५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

काठमाडौँ मतदाताका तर्फबाट जनस्वास्थ्यविद रवीन्द्र समीरको ४० बुँदे घोषणापत्र

काठमाडौँ मतदाताका तर्फबाट जनस्वास्थ्यविद रवीन्द्र समीरको ४० बुँदे घोषणापत्र
अ+ अ-

काठमाडौँ । अहिले मुलुकका प्राय सबै राजनीतिक दल स्थानीय तहको निर्वाचनमा होमिएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा (एमाले), केही अन्य साना राजनीतिक दलबाट उम्मेदवारी दिनुका साथै केहीले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन् ।

प्रमुख राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी प्रतिबद्धतापत्र, घोषणापत्र र संकल्पपत्र जारी गरिसकेका छन् । अझ पार्टीका तर्फबाट विभिन्न पालिकामा उम्मेदवारी दिएका उम्मेदवारले समेत पालिकास्तरमा गर्न सकिने कामको विवरण उल्लेख गर्दै यस्तै घोषणापत्र जारी गरेका छन् ।

स्थानीय तहमध्ये पनि काठमाडौँ महानगरपालिकाको निर्वाचनलाई विशेष मानिन्छ । यो मुलुकको सबैभन्दा ठूलो महानगरपालिका मात्र नभई मुलकको केन्द्रीय राजधानीसमेत रहेको महानगरपालिका हो । त्यसैले यहाँ निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने ठानिएको छ ।

काठमाडौँ महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट सिर्जना सिंह, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बाट केशव स्थापित, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मदनदास श्रेष्ठ, विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटा र स्वतन्त्ररुपमा बालेन्द्र (बालेन) साह उम्मेदवार हुनुहुन्छ ।

सबै उम्मेदवारले काठमाडौँ महानगरपालिकाको विकासमा गर्न सकिने खाका प्रस्तुत गर्नुभएको छ । तर काठमाडौँका मतदाताको तर्फबाट जनस्वास्थ्यविद डा रवीन्द्र समीरले ४० बुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको छ । हेरौँ उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको घोषणापत्रको विवरण :

काठमाडौँका मतदाताको ४० बुंदे घोषणापत्र : रवीन्द्र समीर

१. प्रदुषण नियन्त्रण :

काठमाडौँ विश्वकै प्रदूषित सहरमा पर्दछ । सानातिना काममा लापरवाही गर्नाले तथा कुनै पनि पक्षले जिम्मेवार अनुभूत नगरेको हुँदा काठमाडौँ बस्न नमिल्ने सहर बनिरहेको छ । मानव स्वास्थ्यमा तथा पर्यटन आवागमनमा प्रदूषण सबैभन्दा घातकसिद्ध हुँदैछ । प्रदूषण नियन्त्रण गर्नका लागि न्यूनतमरुपमा निम्न काम गर्नु जरुरी छ ।

– हरेक घर, टोल, खाली ठाउँ, कार्यालय, विद्यालय र कलेज तथा सडकको दुवैपट्टि व्यापकरुपमा वृक्षरोपण गरेर काठमाडौँलाई जंगलको सहर बनाउने ।

– भित्री तथा बाहिरी सडक छेउदेखि कुनासम्म गुणस्तरीय पिच गरेर धुलोको स्रोत बन्द गर्ने ।

– पुराना सवारीसाधन विस्थापित गर्ने ।

– ट्राफिक प्रहरीले मापसे चेक गरेझैँ सवारीको प्रदूषण चेक गर्ने । धुवाँ फ्याँक्ने साधनलाई तत्काल नियन्त्रणमा लिने । प्रदूषण गर्ने साधनलाई जरिवाना तिराएर सर्भिसिङ गर्न लगाउने । अवस्था ठिक भएपछि मात्र सहरमा गुड्न दिने ।

– उपत्यका भित्रिने बाहिरका गाडीलाई नाकामा धोएर मात्र प्रवेश गर्न दिने ।

– प्लास्टिक, प्लास्टिकजन्य प्याकेट आदिमा प्रतिबन्ध लगाउने ।

– मुख्य तथा भित्री सडकमा बिहान ६ बजेभित्र बढारेर सक्ने ।

– उपत्याकका इँट्टाभट्टालगायत प्रदूषण गर्ने कारखानालाई उपत्यका बाहिर विस्थापित गर्ने ।

– काठमाडौँमा हावा छिर्ने धादिङ, नुवाकोटलगायतका स्थानको प्रदूषण रोक्ने ।

– काठमाडौँको प्रदूषण बाहिर पठाउनका लागि शिवपुरी, भक्तपुर, भैँसेपाटीलगायतका ठाउँमा सुरुङ बनाउने ।

