१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारी खेतीका लागि परिचित कञ्चनपुरका दुई गाउँमा चुनावी रौनक



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का दुई गाउँ पिपलाडी र जोनापुर तरकारी खेतीका लागि जिल्लामै परिचित छन् । दुवै गाउँका किसान वर्षभरि नै तरकारी उत्पादन गरी बजारमा बिक्री गर्नमै व्यस्त हुने गरेका छन् । स्थानीय तहको निर्वाचन सुरु भएसँगै यी दुई गाउँमा चुनावी चहलपहल सुरु भएको छ ।

चियापसलदेखि खेतबारीमै काम गर्दा चुनावकै चर्चा हुन थालेको छ । गाउँको विकासमा कटिबद्ध हुने उम्मेदवारलाई मतदान गर्न गर्न दुवै गाउँका अधिकांश बासिन्दा एकजुट छन् । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) बाट वडामा प्रतिनिधित्व गर्नका लागि उम्मेदवार चुनावी मैदानमा रहनुभएको छ । यसका अतिरिक्त एक जना वडाका अध्यक्षका उम्मेदवार स्वतन्त्र रुपमा चुनावी दौडमा लागेका छन् । मुख्य प्रतिस्पर्धा तीन राजनीतिक दलका उम्मेदवारबीच नै रहेको छ । मतदातालाई आआफ्नो पक्षमा पार्नका लागि उम्मेदवारले घरदैलो अभियानलाई तीव्र पारेका छन् । मतदातालाई रिझाउने प्रयास भएको छ ।

“उम्मेदवार घरमा मत माग्नका लागि पुग्दा कसैलाई हुँदैन भन्दैनौँ, सबैलाई ठीक छ, प्रतिबद्धता पत्र अध्ययन गर्छौ भन्छौँ”, स्थानीय मानबहादुर चौधरीले भन्नुभयो, “परिवारमा सल्लाह गरेर मतदान गर्ने कुरा सुनाउछौँ ।” उम्मेदवार भएकाले नातागोतामार्फत मतदान आफ्नो पक्षमा पार्न दबाब दिने गरे पनि यसपटक किसानका दुःख बुझेकालाई मतदान गर्ने सोच रहेको उहाँले बताउनुभयो ।

“वडाको प्रतिनिधित्व गर्ने उम्मदेवारको चर्चा परिवार एक ठाउँमा बसेका बेला हुने नै भयो”, स्थानीय वीलबहादुर डगौराले भन्नुभयो, “विगतको जस्तो मतदान यस पटक हुँदैन, तरकारी खेतीमा संलग्न किसानको बृहत्तर हितमा काम गर्नेलाई मतदान गर्छौ ।” यसका लागि टोलटोलमै छफफल भैरहेको उहाँले बताउनुभयो । किसानका लागि कृषि औजारको व्यवस्था, बीउविजन, रासायनिक मल, सिँचाइको व्यवस्था दुवै गाउँका किसानका मुख्य मुद्दा रहेका छन् ।

त्यसपछि सडकको अवस्थामा सुधारलाई दोस्रो मुद्दाका रुपमा स्थानीयवासीले अघि सारेका छन् । गाउँमा अर्को समस्याका रुपमा खानेपानी रहेको छ । शुद्ध पेयजलका लागि ओभरहेड ट्याङ्की बनाइ हेण्डपम्पको पानी पिउनुपर्ने बाध्यताबाट मुक्त गर्ने उम्मेदवारको खोजीमा यहाँका बासिन्दा रहेका छन् ।

तरकारी खेतीका लागि सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना गाउँ कार्यक्रमअन्तर्गत मौसमी, बेमौसमी तरकारी उत्पादनका लागि घर घरमा प्लास्टिक टनेल निर्माण भएका छन् । चालीसभन्दा बढी किसानलाई यो कार्यक्रमअन्तर्गत खेतबारी जोत्नका लागि पावर टिलर अनुदानमा उपलब्ध गराइएको छ । रोग कीरा नियन्त्रण गर्नका लागि स्प्रे ट्याङ्कीसमेत उपलब्ध छन् । सिँचाइका लागि केही पम्पसेट समेत उपलब्ध भएका छन् ।

वडाका एक हजार २०० बढी मतदातामध्ये थोरैका घरमा मात्रै कार्यक्रमले समेट्न सकेको छ । दुई वर्षसम्म सञ्चालित कार्यक्रमअन्तर्गत रु एक करोड बढी रकम किसानको क्षमता अभिवृद्धि गरी तरकारी खेतीको उत्पादकत्व बढाउनका लागि खर्च भइसकेको छ । दुवै गाउँका किसानले अझै तरकारी खेतीका लागि बजार प्रवद्र्धन अगाडि बढाउनुपर्ने बताउँछन् । तरकारी सङ्कलन केन्द्र निर्माण गरी सहज रुपमा बजारसम्म तरकारी बिक्रीका लागि पहल गर्ने उम्मेदवारलाई मतदान गर्ने कालुराम डगौराले बताउनुभयो ।

“विगतमा विजयी भएका वडाका जनप्रतिनिधिले किसानको हितमा काम नगरेका होइनन्”, उहाँले भन्नुभयो, “ती कार्य प्रयाप्त भएनन्, विगतका किसान हितका कार्यलाई अझै परिस्कृत गरी निरन्तता दिनु जरुरी छ, किसानमैत्री उम्मेदवारलाई मात्रै मतदान गर्छौँ, त्यसका लागि दुवै गाउँमा छलफल चलाइ सकेका छौँ ।”

गाउँको मुख्य सडकको केही हिस्सा कालोपत्र भइसकेको छ । केही हिस्सा कालोपत्र गर्न बाँकी छ । अन्य टोल जोड्ने सडकमा ग्राभेल भइसकेको छ । “मुख्य सडकसँगै ग्राभेल भएका सडकको स्तरोन्नति गरी कालोपत्रे गर्न सक्ने उम्मेदवारको चयन नै प्राथमिकतामा रहेको छ”, स्थानीय किसान टिकाराम चौधरीले बताउनुभयो ।

किसान हितमा काम गर्ने उम्मेदवारको प्रचारप्रचारमा दुवै गाउँका बासिन्दाले स्वस्फूर्त रुपमा घरघरमा गएर प्रचारप्रसारको कार्यसँगै मदताता शिक्षा कार्यक्रमलाई तीव्र बनाइएको उहाँले बताउनुभयो । “बदर मतको सङ्ख्या कम गर्नका लागि मतदाताको घरघरमै पुगेका छौँ”, उहाँले भन्नुभयो, “अहिले नै कुन पार्टीको कुन उम्मेदवारलाई मतदान गर्दर्छौँ भन्ने कुरा गोप्य नै राखेका छौँ, अहिले भन्दैनौँ, चुनावमा धेरै मत ल्याएर जित्ने उम्मेदवारबारे थाहा पाइहाल्नुहुन्छ नी ।” रासस