• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

काठमाडौँ मतदाताका तर्फबाट जनस्वास्थ्यविद रवीन्द्र समीरको ४० बुँदे घोषणापत्र



काठमाडौँ । अहिले मुलुकका प्राय सबै राजनीतिक दल स्थानीय तहको निर्वाचनमा होमिएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा (एमाले), केही अन्य साना राजनीतिक दलबाट उम्मेदवारी दिनुका साथै केहीले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन् ।

प्रमुख राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी प्रतिबद्धतापत्र, घोषणापत्र र संकल्पपत्र जारी गरिसकेका छन् । अझ पार्टीका तर्फबाट विभिन्न पालिकामा उम्मेदवारी दिएका उम्मेदवारले समेत पालिकास्तरमा गर्न सकिने कामको विवरण उल्लेख गर्दै यस्तै घोषणापत्र जारी गरेका छन् ।

स्थानीय तहमध्ये पनि काठमाडौँ महानगरपालिकाको निर्वाचनलाई विशेष मानिन्छ । यो मुलुकको सबैभन्दा ठूलो महानगरपालिका मात्र नभई मुलकको केन्द्रीय राजधानीसमेत रहेको महानगरपालिका हो । त्यसैले यहाँ निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने ठानिएको छ ।

काठमाडौँ महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट सिर्जना सिंह, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बाट केशव स्थापित, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मदनदास श्रेष्ठ, विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटा र स्वतन्त्ररुपमा बालेन्द्र (बालेन) साह उम्मेदवार हुनुहुन्छ ।

सबै उम्मेदवारले काठमाडौँ महानगरपालिकाको विकासमा गर्न सकिने खाका प्रस्तुत गर्नुभएको छ । तर काठमाडौँका मतदाताको तर्फबाट जनस्वास्थ्यविद डा रवीन्द्र समीरले ४० बुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको छ । हेरौँ उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको घोषणापत्रको विवरण :

काठमाडौँका मतदाताको ४० बुंदे घोषणापत्र : रवीन्द्र समीर

१. प्रदुषण नियन्त्रण :

काठमाडौँ विश्वकै प्रदूषित सहरमा पर्दछ । सानातिना काममा लापरवाही गर्नाले तथा कुनै पनि पक्षले जिम्मेवार अनुभूत नगरेको हुँदा काठमाडौँ बस्न नमिल्ने सहर बनिरहेको छ । मानव स्वास्थ्यमा तथा पर्यटन आवागमनमा प्रदूषण सबैभन्दा घातकसिद्ध हुँदैछ । प्रदूषण नियन्त्रण गर्नका लागि न्यूनतमरुपमा निम्न काम गर्नु जरुरी छ ।

– हरेक घर, टोल, खाली ठाउँ, कार्यालय, विद्यालय र कलेज तथा सडकको दुवैपट्टि व्यापकरुपमा वृक्षरोपण गरेर काठमाडौँलाई जंगलको सहर बनाउने ।

– भित्री तथा बाहिरी सडक छेउदेखि कुनासम्म गुणस्तरीय पिच गरेर धुलोको स्रोत बन्द गर्ने ।

– पुराना सवारीसाधन विस्थापित गर्ने ।

– ट्राफिक प्रहरीले मापसे चेक गरेझैँ सवारीको प्रदूषण चेक गर्ने । धुवाँ फ्याँक्ने साधनलाई तत्काल नियन्त्रणमा लिने । प्रदूषण गर्ने साधनलाई जरिवाना तिराएर सर्भिसिङ गर्न लगाउने । अवस्था ठिक भएपछि मात्र सहरमा गुड्न दिने ।

– उपत्यका भित्रिने बाहिरका गाडीलाई नाकामा धोएर मात्र प्रवेश गर्न दिने ।

– प्लास्टिक, प्लास्टिकजन्य प्याकेट आदिमा प्रतिबन्ध लगाउने ।

– मुख्य तथा भित्री सडकमा बिहान ६ बजेभित्र बढारेर सक्ने ।

– उपत्याकका इँट्टाभट्टालगायत प्रदूषण गर्ने कारखानालाई उपत्यका बाहिर विस्थापित गर्ने ।

– काठमाडौँमा हावा छिर्ने धादिङ, नुवाकोटलगायतका स्थानको प्रदूषण रोक्ने ।

– काठमाडौँको प्रदूषण बाहिर पठाउनका लागि शिवपुरी, भक्तपुर, भैँसेपाटीलगायतका ठाउँमा सुरुङ बनाउने ।

