४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सिंहदरबार वैद्यखानाका कर्मचारीले न काम पाए न तलब

सिंहदरबार वैद्यखानाका कर्मचारीले न काम पाए न तलब
सिंहदरबार बैद्यखाना
अ+ अ-

काठमाडौँः चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो ।

उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् ।

तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा धर्ना दिँदै आए पनि सुनुवाइ नभएको कर्मचारीको गुनासो छ । उत्पादन नभएपछि तलब नपाउने र कार्यालयमा आएका कर्मचारीले पनि काम नपाउने समस्या भएको छ ।

काम नभएपछि करिब ५० जना कर्मचारी दैनिक कार्यालय आउँछन् । हाजिर गरेर फर्कन्छन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने यो समिति आफैँ उपचार गर्नुपर्ने अवस्थामा पुगेको छ । औषधि उत्पादन गर्ने समितिमा कामै नभएका बेला व्यवस्थापनले भने ज्यालादारी कर्मचारी राखेको भन्दै स्थायी कर्मचारीले विरोध गर्दै आएका छन् । व्यवस्थापनले भने उत्पादन सुरु भएपछि धेरै कर्मचारी आवश्यक पर्ने भन्दै काम नभएको बेलामा पनि तलब खुवाएर राखिरहेको छ ।

उत्पादन नभएपछि समितिको बिक्री कक्षमा अहिले च्यवनप्रासबाहेकका उत्पादन पाइँदैन । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न राजा प्रताप मल्लका पालामा स्थापना भएको समितिमा तीन महिनादेखि पूरै काम ठप्प छ ।

समितिको बिक्रीकक्षमा काम गर्नुहुने आदित्य ठाकुर छ महिनादेखि शिलाजीत सकिएको बताउनुहुन्छ । बिक्रीकक्षमा दैनिक २५ जना मानिस शिलाजीत लिन आउँथे । ग्याष्ट्रिकमा काम गर्ने अविपत्तिकर चूर्ण सकिएको चार महिना पूरा भयो । औषधि खोज्न आउनेलाई समितिले रित्तै फर्काउने गरेको छ ।

धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण सकिएको पनि सात महिना पूरा भएको उहाँले सुनाउनुभयो । यस्ता धेरै औषधि सकिएको महिनौँ बिते पनि उत्पादनको वातावरण बनाउन समिति व्यवस्थापनले ध्यान दिएको छैन ।

“औषधि भएका बेला बिल काट्न र बिरामी जाँच्न फुर्सद हुँदैन थियो, अहिले काम नभएर हल्लिएर समय बिताउनुपरेको छ, उत्पादन र बिक्री नहुँदा तलब पनि समयमा पाइएको छैन”, ठाकुरले भन्नुभयो ।

समितिमा उत्पादन घटेर कर्मचारीलाई तलब एवं अवकाश पाउनेले नियमानुसार पाउने उपदानका लागि पनि पैसा नहुने भएपछि कर्मचारीले २०७८ साउन २४ गतेदेखि अवकाश कोष खडा गर्न माग गर्दै दैनिक एक घण्टा धर्ना दिने गरेका छन् । अवकाश कोष खडा गर्न माग राखेर धर्नामा बसेको एक वर्ष हुन लाग्दासमेत माग पूरा भएको छैन ।

विसं २०७७ चैत ३१ गतेदेखि निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत डा सबरी साह भने उत्पादन रोकिएको एक महिनामात्र भएको दाबी गर्नुहुन्छ । त्यसअघि थोरै भए पनि औषधि उत्पादन भएको उहाँले सुनाउनुभयो । विसं २०७८ भदौमा औषधि बनाउने कच्चा पदार्थ ल्याउन बोलपत्र आह्वान गरेपछि अर्का व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गर्दा प्रक्रिया रोकिएर अहिले उत्पादन बन्द हुने अवस्थामा पुगेको भनाइ निमित्त कार्यकारी निर्देशक डा साहको छ ।

गत वर्ष कोरोना महामारी फैलिएपछि बजारमा च्यवनप्रासको माग बढेको थियो । माग पूरा गर्न समितिले २०७८ कात्तिक ३० गतेदेखि च्यवनप्रास बनायो । अहिले त्यही एउटा च्यवनप्रास बेचेर समिति बसेको छ । अरु उत्पादन भण्डारगृहमा रित्तिन थालेपछि बनाउने प्रक्रिया सुरु नगर्दा समितिमा अहिले औषधि किन्न जाने सर्वसाधारण र थोक बिक्रेता रित्तै फर्कन बाध्य हुने गरेका छन् । विगतमा दैनिक रु एक लाखको औषधि बिक्री गर्ने समितिमा अहिले रु दुई हजारको बिक्री हुन पनि मुस्किल पर्ने गरेको छ । सरकारको नियन्त्रणमा रहेको समिति धरासायी बन्दा पनि सरोकार भएका निकायले ध्यान दिएका छैनन् ।

समितिमा विसं २०६६ देखि २०७० को बीचमा डा सन्तोष ठाकुर कार्यकारी निर्देशक हुँदा शिलाजीतको बोलपत्र आह्वान भएको थियो । त्यसपछि बोलपत्र हुन नसक्दा अहिले अभाव भएको हो । त्यसबेला रु एक करोड बराबरको शिलाजीत ल्याइएको थियो । हालै तीन हजार किलोग्राम शिलाजीत ल्याउन बोलपत्र गरिएको छ ।

उत्पादन र बिक्री नभएका कारण गत चैतदेखि तलब खुवाउन नसकिएको निमित्त कार्यकारी निर्देशक साहले स्वीकार गर्नुभयो । विसं २०७७ मा जारी भएको समितिको गठन आदेशमा कम्तीमा दुई महिनामा एकपटक सञ्चालक समितिको बैठक बस्नुपर्ने व्यवस्था छ । समितिमा अनेकौँ समस्या आउँदा चार महिनामा पनि बैठक बस्न नसकेको कर्मचारीको गुनासो छ ।

समितिका समस्या लिएर पटक–पटक स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायमा गए पनि समस्या समाधान हुन नसकेको कर्मचारी केशव शर्मा पौडेलले जानकारी दिनुभयो । औषधि उत्पादनको कच्चा पदार्थ ल्याउन साउन महिनामा गरिनुपर्ने बोलपत्र आह्वान अझैसम्म हुनसकेको छैन ।

समितिका उत्पादन अधिकृत विनोद साह फागुनसम्म च्यवनप्रास बनिरहेकामा त्यसपछि कुनै पनि काम नभएको बताउनुहुन्छ । उत्पादनको जिम्मेवारी डा हरिदेवप्रसाद यादवले लिनुभएकाले कुन–कुन वर्ष कति–कति उत्पादन भयो भन्ने विषयमा आफूलाई थाहा नभएको उहाँको भनाइ थियो ।

कार्यालयमा काम नभएपछि धेरै कर्मचारी बिहान आएर हाजिर गरेपछि हिँड्ने गरेका छन् । अनुहार देखाएर गर्नुपर्ने विद्युतीय हाजिर पनि धेरैजसो कर्मचारीको एकपटकको मात्र हुने गरेको प्रशासन शाखाले जनाएको छ । कति कर्मचारीले त विद्युतीय हाजिर नगरी कार्यालयको रजिष्ट्ररमा मात्र हाजिर गर्ने गरेका छन् । त्यस्ता कर्मचारीको रजिष्ट्रारको हाजिरसमेत काट्ने गरिएको छ ।