• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला

गहनापोखरीमा खोजियो टुँडालदेवीको गहना



काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिएको छ । टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु हुन्छ । जात्राको विभिन्न प्रक्रिया पूरा गरी वैशाख कृष्ण प्रतिपदाका दिन गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिने जात्रा सम्पन्न गरिएको जात्रा सञ्चालन समितिको अध्यक्षसमेत रहनुभएका काठमाडौँ महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी काठमाडौँ महानगरपालिका वडा नं ५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा भव्यरुपमा गरिन्छ । जात्राका क्रममा आज भने देवीदेवतालाई विश्राम दिइन्छ । वैशाख कृष्ण तृतीयाका दिन मङ्गलबार भाटभटेनी महिला समूहले विशेष पूजा गर्ने विधि गरिने जात्रा सञ्चालन समितिले जनाएको छ ।

जात्राका लागि नक्साल चार ढुङ्गेको माने खटसमेत आज रातिसम्म टुँडालदेवी लगिएको छ । जात्राका क्रममा भातको देउता बनाएर टुँडालदेवीमा लगिने विधि भने पूरा भइसकेको छ । भाटभटेनी जात्रा काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये एक हो । यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि सम्बोधन गरिन्छ ।

यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गरी मन्दिरबाट बाहिर निकाल्ने गरिन्छ । यो जात्रा सुरु भएको सम्बन्धमा एउटा कथा प्रचलित छ । धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु र नुवाकोटी देवी स्नान गर्न भनी ठूलो तालअर्थात् हाल गहनापोखरी भएको स्थानमा गएछन् । स्नान गर्ने क्रममा टुँडालदेवीको गहना पोखरीमा हराएछ । त्यसैबेलादेखि यो पोखरीको महत्व बढ्नुका साथै नाम पनि गहनापोखरी राखिएको रहेछ । त्यसै समयदेखि हराएको गहना खोज्न यो जात्रा सुरु भएको विश्वास गरिन्छ ।