४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सिंहदरबार वैद्यखाना: चार महिनापछि औषधि उत्पादन सुरु,कर्मचारीले पनि पाए तलब

सिंहदरबार वैद्यखाना: चार महिनापछि औषधि उत्पादन सुरु,कर्मचारीले पनि पाए तलब
अ+ अ-

काठमाडौँ । चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ ।

धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको सो विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको थियो । काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आई हाजिर गरेर फर्कने गरेकामा गत शुक्रबारदेखि फेरि उत्पादन सुरु भएपछि काम पाएका हुन् ।

यो पनि पढ्नुहोस्अरूको उपचार गर्ने सिंहदरबार वैद्यखाना आफैँ विरामी

आयुर्वेदिक औषधि उत्पादन गर्ने यो समिति आफैँ उपचार गर्नुपर्ने अवस्थामा पुगेकामा कार्यालय प्रमुखका रुपमा निमित्त कार्यकारी निर्देशक परिवर्तन भएपछि उत्पादन सुरु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत सोमबार कार्यालय प्रमुखका रुपमा निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादवलाई पठाएपछि उहाँको अग्रसरतामा शुक्रबारदेखि उत्पादन सुरु भएको हो ।

औषधि उत्पादन गर्ने समितिमा कामै नभएका बेला पूर्वनिमित्त कार्यकारी निर्देशक डा सबरी साहले भने ज्यालादारी कर्मचारी राखेको भन्दै स्थायी कर्मचारीले विरोध गर्दै आएका थिए । डा साहले भने उत्पादन सुरु भएपछि धेरै कर्मचारी आवश्यक पर्ने जनाउँदै काम नभएको बेलामा पनि तलब खुवाएर राखेको दाबी गर्नुभएको थियो ।

उत्पादन नभएपछि समितिको बिक्री कक्षमा अहिले च्यवनप्रासबाहेकका उत्पादन पाइँदैन । शुक्रबारदेखि उत्पादन सुरु भएको त्रिफला केही दिनदेखि समितिको बिक्री कक्ष एवं बजारमा समेत पठाइने जनाइएको छ । षडबिन्दु तेललगायत अन्य उत्पादन पनि केही दिनमै सुरु हुने भएको छ ।

आइतबार चार महिनाको तलब पाए कर्मचारीले

उत्पादन र बिक्री नभएपछि चार महिनादेखि समितिका कर्मचारीले तलब पनि पाएका थिएनन् । निमित्त कार्यकारी निर्देशक यादवले हाजिर भएको एक हप्तामा कर्मचारीलाई चार महिनाको तलब बैंक खातामा पठाउनुभएको छ । तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका थिए । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा धर्ना दिँदै आएका थिए ।

समितिमा उत्पादन घटेर कर्मचारीलाई तलब एवं अवकाश पाउनेले नियमानुसार पाउने उपदानका लागि पनि पैसा नहुने भएपछि कर्मचारीले २०७८ साउन २४ गतेदेखि अवकाश कोष खडा गर्न माग गर्दै दैनिक एक घण्टा धर्ना दिने गरेका छन् । अवकाश कोष खडा गर्न माग राखेर धर्नामा बसेको एक वर्ष हुन लाग्दासमेत माग पूरा भएको छैन ।

छ महिनादेखि छैन शिलाजित

समितिको बिक्री कक्षमा काम गर्नुहुने आदित्य ठाकुर छ महिनादेखि शिलाजित सकिएको बताउनुहुन्छ । बिक्री कक्षमा दैनिक २५ जना मानिस शिलाजित लिन आउँछन् । ग्याष्ट्रिकमा काम गर्ने अविपत्तिकर चूर्ण सकिएको चार महिना पूरा भयो । औषधि खोज्न आउनेलाई समितिले रित्तै फर्काउने गरेको छ । यस्ता धेरै औषधि सकिएको महिनौँ बिते पनि उत्पादनको वातावरण बनाउन समिति व्यवस्थापनले ध्यान दिएको छैन ।

