• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

बेनी–जोमसोम सडक मर्मत धमाधम



गलेश्वर । हिमाल पारीको जिल्ला मुस्ताङ जाने एकमात्र सडक मार्ग बेनी–जोमसोम सडक धमाधम मर्मत भइहेको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्ड चौडा तथा स्तरोन्नतिका लागि दैनिक चार घण्टा सडक बन्द गरेर मर्मतलाई तीव्रता दिइएको मुस्ताङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार बुधबारदेखि वैशाख २० गतेसम्म १४ दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडकमा यातायातका साधन चल्न नदिएर मर्मत गर्न लागिएको हो । यो सडकखण्ड वैशाख २० गतेसम्म दैनिक चारघण्टा अवरुद्ध हुने भएको छ । सडकलाई चक्लाबन्दी गर्ने क्रममा ब्रेकरले चट्टान फुटाउन नसक्दा मुस्ताङको घाँसा, काभ्रेभीरलगायत ठाउँमा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले सडक बन्द गरिएको उहाँको भनाइ थियो । यसअघि जिल्ला सुरक्षा समितिको बैठकले सडक निर्माणको काममा सहजीकरण गर्न बाटो बन्द गर्ने निर्णय गरेको थियो ।

मुस्ताङ पुग्ने सोही सडकअन्तर्गत बेनी–मालढुङ्गा सडकखण्ड पनि दैनिक पाँच घण्टा बन्द गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गादेखि १३ किलोमिटर दूरीमा म्याग्दीको बेनीसम्म जोडिने साँघुरो सडकको चक्लाबन्दी र स्तरोन्नतिकाका लागि सडक बन्द गरिएको हो ।सवारीसाधन गुडिरहेको अवस्थामा सडक निर्माण गर्न समस्या हुने भएपछि निर्माण कम्पनीको अनुरोधमा पर्वत जिल्ला प्रशासन कार्यालयले बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि सडक बन्द गरेर काम गर्न अनुमति दिएको थियो ।

पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ आउजाउ गर्ने सवारी साधनको चाप बढ्दा सडकमा काम गर्न समस्या भएपछि सडक अवरुद्ध गरेर मर्मत गर्नुपरेको सहायक प्रजिअ ढकालले बताउनुभयो । बेनी–मालढुङ्गा सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने भएको छ तर मुस्ताङमा बन्द गरिएको सडकको वैकल्पिक सडक नभएका कारण म्याग्दी हुँदै मुस्ताङ जान लागेकाहरु भने म्याग्दीको माथिल्लो भागमा पुगेपछि रोकिएर बस्नुपर्ने समस्या रहेको छ ।अहिले मुस्ताङ भ्रमणमा जाने र मुस्ताङबाट फर्किने आन्तरिक पर्यटकका सवारीसाधनले बेनीदेखि भुरुङ तातोपानीसम्मको सडकमा यातायातको चाप बढाएको छ ।