काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो । ‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनको विषय थियो ।
त्यसमा हामीले सम्भावित सबै पात्रहरु अहिलेको उपाध्यक्षदेखि हटनेसम्मका सबैबारे छलफल गरियो । सबै पात्रहरु समान हैसियतका छन, समान क्षमता राख्छन’, बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले भन्नु भयो, ‘ती मध्येमा छनौट गर्ने जिम्मेवारी अध्यक्ष कमरेडलाई दिइएको छ ।’
बैठकमा पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव पनि गरिएको छ । सो प्रस्ताव नेताहरुलाई अध्ययनका लागि दिइएको र अव बस्ने अर्को स्थायी कमिटीले बैठकले त्यसबारे निर्णय गर्ने पनि प्रवक्ता महराले बताउनु भयो । बैठकमा सरकारका सहभागी हुने नेताहरुको बारेमा भने छलफल नभएको माओवादी केन्द्रले जनाएको छ ।