४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

निर्वाचन समाचार: उम्मेदवार टुङ्गो लगाउन दौडधुप

निर्वाचन समाचार: उम्मेदवार टुङ्गो लगाउन दौडधुप
अ+ अ-

डोटी । स्थानीय तहको निर्वाचनका लागि दलहरु उम्मेदवार चयनका व्यस्त छन् । सत्ता गठबन्धन तालमेलका लागि प्रयासरत छ भने एक्लै निर्वाचनमा भाग लिन लागेको नेकपा (एमाले)ले उम्मेदवारहरू धमाधम पालिकास्तरबाटै टुङ्ग्याइरहेका छन् । एमालले आफूले जितेका जनप्रतिनिधिले पाँचवर्षे कार्यकालमा गरेका काम व्यवहार तथा जनताले रुचाएका कारण अधिकांश प्रतिनिधिलाई दोहो-याउने भएको छ ।

हालसम्म जोरायल गाउँपालिकामा अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरालाई दोहो-याउने निर्णय गरेको छ भने सायल गाउँपालिकामा पनि अध्यक्ष तेजबहादुर डुम्रेल र विष्ना सिंहलाई नै दोहो-याउने निर्णय गरेको छ ।

उता आदर्श गाउँपालिकामा डम्बरबहादुर वली गाउँमै मतदान गरेर अध्यक्षका लागि चयन हुनुभएको छ । यसैगरी बोगटान फुड्सिल गाउँपालिकामा हस्तबहादुर बुढा निर्वाचनमा भाग लिने लगभग निश्चित भएर प्रचारमा जुटिसक्नुभएको छ भने अन्य पालिकामा पनि सर्वसम्मतको प्रयास भइरहेको एमालेले जनाएको छ । सबैजसो पालिकामा आजदेखि छलफल हुने एमालेका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

उता सत्तारूढ गठबन्धनका दलहरूमा भने कुरा नमिल्दा अझै अन्योलता कायमै रहेको छ । गठबन्धनका लहरका बीचमा भागबन्डा नमिलेका कारण उम्मेदवार टुङ्ग्याई काम अलमलमा परेको बताइएको छ । अघिल्लो चरणमा छलफल हुँदा सहमति बन्न नसकेपछि छलफलमा आएको विषयलाई सबै पार्टीले आफ्ना प्रदेश समितिलाई पठाएका छन् । यद्यपी फेरि पनि छलफल गर्ने तयारी भइरहेको नेपाली कांग्रेसका पार्टी सभापति नरेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय सर्कुलरअनुसार सिटको भागबन्डा भएपछि मात्रै टिकट टुङ्ग्याउने गठबन्धन दलका शीर्षनेताहरूले जनाएका छन् । एमाले अहिले पनि एक्लाएक्लै चुनाव हुँदा बोगटान फुड्सिल गाउँपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा भए पनि अन्य क्षेत्रमा कांग्रेस–एमाले बीचमै प्रतिस्पर्धा हुने देखिन्छ ।

यद्यपि अघिल्लो निर्वाचनमा झिनो मतले हारजित भएको क्षेत्रमा नेकपा एसले काट्ने मतले एमालेलाई क्षति पुग्ने अनुमान गरिएको तर एमालेले भने नेकपा ९एस०ले धेरै मत नकाट्ने र काटेको मत सहजै भरपाई हुने दाबी गरिरहेको छ ।

प्रतिस्पर्धी एमालेको विखण्डित अवस्थाले कांग्रेसको स्थानीय नेतृत्व हौसिएको देखिन्छ । उसको विखण्डनले अघिल्लो पटक एमालेले झिनो मतले जितेका पूर्वीचौकी, दीपायल–सिलगढी र सायलमा सहजै जीत हासिल गर्नसक्ने देखिँदा जोरायल, आदर्श गाउँपालिकाजस्ता एमालेका सङ्गठन मजबुत रहेका क्षेत्रमा जीत हासिल गर्नसक्ने कांग्रेस नेताहरूमा आत्मविश्वास पलाएको देखिन्छ ।

अघिल्लो पटक एमालेको सङ्गठन तितर बितर भएर माओवादीले जितेको बोगटान फुड्सिल गाउँपालिकामा समेत सङ्गठन सुधार गरेकाले सहजै जित्ने कांग्रेस नेताहरूले अनुमान गरेका छन् ।

यता एक्लै धेरै स्थानीय तहमा निर्वाचन जित्ने विश्वास गरेका कांग्रेसको स्थानीय पार्टी पङ्क्तिका लागि सत्ता गठबन्धनमा तालमेल निकै अप्रिय बनेको छ । जिल्ला सभापति नरेन्द्रबहादुर सिंहसहित पदाधिकारी गठबन्धनलाई मिलाउने पक्षमा हुनुहुन्छ । सबैलाई मान्य तथा सहज हुने तरिकाले आफूले गठबन्धनलाई मिलाउने प्रयास गरिरहेको सभापति सिंहले बताउनुभयो ।

कांग्रेसको जिल्लाको शीर्ष नेतृत्व मानिएका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर गठबन्धन मिलाउन प्रयासरत हुनुहुन्छ । पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेस क्षेत्रीय सभापति बलायरले आफू गठबन्धन मिलाउनका लागि प्रयासरत रहेको र केही दिनभित्रमा सबै कुराको टुङ्गो लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनमा विवाद हुँदैन, अहिले केही ठाउँमा समस्या देखिए पनि केही दिनमा सबै समस्या समाधान हुनेछ ।”

उता माओवादी केन्द्रका नेता तथा डोटीका जिल्ला इन्चार्ज शिवसिंह ओलीले जिल्लामा गठबन्धनको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन अहिले प्रमुख आवश्यकता हो, सबैले एकजुट भएर गठबन्धन बनाएर जानु उपयुक्त हुन्छ ।”

यसैगरी नेकपा ९समाजवादी०का नेता तथा जिल्ला अध्यक्ष दीर्घराज बोगटी पनि डोटीमा गठबन्धन एक भएर निर्वाचनमा जानुपर्ने बताउँदै आउनु भएको छ । जिल्लामा गठबन्धन आवश्यक रहेको र गठबन्धन अहिले मात्रै नभएर सङ्घीय निर्वाचनसम्म कायम हुनुपर्ने अध्यक्ष बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहका लागि मात्रै गठबन्धन हुँदैन, सङ्घीय निर्वाचनसम्म हाम्रो गठबन्धन कायम रहनुपर्छ ।” दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको डोटीमा दिपायल सिलगढी नगरपालिका, आदर्श, सायल, जोरायल र पूर्वीचौकी गाउँपालिका गरी पाँच स्थानीय तहमा तत्कालीन एमाले विजयी भएकोे भने शिखर नरगपालिका, केआइसिंह र बडिकेदार गाउँपालिका गरी तीन स्थानीय तहमा कांग्रेस विजयी भएको थियो ।

माओवादी केन्द्रले भने बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएको थियो । चुनावी नाराभन्दा पनि माग पूरा गर्ने तथा नागरिकका समस्या समाधान गर्ने नेताहरु अहिले आवश्यक रहेको मतदाताको माग रहेको छ । जिल्लामा सडक सुविधा पुगे पनि रोजगारी नपाएका कारण अहिले पनि हजारौँ युवा रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता रहेकाले गाउँमै रोजगारी दिनेलाई अबको भोट दिने योजना रहेको जोरायल गाउँपालिका स्थानीयवासी चित्रराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँगाउँमा सडक सुविधा त पुगे तर रोजगारी पुगेन जसले गर्दा युवा शक्ति विदेश पलायन हुँदैछन्, युवालाई गाउँमै रोजगारी दिन सक्नेलाई भोट दिनु आवश्यक छ ।” जिल्लामा रोजगारीका लागि विभिन्न काम गर्न सकिने भएका र यहाँ थुप्रै पर्यटकीय क्षेत्र भएकाले पनि ती क्षेत्रको स्तरोन्नतिसहित विकास गर्न सके गाउँमै रोजगारी सृजना हुन सक्ने केआइसिंह गाउँपालिका–५ का स्थानीयवासी सुरेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रसिद्ध धार्मिकस्थल बडिकेदारदेखि सुदूरपश्चिमकै प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तड डोटीमा छ, ती क्षेत्रको स्तरोन्नतिसहित विकास गरे कामका लागि परदेश जानुपर्ने अवस्थाको अन्त हुन्छ ।” विभिन्न जडीबुटी खेती, पशुपालनमा अनुदान तथा कृषि खेतीमा लगानी गरे यहाँको बेरोजगारीमा निकै कमी हुने स्थानीयवासीको बुझाइ छ । –विमलबहादुर विष्ट/ रासस