२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाठ्यक्रममै राख्नुपर्छ सरसफाइ



अ+ अ-

काठमाडौं । “हाम्रै नेपाली जनशक्तिले हो विदेशमा गएर सरसफाइको काम गर्ने । विदेशी घरआँगन र संरचना कति सफा छन् ! त्यहाँ सामग्री छन्, प्रविधि छ र सफाइको काम प्राथमिकतामा छ । तर हाम्रो देशमा त्यस्तो सफा किन हुँदैन ? किन भने यहाँ यिनै वस्तुको खाँचो छ”, सरसफाइ क्षेत्रका अभियन्ता खेम शर्मा भन्नुहुन्छ ।

यही जनशक्तिले विदेशी संरचना टल्काउँछन्, तर हाम्रा संरचना किन सफा हुन सक्दैनन् त ? हाम्रा होटल, अस्पताल, सडक या सम्पदा विदेशीका जस्ता सफा बनाउन किन सकिँदैन रु शर्माको जवाफ छ, “यहाँ तालिमको राम्रो व्यवस्था छैन । स्थान र विषयबमोजिम आवश्यक उपकरण, केमिकल या सामग्री उपलब्ध छैनन् । ती वस्तु त बजारमा उपलब्ध होलान् तर तिनको प्रयोग गर्नसक्ने गरी जनशक्तिलाई तालिम छैन । मुख्य कुरा त यहाँ कामको अनुगमन छैन । त्यसैले हामीले जसरी सफा गर्न या राख्न सक्थ्यौँ त्यो स्वरुपमा गर्न सकिरहेका छैनौँ ।

खेम शर्मा सरसफाइ क्षेत्रका विज्ञ हुनुहुन्छ । उहाँको नेतृत्वमा पाँच वर्षअघि भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ नेपालको सफाइ क्षेत्रकै एक नमूना भएर रहेको छ । सो विमानस्थलको सफाइको गुणस्तर कायम राख्ने प्रयास त्यसयता सरकारले जारी राखेको भएपनि सोही रुपमा भने पछिल्लो समयमा सम्भव भएको देखिँदैन । अष्ट्रेलियामा सफाइसम्बन्धी कम्पनी स्थापना गरी यस क्षेत्रमा विज्ञता हासिल गरेका शर्मा विगतका केही वर्षदेखि नेपालको सफाई क्षेत्रमा संलग्न रही आउनुभएको छ ।

“त्यतिबेला गैरआवासीय नेपाली सङ्घको आह्वान र आग्रहमा मैले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा सफाइको एउटा नमूना पेश गरको थिएँ । मलाई लाग्छ, त्यस समयको हाम्रो कामलाई राम्रो नठान्ने कोही थिएन । मैले पनि कामको जीवनमै नसोचेको प्रशंसा पाएँ । विमानस्थलजस्तो मुलुकको मुहार झल्किने स्थानमा भएको त्यो नमूना कामपछि के नेपाल नै यस्तो सफा गर्न सकिँदैन होला त भन्ने अनेकन जिज्ञासा उब्जिए । सामाजिक सञ्जालमा हजारौँ मानिसका यस्ता प्रतिक्रिया आए । मैले सोचेँ मप्रति धेरैको अपेक्षा रह्यो । त्यसैले अहिले पूरै नभए पनि धेरै नेपालमै समय दिएको छु” शर्मा भन्नुहुन्छ ।

पहिले नेपालमा स्वयंसेवीरुपमा सुरु गरेको यो सफाइको कामलाई उहाँले अहिले खेम्स क्वालिटीमार्फत् व्यवसायीकरण गर्नुभएको छ । विमानस्थलपछि पशुपति क्षेत्र, नागरिक उड्डयन प्राधिकरण, धुलिखेल अस्पताल, धनगढी विमानस्थल तथा धनगढी महानगरपालिकालगायतका स्थान र संरचनाको उहाँले सफाइ गर्नुका साथै त्यहाँका सफाई कर्मचारीलाई तालिम दिनुभएको छ । नेपालका सबै विमानस्थललाई गुणस्तरीय सफाइ गर्नुपर्छ भनी उहाँले ती विमानस्थलहरुको सफाइ ‘अडिट’ पनि गरिरहनुभएको छ ।

उहाँको नेतृत्वमा अहिले सफाइका कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरका उपकरण एवं प्रविधिको प्रयोग गरेर अन्तर्राष्ट्रियस्तरकै सफाइ तालिम दिने गरिएको छ । उहाँसँग यस्तो तालिमका लागि आवश्यकता अनुसारका जनशक्ति छन् । उहाँ अस्पताल सफाइका लागि तालिम दिने चिकित्सक नै रहेको बताउनुहुन्छ ।

उहाँले हालैमात्र वीर, कान्ति बाल, ट्रमा र थापाथली प्रसूति अस्पतालको सरसफाइसम्बन्धी अनुगमन गरेर सरकारलाई रिपोर्ट बुझाउनुभएको र केही समयपछि ती अस्पतालका जनशक्तिलाई पनि तालिमको तयारी गरिएको बताउनुभयो । उहाँलाई केही समयअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइको गुणस्तरलाई कायम राख्नका लागि अनुगमन गरी सफाइका कर्मचारीलाई तालिमका लागि अनुरोध गरेको थियो । अहिले पनि उहाँलाई स्वास्थ्य मन्त्रालयले अस्पतालका साथै अन्य मन्त्रालयले कार्यालय तथा विभिन्न संरचनाको सफाइका लागि आग्रह गरेका उहाँले बताउनुभयो ।

