• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

पोखरा–धनगढी सिधा हवाई सेवा सुरु



काठमाडौं । निजी क्षेत्रको बुद्ध एयरलाइन्सले आजदेखि पोखरा–धनगढी–पोखरासम्म सिधा हवाई सेवा सुरु गरेको छ । धनगढी विमानस्थलमा नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा) सुदूरपश्चिमका पदाधिकारीले पोखराबाट धनगढीका लागि उडान भरेको पहिलो बुद्धएयरका १८ यात्रुलाई स्वागत गर्नुका साथै धनगढीबाट पोखरा जाने यात्रुलाई बिदाइ गर्नुभयो । 

पोखरादेखि धनगढीसम्मको सिधा हवाई सेवा सुरु भएसँगै सुदूरपश्चिमका बासिन्दाले काठमाडौँ हुँदै पोखरा जानुपर्ने बाध्यता हट्ने भई समय र पैसाको समेत बचत हुने देखिएको धनगढीस्थित बुद्धएयर स्टेशनका प्रमुख बुधराम माझीले बताउनुभयो । 

 “पोखरा–धनगढी–पोखरासम्म आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने गरी हवाई सेवा दिन सुरु गरेका छौँ”, माझीले भन्नुभयो, “यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरेका छौँ ।” पर्यटन व्यवसायी मायाप्रकाश भट्टले पोखरा धनगढीसम्म हवाई सेवा सुरु भएसँगै सुदूरपश्चिममा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने अपेक्षा गरिएको बताउनुभयो । 

 नाटा सुदूरपश्चिमका महासचिव पदमविक्रम सिंहले मुक्तिनाथ र पोखरा भ्रमण गर्न चाहने भारतीयका साथै आन्तरिक पर्यटकलाई समेत लक्षित गरी पोखरा–धनगढीको सिधा हवाई सेवा सञ्चालन गर्न बुद्धएयर सहमत भएको बताउनुभयो । “अहिलेसम्म हामी पर्यटकका लागि काठमाडौँको मात्र प्याकेज बनाउन पाउँथ्यौँ, सिधा हवाई सेवा सुरु हुँदा अब पर्यटकका लागि पोखराको पनि प्याकेज बनाउन पाउने भयौँ”, उहाँले भन्नुभयो, “यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने छ ।” 

नाटा सुदूरपश्चिमले विगत केही वर्षदेखि नै पोखरा–धनगढीको सिधा हवाई सेवा सुरु गर्न विमान कम्पनीसँग आग्रह गर्दै आएको थियो । धनगढी विमानस्थलबाट काठमाडौँ–धनगढी–काठमाडौँसम्म बुद्धएयरलगायतका निजी विमान कम्पनीले दैनिक हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।