– हरेक १०० मिटरमा फोहोर संकलन गर्ने चोयाका डस्टबिन राख्ने ।

– कुहिने र नकुहिने फोहोर छुट्याएर मल कारखाना र डम्पिङ साइटमा वडा÷वडाबाट त्यही दिन पुर्याउने ।

– काठमाडौँका खोलामा फोहोर शून्य रणनीति लागु गर्ने ।

– हर्न तथा अन्य आवाजजन्य प्रदूषण न्यून गर्ने ।

– सबै कार्यालय तथा व्यक्तिगत सवारीको साधन विद्युतीय अनिवार्य गर्दै जाने

२. ट्राफिक व्यवस्थापन :

ट्राफिक जाम काठमाडौँको ठूलो समस्या बनेको छ । यसको व्यवस्थापन गर्नका लागि निम्नलिखित काम गर्ने ।

– गोंगबुस्थित बसपार्कलाई सहरबाहिर सार्ने । हालको बसपार्कलाई लोकल बस पार्क बनाउने ।

– साना सवारीसाधन विस्थापित गरेर लामा तथा २ तले सवारीसाधन चलाउने ।

– सवारी साधनको टाइमिङ मिलाउने । जस्तै : स्कुलको बस ९ बजे, कार्यालयको बस १० बजे, गैरसरकारी संस्थाका बस १२ बजे, निर्माण सामग्रीका साधन राति १० बजेदेखि बिहान ४ बजेसम्म आदि ।

– कार्यालयका साधनमा सिट क्षमता पूरा गरेर मात्र कर्मचारीलाई ल्याउने र पुर्याउने ।

– आफ्नै वडाका स्कुलमा विद्यार्थीलाई भर्ना गर्नुपर्ने ।

– हरेक चोकमा ६० सेकेन्डको रातो बत्ती र हरियो बत्ती बल्ने स्वचालित बत्ती जडान गर्ने ।

– लेन अनुशासनमा कडाइ गर्ने ।

– सिसिटिभीमार्फत सवारीसाधनको गल्ती पत्ता लगाएर जरिवाना गर्ने ।

– ससाना दुर्घटना भएमा उक्त ठाउँमा भीड नगराउने । सम्बन्धित साधनलाई चौकीमा पुर्याएर त्यहीँ छलफल गर्ने ।

– खोलाका किनारका सडक चौडा बनाउने ।

– सःशुल्क बाटा खोल्ने ।

– नयाँ सवारीसाधन खरिद आवश्यकताअनुसार मात्र गर्ने ।

– महानगरका हरेक स्थान र सेवालाई प्रविधिमैत्री बनाउने ।

३. फोहोर व्यवस्थापन :

– हरेक २०० मिटरमा स्मार्ट शौचालय राख्ने ।

– प्रत्येक टोलमा संकलित फोहोरलाई त्यही दिन उठाउने ।

– दीर्घकालीन र पायक पर्ने धेरैवटा डम्पिङ साइटको व्यवस्था गर्ने ।

– ढललाई खोलामा एक्जिट नदिने । ढललाई डम्पिङ साइटमा पुर्याउने व्यवस्था गर्ने ।

– प्लास्टिक प्रतिबन्ध गर्ने ।

– फोहोर उठाउन हड्ताल गरेमा अत्यावश्यक कानून लगाएर कारबाही गर्ने ।

– कौसी खेती, करेसा खेती अनिवार्य गरेर कुहिने मलको त्यहीँ सदुपयोग गर्ने ।

४. सडक व्यवस्थापन :

– हरेक सडकमा गुणस्तरीय पिच गर्ने । पिच गर्ने कम्पनीलाई घटीमा १० वर्षको वारेन्टी गर्ने । कुनै ठाउँमा खाल्डो भएमा वा सडक भत्किएमा उक्त कम्पनीले तुरुन्त मर्मत गर्नुपर्ने व्यवस्था मिलाउने, यसका लागि टोल फ्री नम्बर नागरिकलाई उपलब्ध गराउने ।

– सडक, ढल, खानेपानी, दूरसञ्चार, विद्युत आदिको एकीकृत टिम बनाएर त्यही दिन बाटो खन्ने, त्यही दिन एकीकृत काम गर्ने र त्यही दिन बाटो पिच गर्ने व्यवस्था मिलाउने ।

– जेब्रा क्रसिङ, लेन लाइन, सडकबत्ती, संकेत चिह्नलगायत स्पष्ट गर्ने ।

– साइकल लेन तथा सम्भव ठाउँमा मोटरसाइकल लेन बनाउने ।

– सडक सिधा गर्ने ठाउँमा बाधा भएका ठाउँमा क्षतिपूर्ति दिएर सडक सिधा र फराकिला बनाउने ।

– हरेक वडामा बहुतले वा अन्डरग्राउण्ड पार्किङ निर्माण गर्ने ।

– ब्रुमर तथा महानगरका कर्मचारीले सडक सफा नियमित गराउने ।

५. हरेक वडामा सुविधासम्पन्न र स्वास्थ्य बिमा भएको नगर अस्पताल निर्माण गर्ने । सम्भव भएका टोलमा योग, ध्यान, भजन, प्रार्थना आदि सञ्चालन हुने आरोग्य केन्द्र स्थापना गर्ने । जडीबुटीको उत्पादन, प्रशोधन तथा बजारीकरणलाई प्राथमिकता दिने ।

६. हरेक वडामा १२ कक्षासम्म निःशुल्क अध्ययन गर्ने गुणस्तरीय नगर शिक्षालय तथा सीप केन्द्रको स्थापना गर्ने । सीप केन्द्रमा कार्पेन्टर, सिलाइ, प्लम्बिङ, वायरिंग,ड्राइभिङ, बुट्टा बनाउने, थांका बनाउने आदि प्रशिक्षण दिने ।

७. हरेक वडामा रोजगार बैंक स्थापना गर्ने, उक्त बैंकबाट रोजगारी दिने संस्था र रोजगारी खोज्ने नागरिकलाई समन्वय गर्ने ।

८. हरेक वडामा स्तरीय पुस्तकालय बनाउने ।

९. हरेक वडाका सार्वजनिक ठाउँ, गुठीको जग्गा, मैदान आदिमा पार्क बनाउने, पार्क वातावरणमैत्री बनाउने, सहरका ठूला ठाउँ, जंगल आदिमा विशाल पार्क बनाउने ।

१०. आकासको पानी संकलन केन्द्र, ठूला पोखरी निर्माण, खोलामा बाँध बाँधेर पानी संकलन आदिलाई प्राथमिकता दिएर पानी संकलन गर्ने ।

११. खानेपानीको समस्या समाधान गर्नका लागि मेलम्चीबाहेक स्थानीय तथा नजिकको मुहानबाट थप खानेपानी आयोजना निर्माण गर्ने । वितरण पारदर्शी र नियमित गर्ने ।

१२. टेलिफोन, केवल, बिजुली आदिका तारलाई एकीकृतरुपमा एउटा पाइपमा राखेर भूमिगत गर्ने । कुनै कम्पनीले यो संयन्त्रको स्वीकृति बिना तार राख्न नपाउने ।

१३. यातायात, खानेपानी, टेलिफोन, मालपोत, कर आदि तिर्ने प्रयोजनका लागि डिजिटल कारोबार गर्ने । सेवाग्राहीलाई टाइम कार्ड उपलब्ध गराएर सुविधा दिने ।

१४. उपत्यकाका डाँडाकाँडामा डोजर लगाएर प्लटिङ गर्ने काम रोक्ने । हरिया डाँडामा थप वृक्षरोपण गर्ने । काठमाडौँका डाँडाका बस्तीलाई गाउँको मोडेलमा विकास गर्ने ।

१५. नगर विकास समितिले मात्र प्लटिङ गर्ने व्यवस्था गर्ने । दलाल प्रथा अन्त्य गर्ने ।

१६. सहर २४ घण्टा खुला राख्ने । हरेक बस, सडक तथा टोलमा सिसिटिभी क्यामेरा तथा सुरक्षाकर्मी राखेर सुरक्षित सहरको रुपमा विकास गर्ने ।

१७. विश्व सम्पदा सूचीमा परेका स्थानलाई थप सुन्दर बनाउने, पारम्परिक बनाउने, सम्भावित ठाउँलाई मापदण्ड पूरा गरेर विश्व सम्पदा सूचीमा दर्ता गराउन पहल गर्ने ।

१८. नजिकका सम्पदा क्षेत्रलाई जोड्ने गरी सम्पदा मार्ग बनाउने ।

१९. विश्वसम्पदाको १ किलोमिटर वरपर सम्पदा क्षेत्र बस्ती घोषणा गरेर त्यहाँका भित्री बस्तीमा पर्यटक मार्ग बनाउने ।

