११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको भारतको विश्वास



अ+ अ-

काठमाडौं । भारतले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको बताएको छ । नेपालसँगको आफ्नो सम्बन्ध ‘छिमेकी पहिलो’ नीतिको मुख्य स्तम्भ भएको स्पष्ट गर्दै उसले प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको परम्परागत र शताब्दीऔँ पुरानो मैत्री एवं सहकार्यलाई थप प्रगाढ बनाउन योगदान पुगेको बताएको हो ।

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज हैदरावाद हाउसमा भएको विस्तृत वार्ताले पारस्परिक सम्बन्धलाई नयाँ उचाईमा पु-याउन योगदान गर्नाका साथै भविष्यको बाटोसमेत निर्धारण गरेको जनाएको छ ।

साथै नयाँदिल्लीले दुई देशका प्रधानमन्त्रीबीचको वार्तालाई ‘फलदायी’ को संज्ञा दिँदै विविध क्षेत्रमा विस्तारित द्विपक्षीय सहयोगका विषयलाई त्यसले आकार दिएको बताएको छ । विशेष गरी ऊर्जा र सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित विषयलाई उसले अधिक प्राथमिकतामा राखेको छ । विद्युत् प्रसारण लाइन होस् वा विद्युतीय कारोबारको ‘रुपे’ त्यसले नेपालको वित्तीय क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ । परस्परमा वित्तीय सम्पर्क बढाउन तथा द्विपक्षीय पर्यटक प्रवाहलाई सहज बनाउनका साथै भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने रुपे प्रभावकारी हुने अपेक्षा भारतले गरेको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीबीचको भेटवार्ता, दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ताले आपसी सम्बन्धलाई सुमधुर र सुदृढ बनाउन उपयोगी भएको बताउँदै साउथ ब्लकले आज भएका अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ‘फ्रेमवर्क’ सम्झौता रेलवे क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी, नेपाल आयल निगम (एनओसी) र भारतीय आयल निगम ९आइओसी०बीच पेट्रोलियम पदार्थ उत्पादनको आपूर्तिसम्बन्धी समझदारी, एनओसी र आइओसीबीच प्राविधिक विशेषज्ञता साझा गर्न सम्झौताको आदानप्रदान तथा द्विपक्षीय ऊर्जा क्षेत्र सहयोगसम्बन्धी संयुक्त घोषणालाई उपलब्धिमूलक बताएको छ ।

बाह्यमामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा पारस्परिक लाभका खातिर सहयोगका अभूतपूर्व अवसरहरूबारे छलफल गर्नाका साथै ऊर्जा उत्पादन, प्रसारण र व्यापारमा साझा प्रतिबद्धता जनाउनुभएको उल्लेख गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रूप दिएर त्यसको कार्यान्वयनमा तीव्रगतिमा काम गर्न दुवै पक्ष सहमत भएका जनाइएको छ ।

प्रधानमन्त्री देउवाले भारतमा पर्याप्त मात्रामा बिजुली निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई दिइएको नयाँ स्वीकृतिको प्रशंसा गर्दै नेपालको जलविद्युत् विकास आयोजनामा भारतीय कम्पनीलाई थप सहभागिताका लागि आह्वान गर्नुभएको थियो । नेपालमा ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा भएको प्रगतिको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुवै प्रधानमन्त्रीले आर्थिक र व्यापार विषयमा विचार आदानप्रदान गर्नुभएको तथा व्यापार, लगानी र सम्पर्क सञ्जाल विस्तारलाई अझ घनीभूत बनाउने र आवागम सहज तुल्याउने, नेपाललाई दीर्घकालीनरूपमा भारतबाट मलको आपूर्ति सहज बनाउने र पेट्रोलियम पदार्थको आपूर्तिका लागि पञ्चवर्षीय सम्झौताको नवीकरण भएकामा त्यसकोे स्वागत गर्नुभएको छ ।

दुवै देशका प्रधानमन्त्रीले सघन एवं सुदृढ द्विपक्षीय विकास साझेदारीको बारेमा छलफल गर्दै जयनगर–कुर्था–बिजलपुर–बर्दिबास, जोगबनी–विराटनगर, रक्सोल–काठमाडौँ जोड्ने अन्तरदेशीय रेल परियोजनालगायत नेपालमा भारतीय परियोजनाहरूको कार्यान्वयनको प्रगतिको समीक्षा गर्नुभएको थियो ।

काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रतिष्ठान, नेपालगन्ज र भैरहवामा एकीकृत जाँच चौकीलगायत भारतीय सहयोगका सबै आयोजनालाई समयमै सम्पन्न गर्न नेपाल सरकारबाट प्राप्त सहयोग र सहजीकरणका लागि प्रधानमन्त्री देउवाप्रति प्रधानमन्त्री मोदीले आभार व्यक्त गर्नुभएको थियो । भारत स्वतन्त्र भएको ७५ वर्ष पुगेको सन्दर्भमा उसले ‘आजादीका अमृत महोत्सव’मनाइरहेका बेला रामायण परिपथका साथै नेपालमा ७५ वटा विकास आयोजनाको उद्घाटन गर्ने जानकारी प्रधानमन्त्री देउवालाई गराएको थियो ।

– शरच्चन्द्र भण्डारी/ रासस