– हरेक १०० मिटरमा फोहोर संकलन गर्ने चोयाका डस्टबिन राख्ने ।

– कुहिने र नकुहिने फोहोर छुट्याएर मल कारखाना र डम्पिङ साइटमा वडा÷वडाबाट त्यही दिन पुर्याउने ।

– काठमाडौँका खोलामा फोहोर शून्य रणनीति लागु गर्ने ।

– हर्न तथा अन्य आवाजजन्य प्रदूषण न्यून गर्ने ।

– सबै कार्यालय तथा व्यक्तिगत सवारीको साधन विद्युतीय अनिवार्य गर्दै जाने

२. ट्राफिक व्यवस्थापन :

ट्राफिक जाम काठमाडौँको ठूलो समस्या बनेको छ । यसको व्यवस्थापन गर्नका लागि निम्नलिखित काम गर्ने ।

– गोंगबुस्थित बसपार्कलाई सहरबाहिर सार्ने । हालको बसपार्कलाई लोकल बस पार्क बनाउने ।

– साना सवारीसाधन विस्थापित गरेर लामा तथा २ तले सवारीसाधन चलाउने ।

– सवारी साधनको टाइमिङ मिलाउने । जस्तै : स्कुलको बस ९ बजे, कार्यालयको बस १० बजे, गैरसरकारी संस्थाका बस १२ बजे, निर्माण सामग्रीका साधन राति १० बजेदेखि बिहान ४ बजेसम्म आदि ।

– कार्यालयका साधनमा सिट क्षमता पूरा गरेर मात्र कर्मचारीलाई ल्याउने र पुर्याउने ।

– आफ्नै वडाका स्कुलमा विद्यार्थीलाई भर्ना गर्नुपर्ने ।

– हरेक चोकमा ६० सेकेन्डको रातो बत्ती र हरियो बत्ती बल्ने स्वचालित बत्ती जडान गर्ने ।

– लेन अनुशासनमा कडाइ गर्ने ।

– सिसिटिभीमार्फत सवारीसाधनको गल्ती पत्ता लगाएर जरिवाना गर्ने ।

– ससाना दुर्घटना भएमा उक्त ठाउँमा भीड नगराउने । सम्बन्धित साधनलाई चौकीमा पुर्याएर त्यहीँ छलफल गर्ने ।

– खोलाका किनारका सडक चौडा बनाउने ।

– सःशुल्क बाटा खोल्ने ।

– नयाँ सवारीसाधन खरिद आवश्यकताअनुसार मात्र गर्ने ।

– महानगरका हरेक स्थान र सेवालाई प्रविधिमैत्री बनाउने ।

३. फोहोर व्यवस्थापन :

– हरेक २०० मिटरमा स्मार्ट शौचालय राख्ने ।

– प्रत्येक टोलमा संकलित फोहोरलाई त्यही दिन उठाउने ।

– दीर्घकालीन र पायक पर्ने धेरैवटा डम्पिङ साइटको व्यवस्था गर्ने ।

– ढललाई खोलामा एक्जिट नदिने । ढललाई डम्पिङ साइटमा पुर्याउने व्यवस्था गर्ने ।

– प्लास्टिक प्रतिबन्ध गर्ने ।

– फोहोर उठाउन हड्ताल गरेमा अत्यावश्यक कानून लगाएर कारबाही गर्ने ।

– कौसी खेती, करेसा खेती अनिवार्य गरेर कुहिने मलको त्यहीँ सदुपयोग गर्ने ।

४. सडक व्यवस्थापन :

– हरेक सडकमा गुणस्तरीय पिच गर्ने । पिच गर्ने कम्पनीलाई घटीमा १० वर्षको वारेन्टी गर्ने । कुनै ठाउँमा खाल्डो भएमा वा सडक भत्किएमा उक्त कम्पनीले तुरुन्त मर्मत गर्नुपर्ने व्यवस्था मिलाउने, यसका लागि टोल फ्री नम्बर नागरिकलाई उपलब्ध गराउने ।

– सडक, ढल, खानेपानी, दूरसञ्चार, विद्युत आदिको एकीकृत टिम बनाएर त्यही दिन बाटो खन्ने, त्यही दिन एकीकृत काम गर्ने र त्यही दिन बाटो पिच गर्ने व्यवस्था मिलाउने ।