सफाइ क्षेत्रमा काम गर्ने कर्मचारी आफ्ना अभिभावक ठान्छन् उहाँलाई । शर्मा काम गर्दा होस् या तालिमका समयमा, मजदुरसँगै बसेर काम गर्नुहुन्छ । सफाइको काम जसरी समाजले अहिले तल्लोस्तरका मानिसले गर्ने काम भनेर तुलना गरेको छ, त्यस्तो होइन भन्ने कुराको सन्देश र प्रेरणा दिनुपर्ने उहाँ ठान्नुहुन्छ । त्यसैले उहाँले तालिम दिएका सबैजसो कार्यालय तथा स्थानका सफाइ कर्मचारीले सफा गर्न मात्र सिकेको नभई आफूले गरेको पेसालाई समाजले जसरी लिएको छ त्यस्तो नभएर कामको सम्मान गर्नुपर्ने पेसाका रुपमा बुझ्न सकेको बताउने गर्दछन् ।

“पहिले पहिले सरसफाइ कुनै काम नै होइनजस्तो लाग्थ्यो । घर होस् या कार्यालयको, त्यति प्राथमिकतामा पर्दैनथ्यो । अड्डामा कुनै एकदुई जना कार्यालय सहयोगीले सफाइ गर्थे भने घरमा यसको खास जिम्मेवारीमा कोही हुँदैनथ्यो । तर अहिले यो सोचमा परिवर्तन हुदैछ । अहिले मानिस पहिलो प्राथमिकता सफाइ हो भन्ने सोच्न थालेका छन् । हालैमात्र धनगढी उपमहानगरपालिकाका अध्यक्ष गोपी हमालले मिडियाबाटै हाम्रो कामबारे थाहा पाएर बोलाएको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “हामी त्यहाँ गयौँ र धनगढी उपमहानगरपालिकाका सफाइकर्मीलाई तालिम दिएर आयौँ ।”

सिटीइभिटीमा अरु धेरै विषयका पाठ्यक्रम र तालिम दिने व्यवस्था भए पनि सरसफाइसम्बन्धी नभएकाले उहाँको ‘टिम’ले यससम्बन्धी एक व्यावसायिक पाठ्यक्रम बनाएर सिटीइभिटीलाई दिएको छ । सरसफाइलाई अन्य व्यावसायिक ‘कोर्ष’ जस्तै पाठ्यक्रममा राखेर पठनपाठन गराउनुपर्ने उहाँको सुझाव छ । त्यसो भयोभने यस क्षेत्रमा विकसित पछिल्लो प्रविधि भित्र्याउन, यसका सीपहरुको व्यवसायिक विकास गर्न र सफाइको कामलाई पनि प्राथमिकतामा राख्न सजिलो हुने उहाँको भनाइ छ । उहाँले अहिले पछिल्लो छ महिनामा नेपाल फर्किएपछि विभिन्न स्थानका गरी पाँच सय सफाइकर्मीलाई तालिम दिनुभएको छ ।

यो तालिमले के फरक पारेको छ ? उहाँ भन्नुहुन्छ, “जनशक्ति दक्ष बन्यो । उनीहरुलाई औजार तथा विश्वमा विकसित पछिल्लो प्रविधि कसरी चलाउने र केमिकलको प्रयोग कसरी गर्ने भन्ने ज्ञान पनि भयो । आफ्नो क्षेत्रमा आफूले गरेका कामका लागि यसका जनशक्तिलाई थप आत्मबल बढायो । उनीहरु विदेश नै जानुपर्दा पनि हातमा सीप लिएर जाने भए र जसका कारण कमाइ पनि बढी गर्ने भए । यस्ता अरु पनि धेरै फाइदा छन् हामीले व्यवसायिक रुपमा यसको विकास गर्न सक्यौँ भने ।”

शर्मा कुनै बाह्य वस्तुको सफाइ गर्नुअघि सफाइको काम लगाउने र गर्ने मानिसका मनको विकार सफा गर्नुपर्ने सुझाव दिनुहुन्छ । एकातिर काम लगाउनेले सफाइको कामलाई काम ठानेको छैन भने अर्कातर्फ काम गर्नेहरुको मनमा पनि समाजले आफूलाई हेय भावले हेर्छ भन्ने बसेको छ भन्नुहुन्छ उहाँ । यी दुवै मानसिकतामा परिवर्तन गरी यहाँ पनि सफाई क्षेत्रमा विकास भएका पछिल्ला औजार, प्रविधि र सामग्रीको प्रयोग गर्न सकिएमा यही जनशक्तिले विदेशजस्तै नेपाललाई टल्काउन सक्छ भन्नहुन्छ उहाँ ।

अहिले जसरी आफूलाई सफाइकर्मीले आफ्ना अभिभावकका रुपमा लिएर प्रेरणा पाएका छन्, यसलाई थप केही वर्ष निरन्तरता दिन सुझाउनुहुन्छ उहाँ । पहिले आफ्नो मन र घर सफा भएपछि मात्र समाज र देश सफा हुने भएकाले सफाइ अभियान सबैभन्दा पहिला हरेक व्यक्तिले आफूबाट थाल्नुपर्ने उहाँको सुझाव छ ।