काठमाडौँ: एकाउन्टविलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणमा छनोट भएका पाँच जना इन्टेग्रिटी आइकनको नाम सार्वजनिक भएको छ। यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट ३४९ वटा मनोनयन प्राप्त भएका थिए। प्राप्त मनोनयनहरूबाट विभिन्न छनोट प्रक्रिया पूरा गरेर निर्णायक समितिले यस वर्षका लागि पाँच जना इन्टेग्रिटी आइकन छनोट गरेका हुन्।
निर्णायक समितिमा सुशासनविद् सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, नेपाल सरकारका भूतपूर्व सचिव द्बय पुण्य प्रसाद न्यौपाने र जीवनप्रभा लामा, प्राध्यापक तथा सुशासनविद् डा. सुचेता प्याकुरेल, र इन्टेग्रिटी आइकन २०१५ प्रदीपराज कणेल रहनुभएको थियो l
निर्णायक समितिले गर्ने छनौट प्रक्रियालाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि तथ्य संकलन, व्यवस्थापन र विश्लेषण गर्न निर्णायक उप-समिति र एकाउन्टविलिटी ल्याबको सचिवालयले पुरा एकवर्ष लगाएर काम गरेको थियो।
छनोट भएका पाँचै जनालाई यहीँ आउँदो माघ ८ गते मंगलबारका दिन एक समारोह आयोजना गरी सम्मान गरिनेछ। इन्टेग्रिटी आइकन २०२४ का लागि छनोट भएका व्यक्तित्वहरूको संक्षिप्त विवरण यस प्रकार रहेको छ।
१. सर्मिला सुवेदी, जन स्वास्थ्य निरिक्षक, आधारभुत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्ज – ११
हाल आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जमा सार्वजनिक स्वास्थ्य निरीक्षकका रूपमा कार्यरत सर्मिला सुवेदीले २०६६ सालमा सरकारी सेवामा प्रवेश गरेकी हुन्। बर्दिया जिल्ला अस्पताल, गुलरियाबाट सेवा सुरु गरेकी उनले जैसपुर स्वास्थ्य केन्द्र र परसपुर स्वास्थ्य केन्द्र नेपालगन्ज र मण्डनदेउपुर, काभ्रेपलाञ्चोकमा पनि काम गरेकी छिन्। विशेषगरी, स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन र स्वास्थ्य सेवाप्रति अनभिज्ञ सेवाग्राहीलाई विश्वास दिलाउन उनको ठूलो योगदान छ।
घरदैलोमै पुगेर मुस्लिम समुदायका महिलाहरूलाई स्वास्थ्य संस्थामा आउने वातावरण बनाउने होस्, धामी-झाँक्रीको विश्वासमा रहेको समुदायलाई स्वास्थ्य सेवाको महत्त्व बुझाउने होस्, वा समुदायको पहुँचभन्दा टाढा रहेको स्वास्थ्य संस्थाको भवन सबैको पहुँचमा हुने गरी सार्न पहल गर्ने होस् – सर्मिला सुवेदीले यी सबै कार्यहरूमा अग्रणी भूमिका निर्वाह गरेकी छिन्। स्वास्थ्य सेवा बाहेक अन्य समस्याहरूमा पनि उनी समुदायका दिदीबहिनीहरूको भरोसा बनेकी छिन्। सुवेदीको काम र व्यवहारले सेवाग्राहीहरूलाई उनिप्रति मात्र होइन, स्वास्थ्य केन्द्रप्रति पनि विश्वास दिलाएको छ। यस कारण, पहिले स्वास्थ्य केन्द्रप्रति विश्वास नभएका सेवाग्राहीहरू अहिले कुनै समस्या पर्दा सबैभन्दा पहिले स्वास्थ्य केन्द्रमै आउने र अत्यावश्यक परे मात्र अन्यत्र जाने गरेकाछन्।