– जेब्रा क्रसिङ, लेन लाइन, सडकबत्ती, संकेत चिह्नलगायत स्पष्ट गर्ने ।

– साइकल लेन तथा सम्भव ठाउँमा मोटरसाइकल लेन बनाउने ।

– सडक सिधा गर्ने ठाउँमा बाधा भएका ठाउँमा क्षतिपूर्ति दिएर सडक सिधा र फराकिला बनाउने ।

– हरेक वडामा बहुतले वा अन्डरग्राउण्ड पार्किङ निर्माण गर्ने ।

– ब्रुमर तथा महानगरका कर्मचारीले सडक सफा नियमित गराउने ।

५. हरेक वडामा सुविधासम्पन्न र स्वास्थ्य बिमा भएको नगर अस्पताल निर्माण गर्ने । सम्भव भएका टोलमा योग, ध्यान, भजन, प्रार्थना आदि सञ्चालन हुने आरोग्य केन्द्र स्थापना गर्ने । जडीबुटीको उत्पादन, प्रशोधन तथा बजारीकरणलाई प्राथमिकता दिने ।

६. हरेक वडामा १२ कक्षासम्म निःशुल्क अध्ययन गर्ने गुणस्तरीय नगर शिक्षालय तथा सीप केन्द्रको स्थापना गर्ने । सीप केन्द्रमा कार्पेन्टर, सिलाइ, प्लम्बिङ, वायरिंग,ड्राइभिङ, बुट्टा बनाउने, थांका बनाउने आदि प्रशिक्षण दिने ।

७. हरेक वडामा रोजगार बैंक स्थापना गर्ने, उक्त बैंकबाट रोजगारी दिने संस्था र रोजगारी खोज्ने नागरिकलाई समन्वय गर्ने ।

८. हरेक वडामा स्तरीय पुस्तकालय बनाउने ।

९. हरेक वडाका सार्वजनिक ठाउँ, गुठीको जग्गा, मैदान आदिमा पार्क बनाउने, पार्क वातावरणमैत्री बनाउने, सहरका ठूला ठाउँ, जंगल आदिमा विशाल पार्क बनाउने ।

१०. आकासको पानी संकलन केन्द्र, ठूला पोखरी निर्माण, खोलामा बाँध बाँधेर पानी संकलन आदिलाई प्राथमिकता दिएर पानी संकलन गर्ने ।

११. खानेपानीको समस्या समाधान गर्नका लागि मेलम्चीबाहेक स्थानीय तथा नजिकको मुहानबाट थप खानेपानी आयोजना निर्माण गर्ने । वितरण पारदर्शी र नियमित गर्ने ।

१२. टेलिफोन, केवल, बिजुली आदिका तारलाई एकीकृतरुपमा एउटा पाइपमा राखेर भूमिगत गर्ने । कुनै कम्पनीले यो संयन्त्रको स्वीकृति बिना तार राख्न नपाउने ।

१३. यातायात, खानेपानी, टेलिफोन, मालपोत, कर आदि तिर्ने प्रयोजनका लागि डिजिटल कारोबार गर्ने । सेवाग्राहीलाई टाइम कार्ड उपलब्ध गराएर सुविधा दिने ।

१४. उपत्यकाका डाँडाकाँडामा डोजर लगाएर प्लटिङ गर्ने काम रोक्ने । हरिया डाँडामा थप वृक्षरोपण गर्ने । काठमाडौँका डाँडाका बस्तीलाई गाउँको मोडेलमा विकास गर्ने ।

१५. नगर विकास समितिले मात्र प्लटिङ गर्ने व्यवस्था गर्ने । दलाल प्रथा अन्त्य गर्ने ।

१६. सहर २४ घण्टा खुला राख्ने । हरेक बस, सडक तथा टोलमा सिसिटिभी क्यामेरा तथा सुरक्षाकर्मी राखेर सुरक्षित सहरको रुपमा विकास गर्ने ।

१७. विश्व सम्पदा सूचीमा परेका स्थानलाई थप सुन्दर बनाउने, पारम्परिक बनाउने, सम्भावित ठाउँलाई मापदण्ड पूरा गरेर विश्व सम्पदा सूचीमा दर्ता गराउन पहल गर्ने ।

१८. नजिकका सम्पदा क्षेत्रलाई जोड्ने गरी सम्पदा मार्ग बनाउने ।

१९. विश्वसम्पदाको १ किलोमिटर वरपर सम्पदा क्षेत्र बस्ती घोषणा गरेर त्यहाँका भित्री बस्तीमा पर्यटक मार्ग बनाउने ।

