२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराका कारण ग्रामीण सडक बन्द हुँदा रसुवाको आलु अलपत्र



अ+ अ-

रसुवा । पहिराले ग्रामीण सडकमा क्षति पुर्याएपछि उत्तरी रसुवाको ब्रावल तथा ठूलो स्याफ्रु क्षेत्रमा उत्पादित आलु स्थानीयस्तरमै अलपत्र परेको छ ।

निरन्तरको वर्षाले सानुभार्खु एवं ब्रावल खोल्छालगायत स्थानमा सडक अवरुद्ध भई सवारीसाधनको आवतजावत बन्द भएपछि व्यापारिक केन्द्रमा आलु ढुवानी गर्न समस्या उत्पन्न भएको हो । स्याफ्रु ब्रावलका आलु उत्पादक किसान सिङ्गबहादुर तामाङका अनुसार सडक अवरुद्ध हुँदा बिक्रीका लागि तयार गरिएको २० ट्रकभन्दा बढी आलु स्थानीयस्तरमै अलपत्र परेको हो । बजार मूल्यअनुसार ४० लाखभन्दा बढीको आलु ढुवानी हुन नसक्दा दर्जनौँ किसानलाई समस्या परेको हो ।

वडादसैँ नजिकँदै गएको र आलु बिक्रीबाट प्राप्त आयले चामल खरिद गर्नुपर्ने बाध्यता रही आएका कारण ग्रामीण सडक सुचारू गरी दिन सरोकारवाला निकायसँग आग्रह गरिएको कृषक तामाङले बताउनुभयो । उत्तरी रसुवाको ब्रावल तथा ठूलोस्याफ्रुमा धान उत्पादन हुदैन । यहाँ कोदो, मकै, फापर जस्ता कृषिजन्य खाद्यान्न र तरकारीतर्फ, रायो साग, मुला, बन्दा, सिमी, काउली एवं फलफूलतर्फ स्याउ उत्पादन हुने गरेको छ ।

लाङ्टाङ जाने पर्यटकीय पदमार्ग रहेका कारण आगन्तुक पाहुनालाई स्थानीयस्तरमा उत्पादित कृषि उपजबाट भोजन तयार गर्ने गरिएको छ । गतलाङ क्षेत्रमा उत्पादित आलु भने व्यापारिक केन्द्रमा ढुवानी भइरहेको छ । गतलाङका किसान मार लामाका अनुसार आलु ढुवानीका लागि पासाङल्हामु मार्गअन्तर्गत रसुवाको बनुवा खण्डको भागमा पहिराले सडक अवरुद्ध गराए पनि धारापानी बेल्चौर खण्डको ग्रामीण सडक चालु रहेका कारण मिनी ट्रकबाट आलु ढुवानी भइरहेको छ ।