२. बोधराज पाठक, शिक्षा अधिकृत, बेनिघाट रोराङ गाउँपालिका, धादिङ
एउटा मात्र होइन, सिंगो पालिकाभरिका ५९ वटै विद्यालयको गुणस्तर वृद्धि एक व्यक्तिको सोच र अग्रसरताले पनि सम्भव छ भन्ने उदाहरण हुन् बेनिघाट रोराङ गाउँपालिका, धादिङका शिक्षा अधिकृत बोधराज पाठक । यसका लागि उनले शैक्षिक गुणस्तर वृद्धि गर्न ८८ बुँदे मार्गचित्र तयार गरी लागू गरे l नजिकैका विद्यालयहरूले एक अर्काको अनुभव र अभ्यास सिक्न सकून् भनेर २०७७ सालमा “Leadership School” को अवधारणा ल्याएर लागू गरे। कुनै विद्यालयमा शिक्षकको अभाव हुँदा २४ घन्टाभित्रै सम्बन्धित विद्यालयमा शिक्षकको आपूर्ति गर्न “शिक्षक बैंक” को अवधारणा अघि सारेर लागू गरे। यसले गर्दा कुनै पनि विद्यालयमा शिक्षकको अभावले विद्यार्थीको पढाइ रोकिएको छैन।
विद्यालयहरूमा सुशासन कायम गर्न र त्यहाँको अवस्था मापन गर्न ६७ वटा सूचक समावेश गरिएको विद्यालय स्वमूल्यांकन औजार निर्माण गरी लागू गरेका छन्। राम्रो नतिजा ल्याउने विद्यार्थी, शिक्षक, र विद्यालयलाई प्रोत्साहन गर्न हरेक वर्ष शिक्षा दिवसको दिन पालिकाको तर्फबाट सम्मानको व्यवस्था गरिएको छ। एक अर्काको अभ्यास सिक्न, सिकाउन, र सहकार्यलाई बढावा दिन उनले “Teacher Exchange” कार्यक्रम पनि लागू गरेका छन्। यी सबै योजनाहरू ल्याउँदा र लागू गर्दा उनले सम्पूर्ण सरोकारवालाहरूलाई सहभागी गराएका छन्। यसले गर्दा सबैमा अपनत्वको भावना बढेको छ र हरेक अभ्यास कार्यान्वयन गर्न सहज भएको छ।
३. मनपुरण चौधरी, शाखा अधिकृत, हात्ती प्रजनन तथा तालिम केन्द्र, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, चितवन
मनपुरण चौधरी चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रका शाखा अधिकृत हुन् ।उनी त्यहाँ ५५ वटा हात्तीहरूको हेरचाहमा खटिएका १५५ जना कर्मचारीको नेतृत्व गरिरहेका छन्।। चार वर्षअघि उनी सो केन्द्रमा आएदेखि सबैमा उत्साह छाएको छ । त्यहाँका जंगलमा अन्य जंगली जनावरको अप्रत्यासित आक्रमण हुँदा, उनी अग्रपंक्तिमा उभिएर संरक्षण प्रदान गर्दछन र जोखिमबाट जोगिन कुशल तालिम दिन्छन्। भर्खर जन्मिएका हात्तीका छावा र आमाहरूले राम्रो स्याहार पाएका छन्। हुर्किँदै जाँदा कठिन तालिम लिनुपर्ने हात्तीका छावाहरूले सरल र दक्ष तालिम पाएका छन्। यसले गर्दा तालिमकै क्रममा कर्मचारी र हात्ती स्वयम्तर्फ हुन सक्ने मृत्युदर शून्य भएको छ।
हात्तीलाई तालिम दिने काम त्यति सजिलो हुँदैन। त्यहाँ उपलब्ध स्रोत साधनका कारण कहिलेकाहीँ वर्षमा दुईवटा हात्तीलाई पनि तालिम दिन गाह्रो हुन्छ। तर, मनपुरण वर्षमा १० वटासम्म हात्तीलाई कुशलतापूर्वक तालिम दिन सफल भएका छन्। त्यति मात्र नभई, नेपालभर कतै तालिममा कठिनाई भएमा पनि मनपुरणलाई नै त्यहाँ पुग्नुपर्ने हुन्छ। समग्रमा, मनपुरण दक्ष सिप, असल मानवीय व्यवहार, र कुशल नेतृत्व भएका असल राष्ट्रसेवक हुन्।
