४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जापानमा बौद्धधर्मः जापानी सँस्कृतिको आधारस्तम्भ

जापानमा बौद्धधर्मः जापानी सँस्कृतिको आधारस्तम्भ
अ+ अ-

नारा शहरमा रहेको तोडाइजी बौद्ध मन्दिर

सम्पन्नता, विज्ञान र प्रविधिको विकास र शक्तिलाई नै शान्ति र प्रगति ठान्नेहरुको चिन्तनको उपज आज विश्वमा अशान्ति छ, सुख छैन, द्वन्द छ, हार्दिकता छैन ।

अझ भन्ने हो भने मानवता नै छैन जसले गर्दा व्यक्तिलाई जीवन के हो भन्ने अनुभूति हुन सकेको छैन । भगवान्बुद्धले दिएका शान्ति, अहिंसा, परोपकार,
सदाचार, अपरिग्रह, निर्मोहजस्ता सद्गुणहरु मानव जीवनका लागि महत्वपूर्ण रहेको छ । मानिसहरुको भवतृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःख उत्पत्ति हुन्छ र त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नु पर्दछ भन्ने नै बुद्ध धर्मको सार हो । भगवान्बुद्धका अनुसार चार आर्य सत्यको ज्ञान र अष्टाङ्गिक मार्गको पालनाबाट नै संसारभरी ब्याप्त रहेको आर्थिक, सामाजीक, धार्मिक, राजनैतिक द्वन्दको समाधान हुन सक्दछ ।

नेपाल भगवान्बुद्धको जन्म भूमी हो । अन्तराष्ट्रिय जगतमा नेपाल चिनाउने प्रमुख माध्यम बुद्ध र लुम्बिनी हुन भने बुद्ध चिन्ने र बुद्धका सन्देशहरुलाई अनुसरण गर्ने, जीवनमा प्रयोगमा ल्याउने र बौद्ध धर्मलाई जीवन्त राख्ने काम भने जापान लगायत एशियाका विभिन्न देशहरुले गरेको छन्। वर्तमान अवस्थामा जापान बौद्ध धर्म, संस्कृति र परम्पराको आदर गर्ने, जगेर्ना गर्ने, पालना गर्ने र विश्व जगतलाई यसप्रति आकर्षित गर्ने देशको रुपमा विकसित भएको पाइन्छ ।

अझ भन्ने हो भने बौद्ध धर्मलाई अंगिकार गर्ने र व्यवहारमा ल्याउने कार्यमासबै भन्दा अगाडि जापान र त्यस पछि श्रीलंका, कोरिया, चीन, थाइल्याण्ड लगायतका देशहरु छन्। बौद्ध धर्मको विश्वव्यापीकरण यसरी भएको छ कि नेपाल र भारतमा भन्दा पनि बढी एशियाका अन्य देशहरु,
युरोप र अमेरिका लगायतका पश्चिमा देशहरुमा बौद्ध धर्म र दर्शन प्रति अझ बढी चासो, उत्सुकता, अनुसरण र संरक्षण तथा सो प्रति सौहार्दता राख्नेहरुको संख्या बढ्दो छ । जसले गर्दा पछिल्लो समयमा संसारभरी नै बौद्ध धर्म र दर्शनको महत्व बढ्दै गएको छ ।

बौद्धधर्म नेपाल तथा भारतबाट चीन, कोरिया हुँदै छैटौं शताब्दिमा जापान पुगेको भए पनि बौद्धधर्मको विकास, संरक्षण र प्रयोग भने जापानमा राम्रोसँग भएको पाइन्छ । सातौं शताब्दिको प्रारम्भमा तत्कालिन राजकुमार सोतोकुले बौद्धधर्म र दर्शनको गहिरो अध्ययन गरेपछि जापानमा बौद्धधर्मले ब्यपकता पाएको देखिन्छ । जापानमा बौद्धधर्म र बौद्धदर्शनलाई नै आदर्श मान्दै व्यवहारिक रुपले सबै जसो जापानीहरुले कार्यरुपमा ल्याएको देख्न र अनुभव गर्न सकिन्छ ।

अन्य धर्ममा विश्वास गर्ने होस् वा कुनै पनि धर्ममा विश्वास नगर्ने जापानीहरु पनि बौद्ध मन्दिर जाने गर्दछन् । जापानीहरुको जीवनमा बौद्धधर्मले निकै प्रभाव पारेको प्रमाण यहाँको कला, साहित्य, वास्तु, नैतिक दृष्टीकोण, विचार, आदर–सत्कार गर्ने व्यवहार, नम्रता आदिबाट प्रष्ट हुन्छ । बौद्धधर्म नमान्ने जापानीहरु पनि बौद्ध मन्दिर जाने गर्दछन्।

बाहिरबाट देख्दा जापान बौद्धमार्गीहरुको देश जस्तो लाग्छ । तर पनि जापान एक बहुधार्मिक एवं बहुसाँस्कृतिकदेश हो । जापानमा झण्डै २००० बर्षको अन्तरालमा केही बाहिरबाट आएका र केही देशभित्र नै परिस्कृत भएका धार्मिक एवं साँस्कृतिक सम्पदाहरुको विकास भएको पाइन्छ । जापानका धेरै धार्मिक परम्पराहरु मध्ये दार्शनिक एवं व्यवस्थापकीय हिसाबले निम्न पाँचवटा धर्महरुः शिन्तो, बौद्ध, ताओइजम, कन्फुसियनिजम र क्रिश्चियन नै प्रमुख रहेको पाइन्छ ।

नेपाल लगायत अन्य विभिन्न देशहरुमा बैद्ध धर्ममा थेरवाद, महायान र बज्रयान गरी तीनवटा सम्प्रदायहरु रहेका छन् । तर जापानी बौद्ध परम्परामा धेरैवटा सम्प्रदायहरु रहेका छन्। किनभने नेपाल र भारतबाट धेरै जना बौद्ध भिक्षु वा ज्ञाताले बौद्धधर्मलाई चीन, कोरिया हुँदै जापान पु-याए र यो क्रममा जुन भिक्षु वा ज्ञाताले बौद्ध धर्मलाई जापान पु-याए उनैले आफ्नै ढंगले फरक सम्प्रदायको ब्याख्या वा पालना गर्न सिकाए जसले गर्दा कालन्तरमा त्यो नयाँ सम्प्रदायको रुपमा विकसित हुँदै गएको पाइन्छ ।

जापानमा सिंहन बौद्ध सम्प्रदाय सबैभन्दा ठूलो र पुरानो मानिन्छ जसको जन्मदाताको रुपमा कुकाई (कोव दाईसी लाई लिने गरिन्छ । किंवदन्ती अनुसार कुकाई चमत्कारी स्वभावका व्यक्ति थिए ।

उनले चीनबाट एउटा बज्रलाई जापान तिर फाले । त्यो बज्र जापानको कोयासानमा खसेको कुरा उनलाई अन्तरआत्माले अनुभूत गरायो । पछि उनी कोयासान पुगेर हेर्दा त उनले चीनबाट फालेको बज्र त त्यही रहेछ । त्यसैले सिंहन बौद्ध सम्प्रदायको उद्गम स्थल कोयाशानलाई जापानीहरु पवित्र तीर्थस्थलको रुपमा लिने गर्दछन्।

नागरिकहरुमा बौद्धशिक्षामा चासो बढाउन जापानको क्योटो शहरमा रहेको कोदाइ–जी जेन मन्दिरमा एण्ड्रोइड रोबोट पुजारीले बौद्धशिक्षा दिनेर हार्टसूत्र पाठ गर्ने गरेको पाइन्छ । मिन्दार नामको सो रोबोटले हातहरु, टाउको, कम्मर हल्लाउने, प्रार्थनाको लागि हात जोड्ने, शान्त र आनन्ददायक बोलीमा करुणा, क्रोध, काम र अहंकारको बारेमा प्रवचन दिन्छ ।उसले तपाई स्वार्थी र अहंकारमा  टाँसिएर बस्नुभएको छ, भौतिक इच्छाहरु केही पनि होइनन्, यी त दुःखका कारण हुन्भनी श्रोताहरुलाई भन्ने गर्दछ Iवास्तवमा बौद्ध भिक्षुले गर्नेकाम एक रोबोटले गरी रहेको छ, मानवको तुलनामा रोबोटको क्षमता असिमित छ, भिक्षुमानव हो, एकदिन मर्नु पर्दछ तर रोवटलाई अध्यावधिक र विकसित गर्दै जाँदा अजम्बरी बन्न सक्दछ । व्यस्त जीवन शैली र प्रविधि उन्मुख युवाहरुलाई बौद्धधर्मप्रति आकर्षित गर्न यो रोबोटको आविस्कार बरदान सावित हुन पनि सक्दछ ।

भगवान् बुद्ध र बौद्धधर्मप्रतिको आस्था र समर्पणको एक अनुपम नमूनाको रुपमा विश्वकै सबैभन्दा ठूलो बुद्ध मूर्ति बन्दै गरेको छ जापानमा । जापानको कामिआमाकुसा शहरको एक विशाल पहरामा नेपाली मूर्तिकार मञ्जुल मितेरीको नेतृत्वमा उक्त मूर्ति निर्माण हुँदैछ ।

पाँच बर्ष भित्रमा ६० फिटको एउटा, ५० फिटका दुइवटा र ३० फिटका चारवटा बुद्धमूर्तिहरू बन्दै गरेका छन् । जापानीहरूले नेपाली मूर्तिकारहरू नै छान्नुको कारण नेपाल भगवान् बुद्धको जन्मभूमि भएर नै हो ।

नेपाली कला र संस्कृति पनि संसारभरि नै प्रख्यात छ । आधिकारिक बौद्धकलाको लागि नेपाल नै उपयुक्त भएर नै उनीहरू छानिएको हुनु पर्दछ । यो नेपाल र नेपालीको लागि पनि गौरवको विषय हो ।

बौद्ध र हिन्दू संस्कृतिको संयोग जापानका विभिन्न बौद्ध  मन्दिरहरूमा देख्न सकिन्छ । हिन्दू देवी देवताहरू जस्तै  भगवान गणेशको प्रतिकको रुपमा जापानीहरू शोतेन, सरस्वतीको रुपमा वेन्जालटेन वा वेतेन, विश्वकर्माको रुपमा विशुकाट्सुमा (काष्ठकलाका देवता), यमदूतको रुपमा इम्मा–ओ (नर्गका राजा) आदिलाई पूजा गर्ने  गर्दछन्।

त्यस्तै बौद्ध र हिन्दू संस्कृतिको संयोगको एक  अनुपम नमुना जापानको नागोयामा रहेको तोगान्जी बौद्ध मन्दिर परिसरमा देख्न सकिन्छ । उक्त बौद्ध मन्दिर परिसरमा एक शिवलिङ्ग स्थापना गरिएको छ र  शिवलिङ्गको तल्लो भागमा जापानी भाषामा जीन्सेई–नो–कोन्गेन अर्थात्जीवनको आधार लेखिएको छ ।

मन्दिरमा दर्शन गर्न,पूजा गर्न आउने भक्तहरू उक्त शिवलिङ्गमा जल चढाएरमात्र मूल मन्दिर प्रवेश गर्ने गर्दछन्।नेपालमा पाइने पाँचतले प्यागोडा मन्दिर र जापानमा पाइने गोजु–नो–तो (पाँचतले मन्दिर) मा समानता छ । यस्तै जापानको रथ तान्ने गियोन जात्रा नेपालको कुमारी तथा मछिन्द्रनाथको रथ तान्ने जात्रासँग मिल्ने खालको छ ।जापानका अघिल्लो पुस्ताका मानिसहरु पहिला देश बनाऔं, देश बनेपछि हामीहरु त्यसै बन्छौं र समृद्ध हुन्छौं भन्ने दर्शनबाट अभिप्रेरित थिए । त्यसैले जापान संसारकै लागि उदाहरणीय देश बन्न सकेको छ ।

