९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

दसैँमा ७० वर्षीय वृद्धको बालुवामै सङ्घर्ष

दसैँमा ७० वर्षीय वृद्धको बालुवामै सङ्घर्ष
अ अ+ अ-

लेखनाथ । उमेरले ७० वर्ष । सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक भत्ता खाने बेला हो । न नागरिकता छ । न परिवारका कुनै सदस्य नै छन् । जीवन बालुवामा सङ्घर्ष गर्दागर्दै नै बित्यो ।

आइतबार फूलपातीको दिन सबै नेपालीमा दसैँको चहलपहल सुरु भएको छ तर उहाँलाई न कुनै वर्ष दसैँ न त तिहार लागेको छ । बालुवा बोकेर बिहान–बेलुकाको गाँस जुटाउन कै लागि सङ्घर्ष गर्दै ठिक्क छ ।

टाउकोभरि नाम्लाको नील डाम । पाइतालामा चप्पल छैन, थोत्रा कपडा, कुप्री पर्दै, एक हातमा लौरो र अर्को हातले सिँढीको फलामे रेलिङको सहयता लिँदैै । न हातले नाम्लो समाउनु छ । आइतबार दसैँकै दिन पोखराको शान्तिघाटबाट ५० केजी बालुवा बोरामा बोक्दै डिलमा उतार्र्दै हुनुहुन्थ्यो लम्जुङ जिल्लाका ७० वर्षीय साइँला गुरुङ ।

सेतीनदीको शान्तिघाटबाट माथिल्लो डिलमा बालुवा उतार्न करिब एक किलोमिटर दूरी छ । त्यो पनि ठाडै उकालो सिँढी, अघि–अघि एक बालुवा बोक्ने युवाको सहायतामा बालुवा बोकेर उक्लदै गर्नुभएका गुरुङलाई देख्ने जो कोही व्यक्तिले जिब्रो काढ्दै हिँड्छ र भन्छ, ‘राज्य कहाँ छ रु’ आइतबार शान्तिघाटमा मृत्यु भएको व्यक्तिको दाहसंस्कारमा सहभागी हुन आएका मलामीहरुले भन्दै थिए जिउनकै लागि ७० वर्षे बुबाको यस्तो सङ्घर्ष ।

न उहाँको डेरा छ, न त कुनै घर, शान्तिघाट विकास समितिले मानिसको लास पोल्नका लागि राख्ने दाउराको छेउमा छ अझै पनि उहाँको बास । उहाँले भन्नुभयो, “बालुवा बोक्न थालेकै पाँच दशक भएको छ, कति समय घाटकै छेउको ढुङ्गामुनि बसेँ, पटक पटक सुतेका ठाँउमा राति झस्काउन भूत–प्रेत आउँथे तर मैले राति पनि अँगेनामा आगो राख्थेँ र आएका चिजलाई अगुल्टाले हिर्काउँथे र भाग्थ्यो ।” पइतालाले अहिलेसम्म चप्पल देखेकै छैन, लाउन पनि जान्नु हुन्न उहाँ ।

अहिले बिहानदेखि बेलुकासम्म साइँला गुरुङले छ थैला बालुवा डिलमा उतार्नुहुन्छ, बालुवा बोकाउन लगाउने साहुले एक थैलोको ५० रुपैयाँ दिने गरेको छ । उहाँले भन्नुभयो, “दिनमा तीन सय आम्दानी हुन्छ, त्यो बिहान बेलुकाको भात र खाजामा सकिन्छ, एक पैसा बच्दैन, दसैँको टीकाका दिन पनि काम गरिन भने म भोकै मर्छु । मलाई भैँसीको मासु मिठो लाग्छ, टीकाका दिन एक सय रुपैयाँमा एक पाउ जति भैँसीको मासु ल्याई शान्तिघाट स्थित बस्दै आएको छाप्रोमा पकाएर खान्छु ।”

कहिलेकाहीँ भोकै भएमा शान्ति घाटको एक होटलले भात खान दिने गरेको छ उहाँलाई । न झरी न बादल, पानीमा भिज्दै भए पनि बालुवा बोक्छु”, गुरुङले भन्नुभयो, “दिनभरि बालुवा बोग्दा राति घुँडा, पिँडौँला र ढाड करकरी लुच्छ । एक वर्षपछि बालुवा बोक्न पनि सक्दिनँ कि जस्तो लागेको छ, सरकारले नागरिकता बनाएर भत्ता दिए हुन्थ्यो ।”

जन्मेको लमजुङ जिल्ला भन्ने थाहा छ, कुन गाउँ हो भन्ने थाहा छैन उहाँलाई । “म सानै हुँदा बा बितेछ, सात वर्षको हुँदा आमा पनि बितेछ, गाउँको कोही मान्छेले मलाई यहाँ ल्याएर काठको मिलमा छाडेछ, त्यही मिलमा केही वर्ष काम गरेपछि म त्यहाँबाट हिँडे र बालुवा बोक्न थालेँ”, गुरुङले भन्नुभयो, अहिले पनि बालुवा बोक्दै छु ।

उहाँलाई बा आमाको त कुरै छाडौँ आफ्नो नामसमेत थाहा छैन । “एक वर्षअघि मलाई वृद्धाश्रम लानका लागि दुईवटा लोग्ने मानिस आएका थिए, उनीहरुलाई म बालुवा बोकेर खान्छु, वृद्धाश्रम जान्न भनेर पढाइदिएँ”, गुरुङले भन्नुभयो । न त उहाँले विवाह नै गर्नुभयो न त परिवार नै छन्, केवल एक्लो जीवन । “लामिछाने गुरुङ हुँ, नाम थाहा छैन, यहाँ आएपछि सबैले साइँला भन्दा रहेछन्, मेरो नामै साइँला गुरुङ”, उहाँले भन्नुभयो । दसैँका दिन घटस्थापनामा घाटमा अन्य महिला र पुरुषले समेत बालुवा बोक्दै थिए । रासस