७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा प्रा डा सूर्य सुवेदीलाई ‘प्रसिद्ध प्रबल जनसेवा श्री’ प्रदान



अ+ अ-

काठमाडौँ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्ने घोषणा भएको छ । जसअनुसार प्रा डा सूर्यप्रसाद सुवेदीलाई ‘प्रसिद्ध प्रबल जनसेवा श्री’ प्रदान गरिएको छ ।

अहिलेसम्म गैरआवासीय नेपालीहरुले पाएका मानपदवीहरुमध्ये यस्तो उपल्लो तहको मानपदवी पाउने प्रा सुवेदी पहिलो व्यक्ति हुनुहुन्छ । भौतिकरूपमा विदेशमा रहे पनि निरन्तर मुलुकको सेवा गर्दै आएका प्रा सुवेदीले आफ्नो योगदानको मूल्याङ्कन भएकामा नेपाल राष्ट्रप्रति आभार व्यक्त गर्नुभयो ।

सरकारमा जो आए पनि परिआउँदा राष्ट्रहितका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनका महत्वपूर्ण विषयमा सबैका साझा व्यक्तिका रूपमा नेपालका सबै प्रकारका सरकारलाई प्रा सुवेदीले सल्लाह दिँदै आउनुभएको छ ।

नेपालको नयाँ नक्सा समावेश गरेर संविधान संशोधन गर्दा र त्यसपछिको नीति निर्माण गर्न सन् २०२० मा प्रधानमन्त्री केपी ओलीको समयमा नेपाल सरकारले गठन गरेको नेपाल–भारत सीमासम्बन्धी विज्ञ समूहको सदस्यका रूपमा भूमिका निर्वाह गर्नुभएको छ । साथै नेपालको नीति प्रतिष्ठानको परराष्ट्र विषयको विशिष्ट सल्लाहकार भएर समेत प्रा सुवेदीले आफ्नो भूमिका निर्वाह गर्नुभएको छ भने सन् २०२२ मा अमेरिकासँगको एमसीसी सम्झौता संसद्ले अनुमोदन गर्ने कार्यमा उहाँको भूमिका प्रशंसनीय रहेको सरकारको भनाइ छ ।

अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि पाउने प्रा सुवेदी संसारकै प्रतिष्ठित विद्वत व्यक्तित्वभित्र पर्नुहुन्छ । प्रा सुवेदीले नेपाल सरकारको प्रतिनिधिमण्डलको सदस्य भएर संयुक्त राष्ट्रसङ्घ र असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिइसक्नुभएको छ भने अन्य धेरै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नुभएको छ ।

बेलायत र अमेरिकालगायतका पाँचवटा देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा सुवेदीका कृतिहरु विभिन्न देशका भाषामा अनुदित भई प्रकाशन भएका छन् । उहाँको ‘पूर्वीय सभ्यतामा मानव अधिकार’ भन्ने ग्रन्थ अन्तर्राष्ट्रियरूपमै चर्चित ग्रन्थ हो । उहाँले मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी स्वर्गीय महारानी एलिजाबेथ द्वितीयाबाट उहाँले मानार्थ ओबिई र मानार्थ क्विन्स काउन्सेलजस्ता विशिष्ट कानूनविद्हरुलाई दिइने उच्च उपाधि प्राप्त गरिसक्नुभएको छ ।

प्रा सुवेदीको उत्कृष्ट प्राज्ञिक योगदानको कदर गर्दै अक्सफोर्ड विश्वविद्यालयले उहाँको नाममा वार्षिक स्थायी पुरस्कार स्थापनासमेत गरेको छ । क्याम्बोडियामा महत्वपूर्ण राजनीतिक सुधारमा गरेको योगदानका लागि उहाँको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनयनसमेत भएको थियो ।