६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

मनसुन: बढी वर्षा हुने मौसम विभागको आकलन

मनसुन: बढी वर्षा हुने मौसम विभागको आकलन
अ+ अ-

काठमाडौँ । यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । ती क्षेत्रहरुमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत) रहेको छ ।

विभागबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागमा भने सरदर वर्षा हुने आकलन छ । त्यसको सम्भावना (३५ देखि ४५ प्रतिशत) अनुमान गरिएको छ ।

आगामी जेठ १८ देखि असोज १४ सम्म चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर विभागले उक्त आकलन सार्वजनिक गरेको हो । विभागका मेट्रोलोजिष्ट सुदर्शन हुमागाईंका अनुसार प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर–पूर्व, गण्डकी प्रदेशका दक्षिण भूभाग, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उत्तर–पश्चिम र सुदुरपश्चिमका उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन छ ।

सुदुरपश्चिमको पूर्वी भूभाग कर्णाली प्रदेशका मध्य, गण्डकी प्रदेशका मध्यपश्चिम, प्रदेश १ को मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (४५ देखि ५५ प्रतिशत) रहेको छ । यस्तै गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदुरपश्चिम प्रदेशका मध्य तथा पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) रहेको छ ।

यस्तै देशको उत्तरी भूभाग र मधेश प्रदेशका धेरै भूभागमा अधिकतम तापक्रम सरदर हुने (३४ देखि ५५ प्रतिशत) देखिए पनि मुलुकको उत्तरी भूभागमा न्युनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) हुने आकलन गरिएको छ ।

विभागका महानिर्देशक कमलराम जोशीले गत वर्षको मनसुनका अवधिमा जम्मा छ वटा मौसम प्रणाली मात्रै सक्रिय भएकामा यस पटक भने धेरैजसो क्षेत्रमा सक्रिय हुने आकलन गरिएकाले पूर्वतयारी र प्रतिकार्य योजना बनाउन जरुरी रहेको औँल्याउनुभयो । उहाँले त्यसका लागि विभागले सूचना मात्रै दिने हुँदा सम्बन्धित निकायबाट बेलैमा तयारी गर्न पनि सुझाव दिनुभयो । उहाँले विभाग आर्थिकलगायत विविध चुनौतीबाट गुज्रिरहेकाले भौतिक पूर्वाधारमा गरेको लगानीको १० प्रतिशत रकम मात्रै यस क्षेत्रमा लगानी गर्न सके धेरै क्षति न्यूनीकरणमा सहयोग पुग्ने पनि बताउनुभयो ।

विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले अहिलेको मौसमको अवस्था हेरेर पछि हुने अवस्थाको आकलन गरी उक्त विवरण सार्वजनिक गरिएको बताउनुभयो । उहाँका अनुसार ३३।३ प्रतिशतभन्दा तललाई सरदरभन्दा कम, सोदेखि माथि ६६।६ प्रतिशतसम्मलाई सरदर र त्योभन्दा माथि भएमा सरदरभन्दा बढी पानी पर्ने अवस्था आकलन गरिन्छ । उहाँले विगत ३० वर्षको मनसुनको समयको अवस्थालाई विश्लेषण गरेर उक्त तथ्य निकाल्ने गरिएको बताउनुभयो ।

यसका लागि विभन्न मोडलको प्रयोग गरिने र त्यसको आधारमा विश्लेषण गरेर आकलन गर्दै आइएको छ । सन् २०२० देखि विभागले आफैँ पनि मनसुनको अवधि र हिउँदको अवधिको मौसम आकलन गर्न थालेको छ ।

नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रि–मनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी उक्त आकलन तयार पारिएको हो ।

यस्तै विश्व मौसम सङ्गठनको विश्वभर र क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरुको हावापानीको प्रारूपको आकलन, विभागको आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनलाई समेत आधार लिएर बनाइएको हो ।

यद्यपि जलवायु प्रणाली, विभिन्न ऋतुगत सामुद्रिक तथा वायुमण्डलीय प्रणाली, भूउपयोगजस्ता कुरामा निर्भर हुने र जलवायु प्रारूपहरू यस्ता प्रणालीको ऋतुमा हुने परिवर्तनले विश्वसनीय पूर्वानुमान गर्न कठिन हुने विज्ञहरुले बताएका छन् ।

आज विभागले सार्वजनिक गरेको आकलनपछि आयोजित समारोहमा जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनेशकुमार घिमिरेले केही क्षेत्रमा आकलन नमिलेको कुरासमेत आइरहेकाले त्यसलाई अझै वैज्ञानिक बनाउनुपर्ने जरुरी आँैल्याउँदै अहिलेको आकलनले मुलुकमा चुनौती भएको जानकारी आएको र बेलैमा तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मौसम बदली हुनेबित्तिकै गौरवको आयोजना मेलम्चीमा केही भइहाल्ने हो कि भनेर चिसो पस्ने गरेको उल्लेख गर्दै विपद्ले खानेपानीका संरचनामा क्षति पुर्याउने गरेको बताउनुभयो ।

ऊर्जा मन्त्रालयको जलस्रोत तथा ऊर्जा सचिव सागरकुमार राईले मौसम प्रणालीलाई वैज्ञानिक बनाउन कसरी तिखार्न सकिन्छ सोअनुसार गर्न विभागका विज्ञहरुलाई सुझाव दिनुभयो । उहाँले मौसम विज्ञान विभागले सूचना मात्रै दिने भएकाले त्यसको क्षति न्यूनीकरणका लागि तत्तत् निकायले भूमिका खेल्न जरुरी रहेको पनि औँल्याउनुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले यो आकलनले पश्चिम तराईमा बाढी बढी हुने देखाएको औँल्याउँदै अझै बढी सचेतनापूर्वक काम गर्नुपर्ने देखाएको देखिएको बताउनुभयो ।

विभागका पूर्वमहानिर्देशक ऋषिराम शर्माले मौसमका सूचनाका लागि आधिकारिक सूचना जाने एप निर्माण जरुरी छ भन्नुभयो । उहाँले अझै पूर्वसूचना प्रणालीलाई वैज्ञानिक बनाउँदै लैजान पनि सुुझाव दिनुभयो ।

उक्त अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका राजेन्द्र शर्मा, कृषि मौसमविद् रामेश्वर रिजाल, विभागका उपमहानिर्देशक डा अर्चना श्रेष्ठले धारणा राख्नुभएको थियो । रासस