९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पाँच वर्षको योजनाले दीगो विकास हुन्न, कम्तीमा २५ वर्षको योजना निर्माण गर्नुपर्छ’-अर्थविज्ञ वाग्ले



अ+ अ-

काठमाडौँ । मुलुकको पद्धति र प्रणालीगत सुधार नभएसम्म नागरिकले सोचेको जस्तो विकास हुन नसक्ने काठमाडौँमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ । अर्थविज्ञ डा. स्वर्णिम वाग्लेको ‘अतृप्त अवसर’ पुस्तक विमोचन तथा समसामयिक अर्थ-राजनीतिक विमर्शमा सहभागी समाजशास्त्री, अर्थविज्ञ तथा राजनीतिज्ञले उक्त कुरामा जोड दिनुभएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समाजशास्त्री उषा झाले नेपालमा सबै कुरा ठीक भए पनि ‘प्रणाली’ नरहेको बताउनुभयो । मुलुकलाई दीगो विकासतर्फ लैजाने हो भने नागरिकलाई अगाडि राखेर हेर्नुपर्नेमा उहाँको जोड थियो । पाँच वर्षको काम सोचेर योजना बनाउँदैमा विकास नहुने तर्क गर्दै उहाँले भन्नुभयो, “बढ्नुपर्छ, पाँच वर्षको योजनाले मुलुकमा दीगो विकास हुन्न, कम्तीमा २५ वर्षको योजना निर्माण गर्नुपर्छ, त्यो गरेन भने पुस्तकको शीर्षक जस्तै विकासमा जहिले पनि अतृप्त अवसर रहिरहन्छ ।”

समाजशास्त्री झाले थप्नुभयो, “सरकार जस्तो सुकै आओस् चलिरहेको कुरामा कहाँ अतृप्त अवसर छन् त्यसमा उसले थप्नसक्छ, तर योजना २५ वर्षको बनाएर कार्यान्वयन गर्नुपर्छ ।” उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा ध्यान दिनसके आर्थिक विकास र मानव संशाधन विकासमा सघाउ पुग्नेमा उहाँको भनाइ थियो । उहाँले नीति निर्माणका हिसाबले नेपाल धनी रहेको तर त्यो कागजमै सीमित रहेको जिकिर गर्नुभयो ।

पुस्तकका लेखक अर्थविज्ञ डा स्वर्णिम वाग्लेले विगतमा नेकपाको सरकारसँग धेरे अवसर हुँदाहुँदै काम गर्न नसकेको टिप्पणी गर्दै कुर्सीमा जाने मात्रै होइन विकासको खाका पहिलेदेखि नै तयार गरेर राजनीतिक पार्टीले काम गर्नुपर्नेमा जोड दिनुभयो । “नेकपाको सरकारले त्यसबेला सुरुको वर्ष स्थिरताका सवालमा केही राम्रा कुरा गरेको हो । अर्को वर्ष असाधारण अवसरमा उपलब्धि औषत भयो, मैले मेरो किताबमा उल्लेख गरेको छु, तेस्रो वर्ष अस्थिरताले काम भएन, सबै क्षेत्रमा धावा बोल्ने काम मात्रै भयो”, उहाँले भन्नुभयो ।

दलहरुमा के गर्ने भनेर पूर्वतयारी नै हुन्न । यसका लागि फराकिलो टिम चाहिन्छ, त्यो हुन सकेन यस्ता कमजोरीबाट अब सिक्नुपर्छ, आउँदो सरकार जोगिनुपर्छ, उहाँले सुझावात्मक टिप्पणी गर्नुभयो । उहाँले कुर्सी मात्रै जोगाएर केही नहुने भएकाले नीतिगत सुनिश्चितता, पद्धति र प्रणालीगत सुधार जरुरी रहेको बताउनुभयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेले शक्ति पृथकीकरणमा राजनीति हावी हुँदै गएको महसुस भएको बताउँदै नागरिक समाजबाट संरचनामा पुनःमूल्याङ्कन गर्न जरुरी छ भन्नुभयो । उहाँले राजनीति सङ्लो नभई मुलुक विकासतर्फ अघि नबढ्ने जिकिर पनि गर्नुभयो । वाग्लेले पूर्वाधारमा मात्रै बजेट खन्याउँदैमा अपेक्षित प्रतिफल नआउने दावी गर्नुभयो ।

बहसमा भाग लिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलमा तयारी नपुग्दा सरकारमा पुगेपछि कसरी कुर्सी जोगाउने र कसरी सरकार बदल्ने भन्ने खेलमा मात्रै ध्यान पुग्ने गरेको उल्लेख गर्नुभयो । दलहरु सच्चिनुपर्ने स्वीकार गर्दै नेता थापाले कांग्रेसले त्यो अभ्यास सुरु गरिसकेको पनि बताउनुभयो । त्यसको पहिलो काम सदस्यता वितरण प्रणालीबाटै सुरु भएको थापाले तर्क प्रस्तुत गर्नुभयो ।

विगतमा सरकारले गरेका राम्रा र नराम्रा कामबाट सिक्दै अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । “अब पाँच वर्ष अवसर पाउँदा हामी हरेक वर्ष यो यो काम गर्ने भन्ने तयारीका साथ जानेछौँ, विधागत रुपमा आएका मान्छेहरुको सहयोग लिनेछौँ”, थापाले योजना सुनाउनुभयो ।

उहाँले सरकार गठन हुँदैमा सबै काम गर्न नसक्ने बताउँदै त्यसमा सबै नागरिकको उत्तिकै जिम्मेवारी रहने बताउनुभयो । थापाले भन्नुभयो, “अहिलेसम्म कुनै पनि राजनीतिक दलभित्र सरकारमा कसरी पुग्ने भन्ने मात्रै तयारी छ, त्यसपछि के गर्ने भन्ने तयारी शून्य छ, त्यसलाई बदल्न सक्नुपर्छ ।” उहाँले कांग्रेसले पार्टीको सदस्य प्रणालीलाई सुधार्नुपर्छ भनेर काम शुरु गरिसकेको बताउनुभयो । उहाँले निर्वाचनमा उम्मेदवारी चयन गर्ने विषय पनि स्थानीयस्तरबाटै छनोट गर्नुपर्छ भन्नुभयो ।

उहाँले कुनै पनि एजेण्डाका साथ म कांग्रेसबाट चुनाव लड्छु भनेर कोही आयो भने, उसले लड्न पाउने गरी व्यवस्था आओस् भन्ने कोसिस हाम्रो छ, भन्नुभयो । उहाँले पार्टी सुदृढीकरण पनि जरुरी रहेको औँल्याउनुभयो । रासस