१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
अ अ+ अ-

काठमाडाैँ । इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च भइसकेको अमेरिकी प्रशासनको दाबीबीच तेहरान र अन्य क्षेत्रमा बुधबार पुनः अमेरिकी हवाई आक्रमण भएको छ । यससँगै इरानले हवाई सुरक्षा प्रणाली सक्रिय पारेको छ भने दुवै पक्षबीचको तनाव अझ चर्किएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अझै समाप्त नभएको र अहिले नै सैन्य कारबाही रोक्ने अवस्था नरहेको बताउनुभएको छ । उता, अमेरिकी रक्षा मन्त्रालयका प्रमुख पीट हेग्सेथले युद्ध सञ्चालनमा हालसम्म ३७ अर्ब ५० करोड डलर खर्च भइसकेको जानकारी दिँदै सेनाका लागि थप अर्बौं डलर बजेट आवश्यक रहेको बताउनुभएको छ । अमेरिकी सेनाले लगातार एघारौँ रात इरानमाथि आक्रमण गरेको पुष्टि गर्दै हर्मुज जलघाँटी हुँदै सञ्चालन हुने व्यापारिक जहाजलाई जोखिममा पार्ने इरानी सैन्य क्षमतालाई कमजोर बनाउने उद्देश्यले सैन्य रसद संरचनालाई निशाना बनाइएको जनाएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आणविक ऊर्जा केन्द्र रहेको बुसेहरसहित विभिन्न क्षेत्रमा आक्रमण भएको छ भने तेहरानको पश्चिम, पूर्व र उत्तरपूर्वी क्षेत्रमा हवाई सुरक्षा प्रणाली सक्रिय भएको आवाज सुनिएको थियो । हर्मुज जलघाँटीमा सुरु भएको द्वन्द्व विस्तार हुँदै मध्यपूर्वका अन्य रणनीतिक समुद्री मार्गसम्म पुगेको छ । यसले विश्वव्यापी तेल आपूर्ति र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको विश्लेषण गरिएको छ । ट्रम्पले अर्को सम्भावित अमेरिकी लक्ष्य नतान्ज नजिक रहेको ‘पिक्याक्स माउन्टेन’ नामक भूमिगत आणविक परिसर हुन सक्ने सङ्केत गर्नुभएको छ ।

पश्चिमी गुप्तचर निकायहरूले उक्त क्षेत्रमा इरानले अघोषित युरेनियम संवर्धन केन्द्र निर्माण गरिरहेको आशङ्का व्यक्त गर्दै आएका छन् । यसको प्रतिक्रिया स्वरूप इरानले अमेरिकी तथा उसका सहयोगी मुलुकका हितमाथि थप आक्रमण गर्ने चेतावनी दिएको छ । खताम अल–अन्बिया सैन्य कमान्डले सम्भावित नयाँ अमेरिकी आक्रमणलाई क्षेत्रीय युद्ध विस्तारका रूपमा लिइने र त्यसको जवाफ अमेरिका, उसका सहयोगी तथा समर्थकका सम्पत्तिमाथि आक्रमणमार्फत दिइने जनाएको छ । यता, कुवेतले बुधबार इरानबाट आएको भनिएको ड्रोन आक्रमणलाई आफ्नो हवाई सुरक्षा प्रणालीले निष्क्रिय पारेको जनाएको छ ।

बहराइनले पनि इरानी आक्रमणहरू रोकिएको दाबी गरेको छ भने कुवेत र जोर्डनले ड्रोन तथा मिसाइल आक्रमण विफल बनाएको बताएका छन् । इरानी सेनाले कुवेत र बहराइनमा रहेका अमेरिकी हवाई सुरक्षा प्रणाली, राडार तथा प्रशासनिक संरचनालाई निशाना बनाएको जनाएको छ । इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका बन्दरगाह अवरुद्ध गर्ने चेतावनी दिएपछि तनाव थप बढेको छ । राष्ट्रपति ट्रम्पले यस्तो प्रयास भए त्यसको कडा जवाफ दिइने चेतावनी दिनुभएको छ ।

साउदी अरेबियाले पनि हुथीहरूको धम्कीको कडा निन्दा गरेको छ । समुद्री सुरक्षा कम्पनी भ्यानगार्ड टेकका अनुसार साउदी अरेबियाको यानबु बन्दरगाहबाट कच्चा तेल बोकेर निस्किएका दुई ट्याङ्करले लाल सागरमा मार्ग परिवर्तन गरेका छन् । विश्लेषकहरूका अनुसार हुथीहरूले साउदी तेल निर्यात मार्गमा अवरोध पुर्‍याउन सफल भए विश्व ऊर्जा बजारमा गम्भीर असर पर्न सक्छ । यसैबीच, इरानी रिभोलुसनरी गार्ड्सले हर्मुज जलघाँटी पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्कर विस्फोटमा परेर ठप्प भएको दाबी गरेको छ ।

बेलायतको युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) ले पनि ओमानको तट नजिक एउटा ट्याङ्करमा अज्ञात प्रक्षेप्य ठोक्किएको जनाएको छ । युद्ध चर्किए पनि कूटनीतिक सम्पर्क भने पूर्ण रूपमा रोकिएको छैन । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्तामार्फत अमेरिकासँग संवाद जारी रहेको जानकारी दिनुभएको छ । यसैक्रममा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले इरानका गृहमन्त्री एस्कन्दर मोमेनीसँग भेट गर्दै सबै पक्षलाई संयम अपनाउन र मध्यपूर्वलाई थप अस्थिर बनाउने गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ ।