भक्तपुर। मुलुकमा सुशासन र भ्रष्टाचारविरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते भएकोे जेनजी आन्दोलन भोलि एक वर्ष पुरा हुँदैछ ।
देशको आवश्यकता र आम जनताको मागलाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्ने क्रममा आफ्ना सन्ततिको बलिदानीको असह्य पीडा जेनजी सहिद परिवारले भोगिरहनुभएको छ ।
त्यस आन्दोलनका क्रममा देशका होनहार युवासहित ७६ जनाको निधन भएको थियो । त्यसमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरी राज्यका तर्फबाट उहाँहरुका परिवारलाई आर्थिक सहयोग र रोजगारी उपलब्ध गराइएको छ ।
त्यस आन्दोलनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपमा सिन्धुली स्थायी घर भई चाँगुुनारायण नगरपालिका–१ बस्दै आएका योगेन्द्र न्यौपाने (रोशन)सहितका युवाको गोली लागेर ज्यान गयो भने कयौँ घाइते भए ।
एक वर्षपछि भएको भेटमा योगेन्द्रकी सानीआमा तारा रोक्काले त्यो आन्दोलनको स्मरण गर्दै रासससँग भन्नुभयो, “अघिल्लो वर्ष भदौ २३ छोरालाई आन्दोलनमा गोली लागेको खबर सुनेपछि दौडेर अस्पताल पुग्दा ऊ बितिसकेको रहेछ ।”
स्थानीय प्राथमिक विद्यालयका शिक्षक युवराज न्यौपाने र आमा लक्ष्मी न्यौपानेका जेठा छोरा योगेन्द्र अधिकृतको परीक्षाका लागि लोकसेवाको तयारीमा हुनुहुन्थ्यो ।
सुशासन र भ्रष्ट्राचार विरुद्धको नव युवापुस्ताको आन्दोलमा सहभागी हुन बानेश्वर पुग्नुभएका उहाँलाई टाउकामा गोली लागेपछि घटनास्थलमा नै निधन भएको थियो ।
छोराको सम्झनामा योगेन्द्रका बुबाले गोलन्जर–१ च्याकुटारबँेसीस्थित सुनकोशीको उकास जग्गामा ‘स्मृति पार्क’ निर्माण गर्नुभएको छ । उक्त पार्कको भोलि उद्घाटन गरिने कार्यक्रम रहेको छ ।
सानीआमा रोक्काले सरकारले सहिद परिवारलाई गर्नुभएको वाचा नभुुल्नुुहुन पनि अनुुरोध गर्नुभएको छ ।
त्यस्तै, भदौ २४ गतेको आन्दोलनमा सहिद हुनुभएका वैतडीका निरज पन्तकी धर्मपत्नी कमला एक वर्षदेखि पतिवियोगको पीडामा हुनुहुन्छ भने छोराछोरी पिता गुमाउन परेको असह्य वेदनामा हुनुहुन्छ ।
कमलाले भन्नुभयो, “परिवारको अभिभावक गुमाएपछि एक वर्षको यस अवधिमा भगवान्को प्राथना गर्ने, धैर्यधारणा गर्ने तथा पारिवारिक कर्तव्य पूरा गर्ने काममा लागिरहेको छु । वर्तमान सरकारले पीडाका बीचमा उपलब्ध गराएको सहुलियत र सुविधाप्रति धन्यवाद भन्न चाहन्छु ।”
सरकारले निरजको निधनपछि परिवारलाई रु १५ लाख आर्थिक सहयोग र केही महिलाअघि देखि मासिक २८ हजार भत्ता उपलब्ध गराएको छ ।
त्यस्तै, भदौ २४ गते सहिद भएका २२ वर्षीय अविशेक चौलागाईंका बुबा दिनेश चौलागाईंले सहिद परिवारसँग भएको सम्झौता पूर्ण कार्यान्वयनको माग गर्नुभएको छ ।
सम्झौतामा सहिद परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराउने लगायतका विषय उल्लेख थिए । उहाँले छोरालाई गोली लागेको खबर सुनेपछि हतारहतार निजामती अस्पतात पुगेर खोज्दा ‘बेडमा शव’ मात्र फेला परेको घटना सुनाउनुभयो । त्यही दिन उहाँले नेपाल प्रहरीको जागिर छोड्नुभएको रहेछ ।
दोलखाको सैलुङ गाउँपालिका–४ स्थायीवासी दिनेश चौलागाई र रीता चौलागाईंका एक्ला छोरा अविशेक आफ्ना परिवारसँग भक्तपुरकै चाँगुनारायण नगरपालिका–१ मा बस्दै आउनुभएको थियो ।
यसबीचमा सहिद परिवारको हितका लागि सहुलित, रोजगारी र भत्ता उपलब्ध गराउन सरकारले गरेको निर्णयलाई भने उहाँहरुले सकारात्मक कदमका रुपमा लिएको प्रतिक्रिया दिनुभएको छ ।
जेनजी आन्दोलनका क्रममा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, सर्वाेच्च अदालत, नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सरकारी संरचनासहित महत्वपूर्ण सम्पदा तथा व्यापारिक भवन समेत जलेर क्षति भएको थियो ।
नेपालका राजनीतिक इतिहासमा जेनजी आन्दोलन एउटा महत्वपूर्ण घटनाका रुपमा स्थापित भएको छ ।
सोही आन्दोलनका जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित सरकारले छोटो समयसीमा भित्र गत फागुन २१ मा आम निर्वाचन गराई वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहलाई नयाँ सरकार गठनका लागि नेतृत्व हस्तान्तरण गर्नुभएको थियो ।
उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा करिब दुई तिहाइ सिट जित्न सफल भएपछि पार्टीका वरिष्ठ नेता शाहलाई प्रधानमन्त्रीमा चयन गरेको हो ।
नेपालमा सुशासन र भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा ज्यान गुमाएका भक्तपुरका योगेन्द्र र अविषेक तथा वैतडीका निरजजस्ता जेनजी आन्दोलनका सहिदको सपना पूरा होस् भन्ने सहिद परिवारको चाहना रहेको छ । रासस









