२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही २ मा सत्ता गठबन्धनका सहित अन्य दुईकाे उम्मेद्वारी खारेज, विष्णु पौडेललाई सहज



अ+ अ-

काठमाडाैंं । निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ । नेकपा (एकीकृत समाजवादी)का गुरुङ नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग गठबन्धनका तर्फबाट प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा कमल भुसालको उम्मेदवारी पनि खारेज भएको छ । भुसालले आफूलाई स्वतन्त्र उम्मेदवार भने पनि उहाँ दलका उम्मेदवार हुनुहुन्थ्योे । सहायक निर्वाचन अधिकृत घनश्याम गौतमद्वारा गए राति जारी सूचनामा गुरुङ र अर्का स्वतन्त्र उम्मेदवार हिमाल बस्याल प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकाले निज उम्मेदवारको मनोनयन खारेज हुने उल्लेख छ ।

उम्मेदवार गुरुङ आफैँ अध्यक्ष रहेको नर्थवेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने रु दुई करोड २५ लाख नतिरेको भन्दै अदालतमा २०७६ सालमा बैंकिङ कसुरसम्बन्धी उजुरी परेको थियो । अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अञ्जित विष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै २०७८ मङ्सिर २१ गते फैसला गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले नर्थवेष्ट नेपाल इन्फा प्रालिका गुरुङसहितका छ जनालाई विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा १०७ (क) बमोजिम जनही रु दुई हजार जरिवानासहित मागदाबीअनुसारको बिगो तिराउने फैसला गरेको थियो । निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालोसूचीमा परेका व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख छ ।

त्यस्तै सोही क्षेत्रबाटै प्रतिनिधिसभामा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका डा भुसालको भने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले उम्मेदवारी खारेज भएको उल्लेख छ ।

भुसालविरुद्ध स्वतन्त्र उम्मेदवार विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दर्ता गराउनुभएको थियो । उहाँविरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो ।

तीन जना उम्मेदबारको उम्मेदवारी नै खारेज भएपछी नेकपा एमालेबाट उम्मेदवार रहेका विष्णु पौडेललाई निर्वाचन लड्न सहज हुने भएको छ । एमाले नेता पौडेल २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा रुपन्देहीबाट विजयी हुँदै आएका छन्।