२०. एक वडा एक पर्यटन केन्द्र बनाउने ।

२१. हरेक वडामा सुविधासम्पन्न तरकारी तथा फलफूल बजारको स्थापना गर्ने । उक्त केन्द्रलाई स्थानीयको उत्पादन किन्ने तथा उपभोक्तालाई बिक्री गर्ने व्यवस्था मिलाउने । यस किसिमका खाधान्न बजार पनि स्थापना गर्ने ।

२२. महंगी, कालोबजारी तथा खाधान्नमा मिसावट नियन्त्रण गर्न नियमितरुपमा अनुगमन गर्ने । निम्न आय भएका व्यक्तिलाई विशेष छुटका लागि रासन कार्ड प्रदान गर्ने ।

२३. सकभर आफ्नो देशको खाधान्न, फलफूल, तराकारी, दूध, मासुको प्रयोग गर्ने ।

२४. उपत्यकाका मठ, मन्दिर, गुठी, जात्रा तथा सांस्कृतिक महत्वका स्थानलाई सुन्दर बनाउने ।

२५. सडकका हरेक घरमा रङरोगन अनिवार्य गर्नुपर्ने, मौलिक कला झल्किने झ्याल राख्ने तथा हरेक वडामा एकै रङ लगाएर सहर सुन्दर र एकरूप बनाउने ।

२६. निर्माण गर्दा अनिवार्यरुपमा छोपेर मात्र निर्माण गर्ने तथा निश्चित अवधिमा सक्नुपर्ने व्यवस्था मिलाउने ।

२७. बस्तीका पेट्रोल पम्प स्थानान्तरण गर्ने ।

२८. महानगरलाई ३ महिना पुग्नेगरी इन्धनको स्टक राख्न ठूला डिपो निर्माण गर्ने ।

२९. निर्माण सामग्री सडकमा राख्न नपाउने व्यवस्था गर्ने ।

३०. हरेक कार्यालयमा नागरिक बडापत्रअनुसार काम अनिवार्य सक्ने व्यवस्था मिलाउने ।

३१. क्यासिनो, डान्सबार, क्लबलगायत रात्रिकालीन व्यवसायलाई सुरक्षित, मर्यादित तथा सुविधाजनक बनाउने ।

३२. काठमाडौँका पुराना बस्ती, पर्यटक केन्द्र (असन, इन्द्रचोक, ठमेललगायत) का सडकमा इँट्टा वा ढुंगा छापेर पैदल हिँड्ने बनाउने ।

३३. पुराना बस्तीका घरलाई प्राविधिक जांच गरेर रेट्रोफिटिङ गर्ने, भूकम्प आएमा बस्ने सुरक्षित स्थानको ग्यारेन्टी गर्ने ।

३४. काठमाडौँको सांस्कृतिक पक्ष, नेवारी खाना आदिलाई ब्राण्डिङ गर्ने, प्राचिन बाजा, माटोका भाँडा, सुकुल, मुकुण्डो, वेशभूषा आदिलाई थप ब्राण्डिङ गर्ने ।

३५. वातावरण, संस्कृति, नैतिक शिक्षा तथा स्थानीय संस्कृतिलाई पाठ्यक्रममा समावेश गर्ने ।

३६. सबै बस्तीको पहुँचमा एम्बुलेन्स, दमकल आदिको व्यस्था गर्ने ।

३७. पुराना ट्याक्सीलाई विस्थापित गरेर सुविधासम्पन्न अन्तर्राष्ट्रिय गुणस्तरका ट्याक्सी चलाउने ।

३८. पर्यटकको बसाइ लम्ब्याउन सांस्कृतिक नगर, होम स्टे आदिको विकास गर्ने ।

३९. हरेक वडामा काम गर्दा क्यालेन्डरअनुसार गर्ने । यसो गर्दा एकातर्फ बजेट फ्रिज हुँदैन भने अर्कोतर्फ बजेट सक्ने भनेर अन्तिम घन्टामा गुणस्तरहीन काम हुँदैन ।

४०. आठ लेनको चक्रपथ पूरा गराउने । बाहिरी चक्रपथको निर्माण कार्य तत्काल सुरु गर्ने ।

यी र यस्तै स्थानअनुसारका काम गर्ने, भ्रष्टाचार नगर्ने, ढिलासुस्ती नगर्ने, पक्षपात नगर्ने तथा जनताको सेवामा २४ सै घण्टा समर्पित हुनेछु भनेर हरेक उम्मेदवारलाई औँठाछाप र हस्ताक्षर गराएर मात्र मतदान गर्नु र त्यसको फलोअप गर्नु हामी मतदाताको कर्तव्य तथा अधिकार हो ।