७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

शोकमग्न चुरे काछका बस्ती, ‘गाउँको रानो नै हरायो’

शोकमग्न चुरे काछका बस्ती, ‘गाउँको रानो नै हरायो’
अ+ अ-

महोत्तरी । महोत्तरी र धनुषा जिल्लालाई छुट्याउने रातु नदी वारिपारिका चुरे काछका बस्ती अहिले शोकमग्न बनेको छ । आइतबार पोखरा–जोमसोम उडानको तारा एयरको विमान दुर्घटनामा पर्दा परिवारभित्रकै सात जनाको अकल्पनीय मृत्यु भएपछि महोत्तरीत, बर्दिबास–३ का पर्साहीधाप, रजबास र धनुषा, मिथिला–११ का लोटा, चुरे र बाहुनमारा बस्तीमा शोक छाएको हो ।

दुर्घटनामा परी लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ उहाँकी धर्मपत्नी ७१ वर्षीया सुकमाया तामाङ, सोही बस्तीका मकरबहादुरकै दिदी–भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोलेको मृत्यु भएको छ । यसैगरी मकरबहादुरकै बहिनी र ज्वाइँ हाल काठमाडौँका बासिन्दा ६५ वर्षीया तुलसादेवी तामाङ र पुरुषोत्तम गोलेको पनि सोही घटनामा परी मृत्यु भएपछि यहाँका जोडिएका यी बस्तीमा अहिले रुवाबासी छ । परिवारका नाताभित्रका सातै तीर्थ गर्न मुक्तिक्षेत्र जाँदै हुनुहुन्थ्यो ।

“मकर सर हामी सबैका अभिभावक हुनुहुन्थ्यो, बस्ती वरपरका सुख, दुःखमा खोजखबर गर्नासाथ पुग्नुहुन्थ्यो, अहिले हामीलाई घरकै मुख्य अभिभावक गुमाएको पीडा छ”, लोटा बस्तीकी ४५ वर्षीया दुर्गा ध्रुङ्च्याङ्री मगरले भन्नुभयो, “गाउँको रानो नै गयो ।” विगतमा चुरेस्थित रातु ठाकुर आधारभूत विद्यालयका शिक्षक रहनुभएका मकरबहादुरका महोत्तरी र धनुषाका यी बस्तीमा घरघरै शिष्य छन् । शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका मकर सर ‘आँखामा राख्दा पनि नबिझाउने’ व्यक्तिका रूपमा यहाँका बासिन्दाले सम्झना गर्छन् ।

“गत शुक्रबार बिहानपख त हो, ‘नानी, हामी तीर्थ गर्न हिँड्याै, साता दिनमा आउँला, राम्ररी बस है’, भन्दै जानुभएको” ४५ वर्षीया छिमेकी तुलसा पौडेल भन्नुहुन्छ, “कहिल्यै नफर्कनुरहेछ, आँखामा झलझली मकर सरको अनुहार नाचिरहेछ ।” यसैगरी यहाँका बासिन्दा मकरका भाञ्जा राजन गोलेलाई पनि सम्झँदै भक्कानिन्छन् ।

“कति फरासिला थिए राजन भाञ्जा, काठमाडौँबाट गाउँ झरेपछि खानेपानी, बाटोघाटो र बिजुलीको प्रबन्ध के–कस्तो छ बुझ्ने गर्नुहुन्थ्यो”, लोटाकै ६५ वर्षीया शान्ति श्रेष्ठ भन्नुहुन्छ, “कति सहयोगी राजन भाञ्जा, गाउँबाट बिरामी भएर उपचारका लागि काठमाडौँ पुग्नेहरू त्यहाँ राजन भेटेपछि ढुक्क हुन्थे ।” काठमाडौँमै निजी व्यवसाय गर्ने राजन चाडपर्व मान्न भने गाउँ आउने गरेका श्रेष्ठ सम्झनुहुन्छ । मकरसँग दाजुभाइको साइनो लगाउने सबैले राजनलाई भाञ्जाकै सम्बोधन गर्ने गरेको शान्ति बताउनुहुन्छ ।

विमान हराएको खबर सनसनी फैलिएपछि आइतबार दिउँसो नै मकर सरको घरमा इष्टमित्र, आफन्त र वरपरका छिमेकीको जमघट बढेको थियो । “विमान हराएको खबर फैलियो, आइतबार दिनभरि हामी मकर सरलगायत सबै आफन्त सकुशल भेटिउन् भन्ने प्रार्थना गरी रह्यौँ, तर दैवलाई यो हाम्रो पुकारा मञ्जुर रहेनछ”, सोमबार दुर्घटनाग्रस्त विमान भेटिएर यात्रु सबैको मृत्यु भएको पुष्टि भएपछि छिमेकको बस्ती महोत्तरीको पर्साहीधापका सामाजिक कार्यकर्ता बुद्ध मोक्तान भन्नुहुन्छ, “हाम्रो पूरै बस्ती शोकमा छ ।” रातु वारिपारिका दुवैतिरका बस्तीका बासिन्दा आपसी दुःखसुख साट्दै एउटै सामाजिक वातावरणमा बस्दै आएका बताउँदै मोक्तानले अहिले लोटा बस्तीको शोकको सन्नाटा आफ्नातिरका पर्साहीधाप र रजबासमा पनि उत्तिकै रहेको बताउनुभयो ।