जापानमा आधुनिकता र संस्कृतिको संयोजन भएको पाइन्छ । जापानका धार्मिक,साँस्कृतिक सम्पदाहरु वरिपरिको शान्त वातावरण, स्वच्छता, सुन्दरता हेर्दा साँचो अर्थमा बौद्ध दर्शनलाई व्यवहारमा उतारेको,  सस्कृति र सम्पदालाई देशको पहिचानको रुपमा विकास गरेको देख्न सकिन्छ । स्वर्ग झै लाग्ने मन्दिर परिसरको बगैंचा, बौद्ध मन्दिरको भब्य सजावट र सुगन्धित धुप  एवं संरक्षणको ब्यवस्थापन हेर्दा शान्ति र आनन्द प्राप्त हुन्छ ।

जापान भौतिक विकास र आर्थिक हिसावमा मात्र बैभवशाली होइन, जापानी समाज हरेक कुरामा सकारात्मक सोच राख्ने प्रबृत्तिका छन् । सम्पदा र संस्कृतिको धनी देश जापानले यसको विकास, संरक्षण र प्रबद्र्धन गर्नमा कुनै कन्जुस्याईं गरेको छैन । भगवान बुद्धका विचारलाई व्यवहारमा नै परिणत गरेका कारण जापानी समाज, संस्कृति र उन्नती सम्भव भएको हो र विकासको चरमोत्कर्षमा पुगेको अनुमान गर्न सकिन्छ ।

जापानी संस्कृति बौद्धधर्म अझ भन्नुपर्दा पञ्चशीलमा आधारित छ । बौद्धधर्मको वास्तविक प्रयोग जापानमा देख्न सकिन्छ । नेपाल भगवान् बुद्ध जन्मेको देश भएकोले होला बुद्ध र बुद्धधर्मप्रति आस्था छ, श्रद्धा छ । सर्वसाधरण मानिसहरू पनि मन्दिर, गुम्बा, विहार जाने, पूजा गर्ने, धुप बाल्ने त गर्दछन्। हाम्रा पुर्खाहरूले बनाइदिएकोजताततै भेटिने मन्दिर, गुम्बा, विहारहरू मात्र होइन अन्य धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदा स्थलहरू व्यवस्थित छैनन्, संरक्षित छैनन्, सफा छैनन् I

भगवान बुद्धको जन्मस्थल भएकै कारण बौद्धधर्मको अनुपम केन्द्र बन्नु पर्दथ्यो नेपाल । ज्ञान भूमि, शान्ति भूमि नेपाल बनाउन नेपालबाट बाहिरिएको बौद्ध दर्शन र संस्कृतिलाई फिर्ता ल्याउन र बौद्ध अध्ययनको उत्कृष्ठ केन्द्र बनाउन जरुरी छ ।

धार्मिक एवं साँस्कृतिक सम्पदाका हिसावले नेपाल संसरमै अगाडि छ । यसको संरक्षण र प्रबद्र्धन गर्नु भनेको नेपाल र नेपालीको पहिचान भोलीको पुस्तालई पनि जोगाएर राख्नु हो । पर्यटनका माध्यमबाट संमृद्धि ल्याउनु पनि हो । यसका लागि जापान एक प्रयोगशाला जस्तै हो । जापानबाट नेपालले धेरै सिक्न जरुरी छ र नेपालमा संस्कृति र सम्पदाहरुको संरक्षण, प्रबद्र्धन गर्दै पर्यटन विकास गर्न सक्दछ ।

-लेखक डा. घिमिरे संस्कृति तथा पर्यटन विज्ञ हुनुहुन्छ ।