८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल

बागलुङमा मासिँदै स्थानीय प्रविधिका झोलुङ्गे पुल

बागलुङमा मासिँदै स्थानीय प्रविधिका झोलुङ्गे पुल
अ+ अ-

बागलुङ । गाईघाट झरना छेउको झोलुङ्गे पुल भत्काइएको खबर सुन्दा ६० वर्षीय दिलबहादुर घर्तीलाई ननिको लागेको छ । ताराखोला गाउँपालिका–१ स्थित दरमखोलामा रहेको उक्त झोलुङ्गे पुलको अहिले नामोनिसान छैन ।

‘ट्रस्ट’ पुल बनाउन पुरानो झोलुङ्गे पुल हटाइएको हो । “६ कक्षा पढ्न हरिचौर जाँदा गाईघाटको पुल तरेर जानुपथ्र्यो”, घर्तीले भन्नुभयो, “नौ, दस कक्षा पढ्ने बेलासम्मै त्यहीँ बाटो भएर हिँड्यौँ, हामी सानो छँदादेखि नै त्यहाँ झोलुङ्गे पुल थियो ।”

परम्परागत सीप र साधनबाट बनाइएको पुल संरक्षण गर्नुपर्नेमा उल्टै भत्काइएपछि घर्तीको मन कुँडिएको हो । बूढापाकाका अनुसार झण्डै १०० वर्षअघि व्यापारका सिलसिलामा ताराखोला पुग्नुभएकी ‘सेती थकाल्नी’ले उक्त पुल बनाउनुभएको थियो ।

“थकाली व्यापार गर्न जहाँ पुग्थिन त्यहीँ धर्मकर्मका नाममा पुल, चौतारी, पाटी, पौवा बनाउने गर्थिन, गाईघाटको पुल पनि सेती थकाल्नीले बनाएको भन्ने गाउँका पाकापुरानाबाट सुनिन्छ”, घर्तीले भन्नुभयो । तत्कालीन अर्गल गाविसका अध्यक्षसमेत रहनुभएका घर्तीले उक्त झोलुङ्गे पुलको लठ्ठा मात्र भए पनि जोगाउन सके इतिहास सुरक्षित हुने धारणा राख्नुभयो ।

“गाउँपालिकाको सङ्ग्रहालय बन्दैछ, त्यो लठ्ठालाई ल्याएर त्यहीँ राख्न सकिन्छ”, उहाँले भन्नुभयो, “हाम्रा पितापुर्खाको सीप र कौशल नयाँ पुस्ताले हेर्ने, बुझ्ने मौका पाउँथे ।”

दुर्भाग्य इतिहाससँग जोडिएको उक्त झोलुङ्ले पुलको लठ्ठा अहिले दरमखोलामा अलपत्र छाडिएको छ । बर्खामासको खोलाले बगाएर अन्तै पु¥याए पनि कसैलाई चासो छैन । ‘ट्रस्ट’ पुल निर्माणको जिम्मा पाएको बनौ निर्माण सेवाका प्रतिनिधि टोपबहादुर रोकाले लठ्ठालाई टुक्राएर निकाल्न सकिने बताउनुभयो । “यतिकै झिक्न त गाह्रो छ, मेसिनले टुक्रा बनाएर निकाल्न सकिन्छ”, उहाँले भन्नुभयो ।

निर्माण कम्पनीले पहिलेकै ठाउँमा ‘ट्रस्ट’ पुल बन्ने भएपछि पुरानो संरचना भत्काइएको जनाएको छ । गाउँपालिकाको रु २० लाख लागतमा गाईघाटमा नयाँ पुल बन्न लागेको हो । यसरी कुनैताका विकट गाउँ–बस्ती जोड्न स्थानीय सीप र साधन प्रयोग गरेर बनाइएका झोलुङ्गे पुल आधुनिक प्रविधि भित्रिएसँगै मासिन थालेका छन् । झोलुङ्गे पुल बनाउने त्यो बेलाको रैथाने सीप र कौशल पनि अब इतिहास बनिसक्यो ।

ताराखोला गाउँपालिका–२ अर्गलका ६८ वर्षीय गोविन्द घर्तीले पुल बनाउने फलाम लिन २०२८ साल तिर बुबाको साथ लागेर बुटवलसम्म पुगेको स्मरण गर्नुभयो । उहाँका अनुसार बुटवल पुग्न १४÷१५ दिनसम्म लाग्थ्यो । पुल बनाउने योजना बनेपछि गाउँभरिका मानिस लाम लागेर फलाम लिन बुटवल झर्थे ।

त्यसरी ल्याएको फलाम आरनमा गालेर लठ्ठा बनाउन तीन महिनासम्म लाग्थ्यो । पूरै झोलुङ्गे पुल तयार हुँदा आठ महिना बित्थ्यो । फलाम गालेर, पिटेर बनाइएका साङ्ला एकापसमा गाँसेर लामो लठ्ठा बनाउने गरिन्थ्यो । स्थानीय विश्वकर्मा समुदायका कालीगढले फलामको लठ्ठा बनाउने जिम्मा लिन्थे । लठ्ठा बनेपछि मात्र पुलको अरु काम सुरु हुन्थ्यो ।

