५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बसपार्कबाट १५ हजारले लिए अग्रिम टिकट



अ+ अ-

काठमाडौँ । दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् ।

यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २२ गतेको निर्णयअनुसार यही असोज १ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएको जानकारी दिनुभयो । जसमध्ये असोज १ गते शनिबार सात हजार र असोज २ गते आइतबार आठ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।

सरकारले पश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्युठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर धरान विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो । पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारी साधनको पनि अग्रिम टिकट बुकिङ चाँडो खुला गरिने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका काठमाडौँ प्रमुख रमेश खत्रीले जानकारी दिनुभयो । लामो दूरीमा जाने यात्रुका लागि टिकट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म वितरण गर्ने गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताउनुभयो । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । महाशाखाले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिनेछ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताउनुभयो ।