२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं १ को बजेट अधिवेशनको सिद्धान्त र प्राथमिकतामाथिको छलफल समाप्त



अ+ अ-

विराटनगर । प्रदेश नं १ को १०औँ तथा बजेट अधिवेशनको आज बसेको बैठकमा आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकतामाथिको छलफल समाप्त भएको छ ।

छलफलमा प्रदेशसभा सदस्य उमिता विश्वकर्माले कृषि क्षेत्र बलियो भएमा अर्थतन्त्र पनि बलियो हुने भएकाले यसमा सरकारले बढी ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य नवोदिताकुमारी चौधरीले विगतका सङ्घीय सरकारले प्रदेश सरकारलाई सङ्घीयता इकाई मानेकाले धेरै अधिकार कटौती भएको टिप्पणी गर्दै सरकारले ल्याएको बजेटको सिद्धान्त र प्राथमिकता स्वागतयोग्य छ भन्नुभयो ।

प्रदेशसभा सदस्य नारायणबहादुर मगरले सरकारले सार्वजनिक गरेको सिद्धान्त र प्राथमिकताले बजेट समाजवाद उन्मुख हुने अपेक्षा गर्नुभयो । सदस्य मोहनकुमार खड्काले विगतभन्दा अहिले परिस्कृत भएर आएको सिद्धान्त र प्राथमिकताबाट प्रदेशवासी लाभान्वित हुने कुरामा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य शिवनारायण गनगाँइले सरकारले कृषिलाई उच्चप्राथकितामा राख्नुपर्ने र कृषियोग्य जमिनलाई उपयोग गर्ने नीति ल्याउनुपर्ने धारणा राख्नुभयो । सदस्य लीला सुब्बाले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन कृषि नै सहयोगी बन्ने भएकाले यसतर्फ सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो ।

सिद्धान्त र प्राथमिकतामा उठेका विषयमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले प्रस्ताव गरेको सिद्धान्त र प्राथमिकता आर्थिक कार्यविधि र वित्तीय उत्तरदायी निर्देशिका बमोजिम ल्याएको बताउनुभयो ।

मन्त्री आङ्बोले सङ्घीय शासन प्रणाली, स्थानीय सरकारका शासन प्रणालीमा सुधार गर्न ल्याएको सिद्धान्त र प्राथमिकताबाट आगामी बजेटले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि गर्न तालिम दिइने जानकारी दिनुभयो । उहाँले दीर्घकालीन वित्तीय दायित्व बढाउने योजना हटाइने र नागरिकलाई प्रतिफल दिने योजना समावेश हुने भन्दै राजस्वको क्षेत्राधिकारभित्र पर्ने सबै स्रोतको भरपुर प्रयोग गर्ने उल्लेख गर्नुभयो ।

मन्त्री आङ्बोले कृषि संरक्षित पेशा भएकाले यसमा सरकारले कर नलगाउने भन्दै खाद्य सङ्कट हटाउन र विदेशी सञ्चिति बढाउन सरकारले कृषि उपज, बजारीकरण र मलखाद् एवं बीउबिजनको व्यवस्था गर्ने धारणा राख्नुभयो । अध्ययन नभएका योजनामा लगानी नगर्ने भन्दै मन्त्री आङ्बोले भन्नुभयो, “अनुत्पादक क्षेत्रमा बजेट कटौती हुने र बहुवर्षीय योजना बजेट विनियोजन हुन्छ ।”

उहाँले अध्ययन भएका सिँचाइका योजना सञ्चालनमा आउने भन्दै सार्वजनिक सेवालाई प्रभावकारी ढङ्गले कार्यान्वयमा ल्याइने बताउनुभयो । “आर्थिक र वित्तीय अनुशासनको मूल मान्यतालाई टेकेर नै बजेट आउँछ, अहिले सङ्घीय सरकारबाट प्रदेश सरकारलाई धेरै अधिकार प्राप्त भएको छ”, मन्त्री आङ्बोले भन्नुुभयो ।

सिद्धान्त र प्राथमिकताका विषय

केन्द्रीय तथ्याङ्क विभागले हालै गरेको प्रक्षेपण अनुसार चालू आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धिदर पाँच दशमलव ४१ प्रतिशत हासिल हुने अनुमान गरिएको छ भने सङ्घीय शासन प्रणालीको सुदृढीकरण, योजनावद्ध विकासका माध्यमबाट आर्थिक रुपान्तरण, प्रभावकारी अन्तरतह समन्वय र सहकार्य, आर्थिक विकास एवं लगानीमैत्री वातावरण, समन्यायिक एवं सन्तुलित विकास, बजेट प्रणालीको सुधार र आर्थिक अनुशासन, प्रभावकारी स्रोत परिचालन, शासकीय सुधार र सुशासन अभिवृद्धि, कृषि क्षेत्रको विकास, औद्योगिक क्षेत्रको विकास र प्रवद्र्धन, भौतिक पूर्वाधार विकास, स्वास्थ्य सेवा तथा सामाजिक विकास, पर्यटन क्षेत्रको प्रवद्र्धन, सहकारी तथा गरिबी निवारण, वन, वातावरण संरक्षण र विपद् व्यवस्थापन, सार्वजनिक सेवाप्रवाह र सुशासन जस्ता विषय सिद्धान्त र प्राथमिकतामा समावेश गरिएको छ ।

प्रदेशसभाको अर्को बैठक २०७९ जेठ २५ गते दिउँसो २ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।