिएफका राहुलकुमार दासले कास्य जित्नुभयो । अशोकले स्न्याचमा ८१ र क्लिन एण्ड जर्कमा एक सय आठ गरी कुल एक सय ८९ केजी भारबहन गर्नुभएको नेपाल भारत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ले बताउनुभयो । राहुलले स्न्याचमा ८३ र क्लिन एण्ड जर्कमा एक सय पाँच गरी कुल एक सय ८८ केजी भारबहन गर्नभएको थियो । त्यसअघि सम्पन्न तीन खेलमा नेपाल आर्मीले दुई र नेपाल पुलिसले एक स्वर्ण थपेको छ । हालसम्म सम्पन्न आठ इभेन्टतर्फ विभागीय टिम नै हाबी छन् । जसमध्ये पुलिसले चार, आर्मीले तीन र सुदूरको एक स्वर्ण आएको छ ।