• १६ मंसिर २०८०, शनिबार
  •      Sat Dec 2 2023
  •   Unicode
Logo

सुर्खेतमा निषेधाज्ञा जारी



सुर्खेत । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदनविरुद्ध आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज राति सवा ८ बजेदेखि मङ्गलबार साँझ ७ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ । 

सुर्खेतस्थित पार्टी कार्यालयहरु, प्रहरी बिटमा तोडफोड र आगजनीको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निषेधाज्ञा आदेश जारी गर्नुभएको हो ।  निषेधाज्ञा आदेश पूर्वमा वीरेन्द्रनगरको सुब्बाकुना, पश्चिममा बाङ्गेसिमल, दक्षिणमा काँक्रेबिहार जङ्गल र उत्तरमा कपासेसम्म भेला, जुलुस गर्न नपाइने र आदेश विपरीत गतिविधि गरेको पाइएमा स्थानीय प्रशासन ऐनबमोजिम कानुनी कारबाही हुने उल्लेख छ । 

प्रजिअ रिजालले बन्दकर्ता उग्र बनेका र थप क्षति हुन नदिन निषेधाज्ञा आदेश जारी गरिएको बताउनुभयो । आन्दोलनमा उत्रिएका बन्दकर्ताले साँझ सुर्खेत हटियालाइनस्थित नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को कार्यालय तोडफोड गरेका थिए ।  ढुङ्गामुढाबाट कांगे्रस कार्यालयका सिसा फुटेका छन् भने एमाले कार्यालय रहेको भवनमा व्यवसायीका सटर तोडफोड गरिएका छन् । 

पार्टी कार्यालयहरुमा आगजनी गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी भीड तितर बितर पारेको थियो । आन्दोलनकारी र प्रहरीबीच आज दिनभर वीरेन्द्रनगरका विभिन्न स्थानमा दोहोरो झडप भएको थियो । प्रतिनिधिसभाबाट एमसिसी अनुमोदन भएपछि विभिन्न आठ दलले आज नेपाल बन्दको आह्वान गरेका थिए । रासस