२०. एक वडा एक पर्यटन केन्द्र बनाउने ।

२१. हरेक वडामा सुविधासम्पन्न तरकारी तथा फलफूल बजारको स्थापना गर्ने । उक्त केन्द्रलाई स्थानीयको उत्पादन किन्ने तथा उपभोक्तालाई बिक्री गर्ने व्यवस्था मिलाउने । यस किसिमका खाधान्न बजार पनि स्थापना गर्ने ।

२२. महंगी, कालोबजारी तथा खाधान्नमा मिसावट नियन्त्रण गर्न नियमितरुपमा अनुगमन गर्ने । निम्न आय भएका व्यक्तिलाई विशेष छुटका लागि रासन कार्ड प्रदान गर्ने ।

२३. सकभर आफ्नो देशको खाधान्न, फलफूल, तराकारी, दूध, मासुको प्रयोग गर्ने ।

२४. उपत्यकाका मठ, मन्दिर, गुठी, जात्रा तथा सांस्कृतिक महत्वका स्थानलाई सुन्दर बनाउने ।

२५. सडकका हरेक घरमा रङरोगन अनिवार्य गर्नुपर्ने, मौलिक कला झल्किने झ्याल राख्ने तथा हरेक वडामा एकै रङ लगाएर सहर सुन्दर र एकरूप बनाउने ।

२६. निर्माण गर्दा अनिवार्यरुपमा छोपेर मात्र निर्माण गर्ने तथा निश्चित अवधिमा सक्नुपर्ने व्यवस्था मिलाउने ।

२७. बस्तीका पेट्रोल पम्प स्थानान्तरण गर्ने ।

२८. महानगरलाई ३ महिना पुग्नेगरी इन्धनको स्टक राख्न ठूला डिपो निर्माण गर्ने ।

२९. निर्माण सामग्री सडकमा राख्न नपाउने व्यवस्था गर्ने ।

३०. हरेक कार्यालयमा नागरिक बडापत्रअनुसार काम अनिवार्य सक्ने व्यवस्था मिलाउने ।

३१. क्यासिनो, डान्सबार, क्लबलगायत रात्रिकालीन व्यवसायलाई सुरक्षित, मर्यादित तथा सुविधाजनक बनाउने ।

३२. काठमाडौँका पुराना बस्ती, पर्यटक केन्द्र (असन, इन्द्रचोक, ठमेललगायत) का सडकमा इँट्टा वा ढुंगा छापेर पैदल हिँड्ने बनाउने ।

३३. पुराना बस्तीका घरलाई प्राविधिक जांच गरेर रेट्रोफिटिङ गर्ने, भूकम्प आएमा बस्ने सुरक्षित स्थानको ग्यारेन्टी गर्ने ।

३४. काठमाडौँको सांस्कृतिक पक्ष, नेवारी खाना आदिलाई ब्राण्डिङ गर्ने, प्राचिन बाजा, माटोका भाँडा, सुकुल, मुकुण्डो, वेशभूषा आदिलाई थप ब्राण्डिङ गर्ने ।

३५. वातावरण, संस्कृति, नैतिक शिक्षा तथा स्थानीय संस्कृतिलाई पाठ्यक्रममा समावेश गर्ने ।

३६. सबै बस्तीको पहुँचमा एम्बुलेन्स, दमकल आदिको व्यस्था गर्ने ।

३७. पुराना ट्याक्सीलाई विस्थापित गरेर सुविधासम्पन्न अन्तर्राष्ट्रिय गुणस्तरका ट्याक्सी चलाउने ।

३८. पर्यटकको बसाइ लम्ब्याउन सांस्कृतिक नगर, होम स्टे आदिको विकास गर्ने ।

३९. हरेक वडामा काम गर्दा क्यालेन्डरअनुसार गर्ने । यसो गर्दा एकातर्फ बजेट फ्रिज हुँदैन भने अर्कोतर्फ बजेट सक्ने भनेर अन्तिम घन्टामा गुणस्तरहीन काम हुँदैन ।

४०. आठ लेनको चक्रपथ पूरा गराउने । बाहिरी चक्रपथको निर्माण कार्य तत्काल सुरु गर्ने ।

यी र यस्तै स्थानअनुसारका काम गर्ने, भ्रष्टाचार नगर्ने, ढिलासुस्ती नगर्ने, पक्षपात नगर्ने तथा जनताको सेवामा २४ सै घण्टा समर्पित हुनेछु भनेर हरेक उम्मेदवारलाई औँठाछाप र हस्ताक्षर गराएर मात्र मतदान गर्नु र त्यसको फलोअप गर्नु हामी मतदाताको कर्तव्य तथा अधिकार हो ।