१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्कटमा आरन पेशा



अ+ अ-

बलेवा । कुनैबेला उहाँको आरनमा धेरै व्यक्ति आउँथे । अहिले आरनमा ल्याउने सामान नै छैन । खेती किसानी छाडेर बजारमा बस्ने भएपछि आरन पेशा सङ्कटमा पर्दै गएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखाका ६३ वर्षीय बमबहादुर विश्वकर्माले यस्तो अवस्था अनुभव गर्नुभएको छ । अनुभव मात्र होइन उहाँले आफ्नै जीवनमा पुख्र्यौली पेशाले खानै नपुग्ने अवस्था ल्याएको बताउन थाल्नुभएको छ । दैनिक २० देखि ३० व्यक्तिले आरनमा सेवा लिन आउँदा उहाँको राम्रो कमाइ थियो । कतिपयले नगद दिन्थे भने कतिपयले अन्न दिँदा उहाँको घरपरिवार चलेको थियो । अहिले भने दैनिक आरनको सेवा लिन आउने नै घटेका छन् । त्यसैले उहाँको कमाइ घट्दै गयो । त्यही पेशाले परिवार पाल्नुपर्ने बाध्यता छ ।

“अहिले दिनमा रु ५०० सम्म कमाइ हुन्छ, अन्न भने पाइदैन,’ विश्वकर्माले भन्नुभयो, “किनेर खानुपर्छ, यो पेशाको भरमा बाँच्न गाह्रो भइसक्यो ।” यो पेशाबाटै उहाँले चार छोरा र दुई छोरी हुर्काउनुभएको थियो । तर अहिले समस्या बढ्दै गएको छ । विश्वकर्माले भन्नुभयो, “पेशा छाडौँ खान केही छैन, नछाडौँ कति दुःख गरिरहने ”

पुख्र्यौली पेशा बाहेक अन्य काम पनि उहाँले जान्नुभएको छैन् । परम्परागत रुपमा उहाँले फलाम ल्याएर हँसिया, कुटो, कोदालो, खुकुरी र दाउ बनाउने गर्नुभएको छ ।

पछिल्लो समय कोइलासमेत नपाउँदा काममा अप्ठ्यारो भएको विश्वकर्माले बताउनुभयो । “पहिला जङ्गलमा गएर कोइला तयार पारिन्थ्यो, अहिले जङ्गल जान पाइँदैन”, उहाँले भन्नुभयो, “बजारको कोइला किन्दा महँगो पर्छ ।” घरमा कमाइ घटेको र छाक टार्न धौधौ भएपछि उहाँका छोरा खाडीमुलुक जानुभएको छ । कमाइ नभएकोले ऋण तिर्न सास्ती भएको उहाँले गुनासो गर्नुभयो । एक छोरा बिरामी भएकोले घरमै बस्नुहुन्छ ।

बजारमा आधुनिक र बनिबनाउ हतियार आउन थालेपछि उहाँको जस्तै धेरैको पेशा सङ्कटमा पर्दै गएको छ । “खेतीपाती गर्नेको सङ्ख्या घट्दै गएको छ, कुटो कोदालोको प्रयोग पनि घट्दै गएको छ”, विश्वकर्माले भन्नुभयो, “पुख्र्यौली पेशा सङ्कटमा पर्ने भयो ।”