२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दाइजो नदिए बेहुली लैजान्न भन्ने बेहुला पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

झापा । मोटरसाइकल दाइजो नदिए बेहुली नलैजाने भनेर बिहेको जग्गेमै दबाब दिएको अभियोगमा बेहुला पक्राउ परेका छन् । पक्राउ पर्ने बेहुला झापा गाउँपालिका–४ का २८ वर्षीय डेबिट चौधरी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो ।

उहाँका अनुसार मेचीनगर–१५ निवासी पुष्पलाल राजवंशीको छोरीसँग चौधरीको शुक्रबार विवाहको दिन थियो । बिहे सकेर बेहुली अन्माउने बेलामा चौधरीले मोटरसाइकल दाइजो नदिए बेहुली नलैजाने अड्डी कसेका थिए । आर्थिक अवस्था कमजोर रहेका बेहुलीका बुवा पुष्पलालले सम्झाउँदासमेत नमानेपछि विवाह कार्यक्रम बिथोलिएको थियो । अहिले नै दाइजो मागेर तनाव दिनेसँग म बिहे गर्दिन भनेर बेहुलीले भनेपछि पुष्पलालले प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

प्रहरी टोलीले बेहुला बनेका चौधरीलाई जग्गेबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । हाल आरोपितलाई धुलाबारी इप्रकाको हिरासतमा राखिएको छ । पुष्पलालको घरमा शुक्रबार दुई छोरीको एकैदिन विवाह थियो । अर्की छोरीको विवाह दाइजो बेगर नै सम्पन्न भएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा ७४ मा विवाहमा कुनै लेनदेन गर्न नहुने कानुनी व्यवस्था छ । लेनदेन भन्नाले दाइजोसमेत बुझिन्छ । यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद वा रु ३० हजार जरिवाना वा दुवै सजाय हुने कानुनमा व्यवस्था छ ।