त्यसताका अहिले जस्तो सिमेन्ट, बालुवा नराखी ढुङ्गाले मात्र पुलको ‘जिप’ बनाउने गरिएको गोविन्दले सुनाउनुभयो । उहाँका अनुसार ठूल्ठूला ढुङ्गा र खाल्डा प्रयोग गरेर पुलको लठ्ठा तन्काउने गरिन्थ्यो ।

“जिपको पछाडिपट्टि ठूलो खाल्डा खनी त्यसमा गारो चिन्ने अनि त्यहीँमाथि ढुङ्गा चढाइ लठ्ठा खिच्ने गरिन्थ्यो । लठ्ठा ढुङ्गामा बाँधेपछि तल चिनिएको गारो विस्तारै झिक्दा ठूलो ढुङ्गा तल खस्दै जान्थ्यो अनि लठ्ठा तानिन्थ्यो,” उहाँले भन्नुभयो ।

उक्त काम होसियारीपूर्वक नगरे पुलको ‘जिप’ नै भत्किने खतरा हुन्थ्यो । लठ्ठा खिच्ने ढुङ्गा ल्याउन, खाल्डो खन्न, लठ्ठा खिच्न मान्छेको बल र बुद्धिको खाँचो पथ्र्यो । ठूलो ढुङ्गा टाढाबाट डोरी लगाएर ल्याउन ४०÷५० मजदुर खटिन्थे ।

यसरी ढुङ्गा अल्झाएर तानेको लठ्ठाले नै पुलको भार थाम्ने गथ्र्यो । ढुङ्गा र पहरा भएका ठाउँमा छिनाले दुई हातसम्म प्वाल पारेर लठ्ठा अड्काउने गरिन्थ्यो । लठ्ठा तानेपछि पुलको तलपट्टि काठ बिछ्याउने र दायाँबायाँ फलामकै पाताले बार लगाउने गरिन्थ्यो ।

झोलुङ्गे पुल निर्माणमा आधुनिक प्रविधि भित्रिएसँगै रैथाने सीप र प्रविधि लोप मात्र भएको छैन आरान चलाउने, भारी बोक्ने, कालीगढी गर्ने व्यक्तिको कमाइको श्रोत पनि गुमेको छ । झोलुङ्गे पुल निर्माणमा व्यवस्थापकीय र सामाजिक परिचालनका काममा सघाउँदै आएको भिमापोखरा युवा क्लब (बिवाइसी)का कार्यक्रम संयोजक प्रेम केसीले परम्परागत प्रविधिबाट बनेका झोलुङ्गे पुल जीर्ण बनेपछि त्यहीँ ठाउँमा नयाँ पुल निर्माण भइरहेको बताउनुभयो ।

“पुरानो प्रविधिबाट बनेका अधिकांश पुल जीर्ण छन्, कुनै प्रयोगविहीन त कुनै कामै नलाग्ने अवस्थामा छन्”, उहाँले भन्नुभयो, “सर्वेक्षणका क्रममा केही पुल संरक्षण गर्नुपर्ने भनेर तोकिएको पनि छ ।” स्थानीयले जोगाउन चाहेको र अरु हिसाबले पनि महत्व बोकेका पुललाई संरक्षण गर्नुपर्ने संयोजक केसीको सुझाव छ ।

पुल निर्माणमा नयाँ प्रविधिले ठाउँ लिए पनि रैथाने सीपमा आधारित परम्परागत शैलीका झोलुङ्गे पुलको संरक्षणमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । दुई वर्षअघि गलकोट नगरपालिकाको पुरानो ‘राजाको पुल’लाई परम्परागत प्रविधि र मौलिकता झल्काउने गरी पुनःनिर्माण गरिएको थियो ।

झोलुङ्गे पुल बनाउने बागलुङको रैथाने प्रविधि पनि संरक्षण होस् भनेर उक्त पुलको माथिपट्टि पुरानै पुलको लठ्ठा प्रयोग गरिएको छ । चौबिसे राज्यअन्तर्गत तत्कालीन गलकोटे राजा भरतबम मल्लका पालामा उक्त पुल बनेको थियो ।

झोलुङ्गे पुल बनाउने बागलुङको परम्परागत प्रविधिलाई ‘इन्जिनियरिङ’ गरी नयाँ प्रविधि भित्र्याइएको तत्कालीन जिल्ला प्राविधिक कार्यालय बागलुङमा झोलुङ्गे पुल हेर्ने इन्जिनियर बलविक्रम दाहालले बताउनुभयो । उहाँका अनुसार आधुनिक प्रविधिबाट अहिले बन्ने पुल तीन महिनामै तयार हुन्छन् । लठ्ठा, जालीलगायतका निर्माण सामग्री सबै तयारी अवस्थामै किन्न पाइन्छन् । गुणस्तर, लागत खर्च, समय इत्यादि कारणले आधुनिक प्रविधि नै उत्तम रहेको इन्जिनियर दाहालको भनाइ छ ।

आधुनिक प्रविधिको झोलुङ्गे पुल निर्माणमा परम्परागत प्रविधिकै विकसित रुप (जसलाई बागलुङ प्रविधि पनि भनिन्छ) नै प्रयोगमा आएको पाइन्छ । ‘झोलुङ्गे पुलको जिल्ला’ भनेर चिनिने बागलुङमा ४१० भन्दा बढी झोलुङ्गे पुल छन् । रासस