“औषधि भएका बेला बिल काट्न र बिरामी जाँच्न फुर्सद हुँदैन थियो, अहिले काम नभएर हल्लिएर समय बिताउनुपरेको छ, उत्पादन र बिक्री नहुँदा तलब पनि समय पाइएन”, उहाँले भन्नुभयो । समितिमा २०६६ देखि २०७० को बीचमा डा सन्तोष ठाकुर कार्यकारी निर्देशक हुँदा शिलाजितको टेण्डर भएको थियो । त्यसपछि टेण्डर हुन नसक्दा अहिले अभाव भएको हो । त्यसबेला रु एक करोड शिलाजित ल्याइएको थियो । हालै तीन हजार किलोग्राम शिलाजित ल्याउन टेण्डर गरिएको छ ।

माग बढ्दो छ च्यवनप्रासको

गत वर्ष कोरोना महामारी फैलिएपछि च्यवनप्रासको माग बढेको थियो । माग पूरा गर्न समितिले २०७८ कात्तिक ३० गतेदेखि च्यवनप्रास बनायो । अहिले त्यही एउटा च्यवनप्रास बेचेर समिति बसेको छ । अरु उत्पादन भण्डारगृहमा रित्तिन थालेपछि बनाउने प्रक्रिया सुरु नगर्दा समितिमा अहिले औषधि किन्न जाने सर्वसाधारण र थोक बिक्रेता रित्तै फर्कन बाध्य हुने गरेका छन् । विगतमा दैनिक रु एक लाखको औषधि बिक्री गर्ने समितिमा अहिले रु दुई हजारको बिक्री हुन पनि मुस्किल पर्ने गरेको छ ।

गठन आदेश परिवर्तन गर्दा समस्या

विसं २०५१ को गठन आदेशअनुसार काम गर्दा समितिमा समस्या देखिएको थिएन । विसं २०७५ मा विकास समिति ऐनअन्तर्गत गठन भएका सबै समिति विघटनको निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । त्यसबेला सिंहदरबार वैद्यखाना विकास समिति विघटन हुन पुग्यो । लामो वाद विवादपछि २०७७ सालमा आएको गठन आदेशमा पहिले जति व्यवस्था पनि नहुँदा समस्या आएको हो ।

गठन आदेशमा ११ औँ तहको कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ तर समितिको अध्यक्ष नै स्वास्थ्य मन्त्रालयका १० औँ तहका कर्मचारी नियुक्त गरिँदा ११ औँ तहका कार्यकारी निर्देशक आउन मानेका छैनन् । समितिमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका उपसचिव पदेन सदस्य रहने व्यवस्था हटाइएको छ । जसका कारण सरोकार भएका निकायका प्रतिनिधिको अनुपस्थितिमा काम गर्न अप्ठ्यारो हुने गरेको छ ।

समिति सदस्यमा निजीस्तरका आयुर्वेदिक औषधि उत्पादनकर्ता र क्लिनिक सञ्चालकलाई राख्न थालेपछि पनि समस्या आउन थालेको हो । स्वार्थ बाझिने व्यक्तिलाई समिति सदस्य बनाउँदा कार्यालयको काम प्रभावित हुने गरेको कर्मचारीको गुनासो छ ।

रु एक करोडको कोष गायब

समितिको नाममा बैंक अफ काठमाडौँ लुम्बिनीमा राखिएको रु एक करोड गायब भएको कर्मचारीबीच हल्लीखल्ली मच्चिएको छ । बैंकको मुद्दती खातामा राखिएको रकम कहाँ गयो भन्नेबारेमा जानकारी माग गरे पनि व्यवस्थापनले जवाफ दिएका छैनन् ।

अवकाश कोषमा राख्ने भनिएको रु एक करोड एनआइसी एसिया बैंकमा स्थानान्तरण गरी गायब बनाइएको कर्मचारीको गुनासो छ । समितिका पूर्व निमित्त कार्यकारी निर्देशक डा साह आफू आउनुभन्दा अघिको घटना भएकाले आफूलाई रु एक करोडका विषयमा थाहा नभएको बताउनुहुन्छ ।

समितिका लेखा अधिकृत रामप्रवेशप्रसाद जयसवाल भने रु एक करोड स्थानान्तरण गरी कार्यालयका नियमित काममा खर्च गरिएको दाबी गर्नुहुन्छ । त्यसबेला आफू लेखा अधिकृतको जिम्मेवारीमा नभएकाले यसको विस्तृत जानकारी भने आफूसँग नभएको उहाँको भनाइ छ ।

आयुर्वेद औषधिको माग

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा विभिन्न जडिबुटीबाट बनेका औषधिको माग बढेको थियो । आयुर्वेदिक गुणले युक्त वनस्पतिको संरक्षणका लागि औषधि प्रवद्र्धन गरिनुपर्नेमा अहिले खस्कन थालेकामा गुर्जोलगायत वनस्पतिको प्रचारप्ररामा लाग्नुभएका अभियानकर्मी कमलबहादुर राजलवट चिन्तित हुनुहुन्छ ।

हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधिय गुणले युक्त जडीबुटी एवं वनस्पति भए पनि तिनको सदुपयोग हुन सकेको छैन । कतिपय जडीबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधि नेपालमा भित्रने गरेको अभियानकर्मी राजलवटको गुनासो छ ।

आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने आयुर्वेद चिकित्सकको भनाइ छ । आयुर्वेद औषधि उत्पादन गर्ने समिति निरन्तर ओरालो लागेकाले सराकोर भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको भनाइ छ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा कोरोनाको दोस्रो लहरका बेला विसं २०७८ मा ६५ जना कोरोना सङ्क्रमित राखी आयुर्वेद औषधि दिइएको थियो । कोरोना महामारीको पहिलो चरण विसं २०७७ मा पनि सयौँ कोरोनाका बिरामी केन्द्रमा राखेर आयुर्वेद औषधि नै दिएर उपचार गरेर पठाइएको थियो । अस्पताल, तालिम र अनुसन्धान केन्द्र भएकाले दिइएका औषधिका विषयमा अनुसन्धानसमेत गरियो । केन्द्रले सीमित स्रोत, साधनका आधारमा गरेको अनुसन्धानले नेपाली वनपाखाकै जडीबुटीले कोरोना लागेकालाई फाइदा गरेको कार्यकारी निर्देशक डा रामआधार यादवले सुनाउनुभयो ।

कोरोनाकालमा केन्द्रमा आउने कोरोना बिरामीलाई गुर्जो, सुठो, मरिच, पिप्ला, अभ्रकभष्मलगायत आयुर्वेदिक वनस्पतिको ट्याबलेट बनाएर नियमित खुवाउने गरिएको थियो । केहीलाई भने अक्सिजनसमेत दिइएको थियो । कोरोनाकालमा केन्द्रमा भर्ना भएका कोरोनाका बिरामीको निधन नभएको कार्यकारी निर्देशक डा यादवले जानकारी दिनुभयो ।

कोरोनाकालदेखि नै रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बजारमा बढ्न थालेको छ । कोरोनाकालमा सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गरेको गुर्जो चिया, तुलसी चिया, शिलाजित, च्यवनप्रास, अश्वगन्ध तेल, अविपत्तिकर चूर्णलगायतको माग बढेको थियो । स्वास्थ्य विपत्तिका बेला बढेको आयुर्वेदिक औषधिको मागअनुसार उत्पादन गर्नुपर्ने समिति निरन्तर ओरालो लाग्न थाले पनि सरोकार भएका निकायको ध्यान जान नसकेकामा अभियानकर्मीले चिन्ता प्रकट गरेका छन् । रासस