२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती



अ+ अ-

काठमाडौँ । उज्यालो सहर बनाउने लक्ष्यअनुरुप नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ ।

प्राधिकरणले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोटेश्वर–सूर्यविनायक सडकखण्ड अन्तर्गत सडकको बीचभागमा रहेको मेडिएन स्ट्रिप/आइल्याण्डमा बत्ती जडान गरी सञ्चालनमा ल्याएको छ ।

आइल्याण्डमा राखिएका पोलमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको छ । कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने करिब चार सय ५० वटा बत्ती जडान गरिएको हो । यसले सडकको रात्रिकालीन सौन्दर्यता थपिएको छ । यसको सञ्चालका लागि काठमाडौँ महानगरपालिका, मध्यपुरथिमी र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गर्न स्मार्ट स्ट्रिट लाइट जडान गरिएको जानकारी दिनुभयो ।

“सडक बत्ती जडान भएपछि पैदल यात्रु र सवारी चालकलाई फाइदा पुगेको छ, उज्यालो भएपछि सडक सुरक्षित बनेको छ, साथै सडक सुन्दर बनेको छ,यसबाट सहरी सौन्दर्यता पनि बढेको छ”, उहाँले भन्नुभयो । प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ ।

कोटेश्वर–सूर्यविनायक सडकखण्डका लागि १३ वटा फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधँै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेयरबाट विद्युत्को महसुलको विलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकासँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ । कतिपय स्थानमा भने पालिकाको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको छ ।