९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कैलाली बाढी ‘वस्तुभाउ पनि खान नपाएर मर्ने भए’

कैलाली बाढी ‘वस्तुभाउ पनि खान नपाएर  मर्ने भए’
अ अ+ अ-

टीकापुर । कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन् । जिल्लाको भजनीमा शनिबार आएको बाढीले सयौँ परिवार वस्तुभाउसहित सडकमा बसिरहेका छन् । सडकमा मानिससँगै सयौँ वस्तुभाउ पनि सडकमा बाँधिएका छन् ।

बाढीका कारण तीन जनाको ज्यान गएको छ । बाढीमा डुबेर भजनी नगरपालिका–८ गोडचौराका ५५ वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको मृत्यु भएको छ । यस्तै धनगढी उपमहानगरपालिका–१३ की १९ वर्षीया नवीना चौधरीको पनि डुबेर मृत्यु भएको हो ।

बाढीले सबैभन्दा बढी भजनीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । घर बाढीमा डुबेको छ, घरमा भएका अन्नपात, लुगाकपडा बाढीमा बगेका छन् भने धान लगाएको खेत पनि डुबान र कटानले क्षति भएको छ । बाढीले विस्थापित भएका नागरिकलाई आफ्नो पेट भर्न र वस्तुभाउलाई के खुवाउने भन्ने पिर परेको छ । सडकमा बसेका नागरिक चाउचाउ र चिउराका भरमा बसेका छन् भने वस्तुभाउलाई खुवाउने आहारा जोहो गर्न सकिएको छैन ।

भजनी–८ सोनाहाफाँटा खल्लाटोलीकी तुल्सीदेवी विक वस्तुभाउसहित हुलाकी सडकमा बस्नुभएको छ । विक आफू पनि चाउचाउ र चिउराको भरमा बसिरहनुभएको छ भने उहाँका वस्तुभाउ पनि भोकै छन् । उहाँलाई आफूले के खाने, वस्तुभाउलाई के खुवाउने तनाव भएको छ । “वस्तुभाउका लागि जोहो गरिराखेको गहुँको भुस्सा बाढीमा बग्यो, धानखेत अहिले पनि जलमग्न छ । अब घाँस पनि बाढीले नोक्सान भयो”, उहाँले भन्नुभयो, “अब आफू पनि भोकै, वस्तुभाउ पनि चार दिनदेखि सडकमा भोकै छन् ।”

वडा नं ८ कै शान्तिदेवी चौधरी पनि वस्तुभाउसहित सडकमा बसिरहनुभएको छ । उहाँले बालबालिका, वृद्धवृद्धा सबै भोकै रहेको जनाउँनुभयो ।
वडा नं ८ कै शारदादेवी चौधरीका छ बाख्रा र एक गाई छ । उहाँको परिवार वस्तुभाउसहित चार दिनदेखि सडकमा बसिरहेको छ । वस्तुभाउसँगै बस्दा दुर्गन्धित हुनुका साथै पशुका लागि आहाराको समस्या भएको छ । “अधिकांशका वस्तुभाउ पनि सडकमै छन्, सबैलाई वस्तुभाउको आहारा व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ”, उहाँ भन्नुहुन्छ, “हामी त सहयोगीहरूले दिएका चाउचाउ र चिउराले ज्यान धानिरहेका छौँ, तर वस्तुभाउलाई के खुवाउनु रु”

शनिबार विस्थापित हुनुभएकी तुल्सादेवी धमालाको परिवार पनि अझै घर फर्कन सकेको छैन । उहाँहरू पनि वस्तुभाउसहित सडकमा बस्नुभएको छ । विस्थापित नागरिकले गाइभैँसी सडकमा भोकै बाँध्नुपरेको छ । बाढीले धानबाली नष्ट गर्नुका साथै घासपातसमेत नष्ट भएको छ । यसले वस्तुभाउ पालकलाई बढी समस्या भएको छ ।

खुला आकाशमा सडकमै बसिरहनुभएकी इसरा सुनारको परिवारको पनि बिचल्ली छ । उहाँको घरखेत सबै बाढीमा मिसिएकाले उहाँको परिवार र उहाँले पालेका वस्तुभाउको आहारामा समस्या भएको छ । “पशुका लागि पराल, गहुँको भुस्सा गोठमा राखेकी थिएँ, सबै बाढीमा मिसियो, मेरो त गोठ पनि रहेन”, उहाँले भन्नुभयो, “सम्पत्तिका नाममा बचेका यी वस्तुभाउ हुन्, वस्तुभाउ पनि भोकले मर्ने भए ।”

भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसी बाढीले पशुवस्तुतर्फ क्षति भएका विवरण आइरहे पनि कति क्षति भयो भनी भन्न सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले पशु बगेका, मरेका कुरा आइरहे पनि प्रभावित क्षेत्रमा अझै जान नसकिएकाले अब तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो । “हामी पशुभन्दा मानिस कसरी जोगाउने भनी उद्धारमा खटेका छौँ, अझै मानिसकै उद्धार भइरहेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा मानिस उद्धार र राहतका काम भइरहेकाले पशुको आहाराबारे केही उपाय नै छैन । पालिकामा भएको आहाराको स्रोत सबै बाढीले नोक्सान गरेकाले पशुको आहारा व्यवस्थपान गर्न सक्ने अवस्था छैन ।”

पशु शाखा प्रमुख जैसी आजबाट पशुतर्फ भएको क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरिएको बताउनुभयो । “अझै गाउँ जलमग्न छन्, गाउँमा गएर विवरण लिनसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “धेरै मानिसका वस्तुभाउ बगेका, बङ्गुर मरेका, कुखुरा मरेका खबर आएका छन् । अब हामी तथ्याङ्क लिन्छौँ ।”

नगरपालिकाद्वारा सहयोगको अपिल

भजनी नगरपालिकाले बाढीबाट प्रभावितलाई सहयोग गर्न अपिल गरेको छ । नगरपालिकाले एक सूचना जारी गरी नगरपालिकाका सबै वडामा बाढीले क्षति पु¥याएका कारण त्यहाँका नागरिकलाई राहतका लागि सहयोग गर्न अपिल गरेको छ ।

नगरप्रमुख केवल चौधरीद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ “जसरी सबैको सहयोगमा बाढीबाट प्रभावितलाई उद्धार गरियो, त्यसरी नै उनीहरूलाई राहतका लागि पनि सहयोग गर्न आग्रह गरिन्छ । यस घडीमा सम्पूर्ण नागरिक, बुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यापारी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई नगरपालिकासँग समन्वय र सहकार्य गरी सहयोग गर्न अपिल गरिएको छ । ”भजनीका सबै वडा प्रभावित भएकाले नगरपालिका एक्लैले उनीहरूलाई राहत तथा उद्धारजस्ता कार्य गर्न नसक्ने भएकाले सहयोगीलाई साथ दिन आग्रह गरेको हो ।रासस