९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नवदुर्गाको मुकुन्डो बनाउन सङ्कट

नवदुर्गाको मुकुन्डो बनाउन सङ्कट
अ अ+ अ-

भादगाउँ । “नवदुर्गाको मुकुन्डो मैले नबनाए जिम्मेवारी बोक्ने को? यो पेसालाई निरन्तरता दिने कसले ? बनाएर न जस छ, न त प्रोत्साहन नै छ । बाहिर काम गर्न गए दैनिक डेढ, दुई हजार ज्याला पाइन्छ । नवदुर्गाको मुकुण्डो बनाएर न परिवार धान्न सकेको छु, न त गुजारा नै”, उल्लिखित भनाइ भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्वको प्रसिद्ध नवदुर्गा नाचको देवगणको मुकुन्डो बनाउन तल्लीन एक मात्र कालिगढ ७६ वर्षीय पूर्ण चित्रकारको हो ।

सांस्कृतिक तथा धार्मिक परम्परा चलाउन प्रत्येक वर्ष निर्माण गरिने नवदुर्गाको मुकुन्डो आर्थिक अभावसँगै बनाउन नयाँ पुस्ता तयार नहुँदा यो पेसा सङ्कटमा परेको हो । नवदुर्गा नाचका लागि विभिन्न देवीदेवताका १३ मुकुन्डो बनाउने कार्यमा अहिले पूर्ण चित्रकार एक जनामात्र संलग्न हुनुहुन्छ । उहाँको परिवारका सदस्यसमेत यो पेसाबाट विमुख छन् । पूर्ण चित्रकारपछि यो पेसा कसले सम्हाल्ने हो अहिलेसम्म अन्योल छ ।

प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीका दिन बनाउन सुरु गरेर बडादसैँको महानवमीको राति प्रदर्शन गर्न तयार गरिसक्नु पर्दछ । महानवमीको मध्यरातमा ब्रम्हायणी शक्ति पीठमा तान्त्रिक विधिले पूजा गरी मुकुन्डोलाई सिद्ध गरेपछि नवदुर्गा नाच सुरु हुन्छ । यो नाचलाई भक्तपुर नगरका २१ ठाउँबाहेक मध्यपुर थिमी, चाँगुनारायण, बनेपा, धुलिखेल, पनौती, साँगा, श्रीखण्डपुर, खम्पू, ढुर्खकलगायतका स्थानमा आठ महिना प्रदर्शन गरिन्छ ।

महादेव, गणेश, ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रयणी, महाकाली, सिम्ह, दुम्ह, भैरव र श्वेतभैरव गरी १३ वटा नवदुर्गा देवगणको मुकुन्डो तीन महिनामा तयार गर्नुपर्दछ । मुकुन्डो बनाउन कालोमाटो, विभिन्न किसिमका ढुङ्गाबाट बनेको रङ, सुन, मैदा, मट्टीतेल, कपास, नेपाली कागज, जुटको बोरा, कोरा कपडा, मासलगायतका सामग्री आवश्यक पर्दछ । हेर्दा सजिलो लाग्ने तर अत्यन्त कठिन कार्य भएकाले कामदारसमेत पाउन मुस्किल रहेको चित्रकार बताउनुहुन्छ ।

मुकुन्डो बनाउन पहिला माटोलाई धुलो बनाएर चाल्ने, त्यसपछि मैदाको माड बनाई धुलो माटो हाल्दै मुछ्ने र डल्ला डल्ला बनाई राखिन्छ । सो डल्लो सुकेपछि कपास र नेपाली कागज राखी फुटाउनुपर्छ । अनिमात्र मकुन्डो बनाउने कार्य सुरु हुने चित्रकारले बताउनुभयो । “मुकुन्डो बनाइसकेपछि घाममा सुकाउनु हुँदैन हावाले मात्र सुकाउनुपर्छ । एउटा मुकुन्डो सुकाउन कम्तीमा दुई हप्ता लाग्छ”, चित्रकारले भन्नुभयो ।

मुकुन्डो मात्र बनाएर पुग्दैन घण्टाकर्णका दिन नवदुर्गाको मुकुन्डो बनाउनलाई माटोको विधिवत् रुपमा पूजा गर्नुपर्दछ । यसरी माटोलाई पूजा गर्न आउने बाजागाजासहितको टोलीलाई भोज खुवाउनुपर्ने बाध्यता छ । आम्दानीभन्दा बढी खर्च हुने भएकाले घरपरिवारले समेत मुकुन्डो नबनाउन धेरै दबाब दिने गरेको उहाँले बताउनुभयो ।

नवदुर्गा नाचलाई जीवन्तता दिई परम्परा लोप हुनबाट बचाउने हो भने सम्बन्धित निकायले मुकुन्डो बनाउनका लागि उचित आयस्ताको बन्दोबस्त गरी दिनुपर्ने चित्रकार बताउनुहुन्छ ।

मुकुन्डो बनाउन कामदारको ज्याला, आवश्यक सामग्री खरिद र आफ्नो ज्यालासमेत जोड्दा बर्सेनि तीन लाख खर्च हुन्छ । चित्रकाले भन्नुभयो, “मुकुन्डो बनाउन यो वर्ष जम्मा रु २९ हजार आएको छ यसले कसरी तयारी पूरा गर्ने, तयारी पूरा गर्न बाँकी सबै खल्तीबाट हाल्नुपर्छ ।”

चित्रकारले नवदुर्गाको मुकुन्डो बनाउने कार्य विसं २०२० सालदेखि गर्दै आउनुभएको हो । भक्तपुरको धरोहर तथा धर्म संस्कृतिको जगेर्नाका लागि मात्र मुकुन्डो बनाउन नछोडेको उहाँले बताउनुभयो । उमेरले समेत साथ छाड्दै आएकाले आफू पछि कसले मुकुन्डो बनाउँछ भन्ने चिन्ता चित्रकारलाई छ ।