४. मीरा कुमारी यादव, प. हे. न. अधिकृत, जिल्ला स्वास्थ्य कार्यालय, पर्सा
पेशामा सेवाभाव हुने हो भने जुनसुकै भौगोलिक तथा सामाजिक वातावरणमा पनि उत्कृष्ट सेवा दिन सकिन्छ भन्ने उदाहरण मिरा कुमारी यादव हुन्। मधेशबाट दोलखा जस्तो पहाडी भूभागमा काम गर्दा भूगोल र समाज उनका लागि बाधक बनेन। दोलखामा, उनले पाठेघर खस्ने समस्या भएका महिलाहरूका लागि शिविर सञ्चालन मात्र गरिनन्, स्वास्थ्य संस्थासम्म पुग्न नसक्नेहरूलाई बोकेरै स्वास्थ्य सेवासम्म पुर्याउने वातावरण तयार गरिन्। त्यति मात्र होइन, उनीहरूको निःशुल्क उपचारको व्यवस्था पनि गरिदिइन्।
सेवा प्रतिको समवेदना मात्र होइन, उनको सबल पक्ष भनेको जिम्मेवारी प्रतिको दायित्वबोध र सेवामा पारदर्शिता हो। उनले कहिल्यै पनि ५ बजेपछि सेवाग्राहीलाई छोडेर घर जाने हतारो गरिनन् । मध्यरातमा स्वास्थ्य सेवा आवश्यक पर्दा कहिल्यै “राति भयो” भनेर पन्छिइनन्। त्यस्तै, आज सकेको कामको रिपोर्ट र हिसाबकिताब भोलिका लागि थाँती राख्ने बानी पनि उनले कहिल्यै गरिनन्। साथसाथै, पर्सा जिल्लाका सबै बर्थिङ सेन्टरमा Skilled Birth Attendant (SBA) अनिवार्य राख्नुपर्ने अभ्यासको लागि उनले गरेको पहल र महिला स्वास्थ्यका लागि जिल्ला भरिका स्वास्थ्य संस्थाहरूसँग गरिरहेको समन्वयकारी भूमिका पनि उत्तिकै प्रशंसनीय छ।
५. मनहर कडरिया, वरिष्ठ कृषि विकास अधिकृत, पोखरा महानगरपालिका
मनहर कडरिया पोखरा आएपछि कृषि व्यवसायबाट पलायन हुने तरखरमा रहेका किसानहरू कृषि व्यवसायको दायरा बढाउन हौसिएका छन्। किसानको उत्पादनले मूल्य नपाउने समस्या समाधान गर्न त्यहाँ उत्पादित ३५ वस्तुको मूल्य निर्धारण गरिएको छ। बजारीकरणको समस्या समाधान गर्न ठाउँठाउँमा कृषि बजारहरू सञ्चालनमा ल्याइएका छन्। जेठो बुढो चामल र खुदोको बजारीकरणका लागि त ब्रान्डिङ नै गरिएको छ। किसानहरूका उत्पादनहरू निःशुल्क रूपमा संकलन गर्नेदेखि बजारीकरणका लागि “कृषि एम्बुलेन्स” कार्यान्वयनमा ल्याइएको छ।
दैनिक वस्तुको बजार मूल्य निर्धारण, कार्यक्रम माग गर्ने, र सूचना प्रवाहका लागि “पोखरा कृषि” नामक मोबाइल एप पनि सञ्चालनमा ल्याइएको छ। हरेक वडामा कुनै एक उत्पादनको व्यवसायिक उत्पादन प्रवर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने आशयका साथ महानगरपालिकाको २० वटा वडामा “एक वडा, एक उत्पादन” कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छ। यी र अन्य थुप्रै अभ्यासहरूको नेतृत्व मनहर कडरियाले गरिरहेका छन्। जसले गर्दा किसानहरू कृषि व्यवसायबाट मनग्य लाभ लिन सफल भएका छन् भने युवाहरू पनि कृषि व्यवसायप्रति आकर्षित भएका छन्।