१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा ट्राफिक सक्रियता: मदिरा पिउने चालक कारबाहीमा



file
अ+ अ-

बलेवा । दसैँका बेला मदिरा पिएर सवारी साधन चलाइरहनुभएको छ भने बेलैमा होस गर्नुहोला ठाउँ ठाउँमा प्रहरीले जाँच गरिरहेको हुनसक्छ । समय समयमा सवारी साधनमा हुने भीडभाड, सडकमा हुने भीडभाड र असावधानीका कारण हुने दुर्घटना कम गर्न जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको छ ।

अहिले जिल्लाका विभिन्न ठाउँमा नागरीक सहायता कक्ष स्थापना गरेर प्रहरी थप सक्रिय भएको हो । सदरमुकाम बागलुङ बजार, गलकोट, कुश्मीशेरा, बुर्तिबाङ, खर्वाङलगायत जिल्लाका ६ ठाउँमा ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

बाइस ट्राफिक प्रहरी र नेपाल प्रहरीले २४ घण्टा सहयता कक्षबाट नागरिकका गुनासा सुन्ने र सवारी साधनको निगरानी गर्ने भएका छन् । चाडपर्वका बेला सवारी साधनको दुर्घटना न्यूनीकरण योजना २०७९ अन्तर्गत उनीहरुलाई परिचालित गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार उनीहरुलाई जिल्लाका विभिन्न ठाउँमा स्थायीरुपले केही ठाउँमा मादकपदार्थ सेवन गरे÷नगरेको जाँच गर्न, केही युनिटलाई नियमित चेकिङ, मोबाइल गस्ती, सहायता कक्ष, विपद् उद्धार, राजमार्ग गस्तीलगायत जिम्मेवारी दिइएको छ ।

मादक पदार्थ सेवनको परीक्षण, नागरिकको गुनासो आए तत्काल समाधान, दुर्घटनमा तत्काल उद्धार, चोरी, झैझगडा र सवारी साधनले गर्ने यात्रु तानातान कम गर्न समेत प्रहरी सक्रिय हुने उहाँले बताउनुभयो । ‘‘अन्य समयभन्दा चाडपर्वको समयमा दुर्घटनाको सम्भावना धेरै हुन्छ’’ प्रहरी प्रमुख केसीले भन्नुभयो,‘‘यात्रु तानातान गरेर झै–झगडा गर्ने, गति सीमित नहुने हुँदा दुर्घटना बढ्ने भएकाले प्रहरीले सक्रियता बढाएको हो ।”