२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एचआइभी सङ्क्रमितलाई रामपुर अस्पतालबाटै औषधि



अ+ अ-

पाल्पा । एचआइभी सङ्क्रमितहरुलाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि सहज भएको छ । सङ्क्रमितलाई नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो ।

हाल यस अस्पतालबाट नियमित औषधि उपलब्ध, परामर्श र परीक्षण पनि गर्न थालिएको छ । यसभन्दा अघि सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट मात्रै नियमित औषधि उपलब्ध हुँदै आएको थियो । बिरामीलाई सहज सेवा दिने उद्देश्यले २०७८ फागुनदेखि उक्त अस्पतालले सङ्क्रमितलाई औषधि वितरण पनि सुरु गरेको हो । अहिले अस्पताललाई कार्यक्षेत्र बनाएर करिब एक सय २० सङ्क्रमित सम्पर्कमा आएको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल बताउनुहुन्छ ।

रामपुरकी ३२ वर्षीया एक युवती रामपुर अस्पतालबाटै एचआइभी एड्सको नियमित औषधि तथा परामर्श सुविधा पाएपछि सदरमुकाम तानसेन धाउनुपर्ने समस्या टरेको बताउनुहुन्छ । दुई वर्षअघिदेखि उहाँले युनाइटेड मिसन अस्पतालबाट नियमित रुपमा औषधि सेवन तथा परामर्श सेवा लिँदै आउनुभएको थियो । ती युवतीसहित परिवारका चार सदस्य एचआइभी सङ्क्रमित छन् । नियमित खाने औषधि र परामर्श सेवाका लागि तानसेन आवतजावत गर्न खर्चिलो तथा झमेला हुन्थ्यो । अहिले भने गाउँमै रहेको यस अस्पतालबाट सेवा दिन थालेपछि सहज भएको उनीहरु बताउँछन् ।

एचआइभी सङ्क्रमण भयो भन्दैमा आत्तिनुपर्ने अवस्था नरहेको र नियमित औषधि सेवन, स्वास्थ्यकर्मीसँग परामर्श सेवा लिँदै आत्मबल बलियो बनाइयो भने अरू व्यक्ति सरह नै बाँच्न सकिने सङ्क्रमितहरु आफ्नो अनुभव बताउँछन् । यस क्षेत्रमा एचआइभी सङ्क्रमितका लागि नियमित खाने औषधिको सेवा नहुँदा युनाइटेड मिसन अस्पताल, पोखरालगायत क्षेत्रमा पुगेर बिरामीले सेवा लिँदै आएको अवस्थामा उनीहरुलाई स्थानीयस्तरमा नै रहेको अस्पतालबाट सेवा दिने मनसायले पहल थालिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल बताउनुहुन्छ ।

पछिल्लो समय नियमित औषधि सेवन, स्वास्थ्यकर्मीको सम्पर्कमा रही परामर्श सेवा लिने बिस्तारै बढ्दैछन् । नियमित औषधि सेवन गरी निर्धक्कसाथ आत्मबल बलियो बनाएर अन्य व्यक्ति सरह नै जीवन जिउन सकिने हुँदा केही व्यक्ति समाजमा खुलेरै हिँड्ने पनि गरेको पाइन्छ । समाज र आफन्तको डर, लाजका कारण अन्य सङ्क्रमित अझै पनिखुल्न सकिरहेका छैनन् । गाउँमा औषधि सेवा वितरण भइरहे पनि अझै पनि यहाँका केही बिरामी भने डर र लाजका कारण अन्यत्र नै सेवा लिन जाने गरेको पाइएको छ ।