विमान दुर्घटनाको खबर फैलिएसँगै मकर सरको घरमा आफन्तको भीड लाग्दै आएको छ । छोरीहरु शान्ति र कान्ति विह्वल छन् । बुहारीहरु प्रेमा, पार्वती र प्रतिष्माका रुदारुदा आँखाका डिल सुनिएका छन् । त्यहाँ पुग्ने सबै रुन थालेपछि सान्त्वना दिने पनि कोही देखिँदैनन् ।

“शनिबार राति ९ बजेतिर बुवा–आमा र ठूली फुपू (राममाया गोले) सँग फोनमा कुरा भएथ्यो, दुई–तीन दिनभित्रै फर्कन्छौँ  भन्न्नुहुन्थ्यो”, मकरबहादुरकी ठूली छोरी शान्तिले बिलौना गर्दै भन्नुभयो, “बुवा, आमा,फूपु, फूपाजु र भानिज भाइ राजनले हामीलाई छाड्नुरहेछ, एकसाथ मान्यजन सबै रित्तिँदा टुहुरा बन्यौँ ।”

मकरबहादुर गाउँ नै बसेपनि आफ्नै बस्तीका दिदी भिनाजु (राजनका बुवाआमा) भने छोरा राजनका परिवारसँग काठमाडौँ नै बस्दै आउनुभएको थियो । यसपालि सिङ्गो परिवारको तीर्थाटनको मेसोचाहिँ लण्डन बस्ने मकरका भाञ्जा (राजनका भाइ) मनोज गोलेले मिलाएका रहेछन् । “मनोजले लण्डनबाट फोन गरेर बुवा, आमा, मामा, माइजु, सानाबा र सानिमा दाइ (राजन)लाई लिएर तीर्थ जानु, म खर्च पठाउँछु भन्दै आउनुभएको थियो, गत चैतदेखिकै आजभोलि भन्दै जाने कार्यक्रम ढिलो भयो, गत साता राजनले काठमाडौँबाट फोन गरेर मामा, माइजु आउनु, अरु सबै हामी यतै (काठमाडौँ_ छौँ भनेपछि बुवाआमा गत शुक्रबार घरबाट काठमाडौँ जानुभएको हो”, मकरबहादुरकी कान्छी छोरी कान्तिले भन्नुभयो, “दिनदिनैजसो कुरा त भइनै रहेथ्यो, शनिबार रातिको बोली सुन्नु अन्तिम रहेछ ।”

घटना थाहा पाउनासाथ मकरबहादुरका ठूला छोरा उत्तम काठमाडाँै जानुभयो । माहिला भूषण विदेश छन् । कान्छा सुरेश काठमाडौँमै काम गर्छन् । यता राजनका भाइ मनोज लण्डनबाट यसतर्फ आउँदै गरेका खबर आएको मकरबहादुरका जेठा ज्वाइँ (शान्तिका पति) मदन लामाले बताउनुभयो । सँगै करेसा जोडिएको ससुराली घरको वियोगले मदन पनि इन्तुनचिन्तु हुनुभएको छ । “खै कसलाई सम्झाउँ ? आफ्नै मन अधिर छ”, मदनले भन्नुभयो, “जसको आड पाएर यहाँ आइयो, अब कोही रहेनन्, जता हे-यो वैराग लाग्छ ।” ससुरा मकरबहादुर र फूपू सासुका छोरा राजनको ढाडस पाएर पुख्र्यौली घर ढल्केबरबाट लोटा बसाइँ सारेको बताउने मदनले अब हेरविचार गर्ने सबै गुमेका रुँदै बताउनुभयो ।

घरपरिवार आफन्तजनमात्र नभएर टोल छिमेकका अन्य बस्तीका पनि सबैलाई रिझाएर हिँड्ने मकर सर र राजन सधैँसधैँ आफूहरूको सम्झनामा रहने छिमेकको रजबास बस्तीका सामाजिक कार्यकर्ता रामबहादुर थापा बताउनुहुन्छ । “उहाँहरु (मकरबहादुर र राजन) सधैँ सामाजिक कामलाई उच्च महत्व दिनुहुन्थ्यो, सधैँ उहाँहरुको अभाव खट्किरहनेछ”, थापाले विह्वल हुँदै भन्नुभयो । “जे नहुनु थियो, त्यही भयो”, अहिले लोटासहित चुरे काछ बस्तीका सबैको एउटै विलाप छ । रासस