१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन लत्रिए दाहाल ?



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनका प्रमुख ‘सूत्रधार’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारदेखि सरकार सञ्चालनमा असान्दर्भिकजस्ता देखिन्छन् । नेकपा एस र जसपालाई सरकारमा सहभागी गराउन त उनले सार्थक पहल गर्न सकेका छैनन् नै, सरकार गठन भएको ८४ दिनसम्म आफ्नै दलका मन्त्री छान्न पनि उनलाई महाभारत भएको छ ।

हुन त पार्टीका आन्तरिक बैठकमा मन्त्रिपरिषद् ढिलाइले जनतामाझ गलत सन्देश गएको बताउने गरेका छन् । सार्वजनिक रूपमा भने ‘यसै साता’, ‘दुई–तीन दिनमा’, ‘पर्सिसम्म’, ‘छिट्टै’ सरकारले पूर्णता पाउँछ भन्दै म्याद सार्दै आएका छन् । पार्टीभित्र प्राधिकार मानिने उनले न त्यो हैसियत प्रयोग गरेर मन्त्री छान्न सकेका छन् न पारदर्शी र लोकतान्त्रिक विधि बनाएका छन् । बरु पार्टीका सबै सांसदले मन्त्री पद खोज्दा आफूलाई अप्ठ्यारो परेको भन्दै सार्वजनिक गुनासो गर्दै आएका छन् ।

मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्राधिकार भए पनि गठबन्धनको महत्त्वपूर्ण हिस्सेदार दाहाल पनि हुन् । देउवाको नेतृत्वमा सरकार बनाउन माइतीघर मण्डलको सडकमा पलेंटी कस्नेदेखि सर्वोच्च अदालतको ढोका ढकढक्याउनेसम्ममा उनी सक्रिय थिए । तर देउवाको ‘सुस्त’ शैलीमा दाहाल पनि मौन सहयात्री बनेका छन् । जबकि केपी शर्मा ओली नेतृत्वमा सरकार हुँदा विरोधी खेमाको नेतृत्व स्वयं दाहालले गरेका थिए ।

‘ठूलो दुःखले ओलीलाई बालुवाटारबाट बालकोट पठाए पनि’ देउवासँगको सहकार्य कुनै पनि बेला तलमाथि हुने भयले दाहाल दबाबमा रहेको माओवादीकै एक नेता बताउँछन् । ‘देउवामाथि दबाब बढाउँदा गठबन्धन भत्कन सक्ने डर छ, यो गठबन्धन भत्काउन ओलीले कुनै कसर बाँकी राख्ने छैनन् । माओवादी, एस र जसपासँग सम्बन्ध असहज भएका दिन देउवालाई साथ दिन ओली तयार छन् । त्यसैले यही गठबन्धन बचाउनुपर्छ भन्नेमा उहाँ संवेदनशील हुनुहुन्छ,’ एक नेताले भने ।

प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दलका नेता ओलीबीच सोझो भेटघाट भएको छैन । तर कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तीन महिनामा तीनपटक बालकोट पुगेका छन् । ‘देउवा र ओली कतै नजिक नबनुन्, अर्ली इलेक्सनको वातावरण नबनोस् भन्नेमा हामी चिन्तित छौं,’ ती माओवादी नेताले भने ।

संगठन सुदृढ नभएको भन्दै दाहाल नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको एस प्रतिनिधिसभाको पूर्ण कार्यकालको पक्षमा छन् । त्यतिमात्र होइन, उनीहरू गठबन्धनलाई आगामी चुनावसम्मै निरन्तरता दिन चाहन्छन् । यही बेला कांग्रेसका धेरै नेताहरू भने ‘अर्ली इलेक्सन’ को पक्षमा छन् । कम्युनिस्ट नेतृत्वको सरकार असफल भएकाले लगत्तै चुनाव भए आफूहरूले जित्ने उनीहरूको विश्वास छ । तर, यही शैलीको सरकार लम्बिए आगामी निर्वाचन पनि आफ्ना लागि धराप हुन सक्ने डर उनीहरूलाई छ । उता, एमाले अध्यक्ष ओलीले पनि प्रधानमन्त्री देउवालाई भन्दा माओवादी केन्द्रका अध्यक्ष दाहाल र एस अध्यक्ष नेपालप्रति लगातार प्रहार गरेका छन् । ओली सकेसम्म चाँडो गठबन्धन भत्काएर मुलुकलाई ‘अर्ली इलेक्सन’ मा लैजाने योजनामा देखिन्छन् । आफूले दुई–दुईपटक विघटन गरेको प्रतिनिधिसभाको आयु लम्बिएको उनले रुचाएका छैनन् । त्यसैले ओलीको लाइनमा देउवा पुग्लान् भनेर दाहाल आफैं खुम्चिएकाजस्ता देखिन्छन् ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने प्रधानमन्त्री देउवाले दाहाललाई दबाबमा राख्न सक्ने अवस्था नभएको बताउँछन् । बरु गठबन्धनका अन्य नेताले देउवालाई दबाबमा राखेको उनको बुझाइ छ । ‘प्रधानमन्त्रीको कार्यदक्षताको समस्या हो । कुनै कारणले देउवा ओलीसँग मिलेर गए भने उनको राजनीतिक साख झन् बिग्रिन्छ,’ श्रेष्ठ भन्छन्, ‘उनलाई फाइदा पनि छैन । किनभने कांग्रेसको प्रतिद्वन्द्वी एमाले नै हो ।’

हुन त एमसीसी सम्झौता अनुमोदनका लागि गठबन्धनका नेताहरूले सहयोग नगरेकामा प्रधानमन्त्री देउवाको पनि असन्तुष्टि छ । माओवादी अध्यक्ष दाहाल र एस अध्यक्ष नेपालले परिमार्जन गरेर मात्र एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने अडान राखेपछि देउवा अगाडि बढ्न सकेका छैनन् ।’ एमसीसीमा देउवा बरु ओलीसँग नजिक देखिन्छन् । ‘तर एउटै विषयले गठबन्धनको भविष्य निर्धारण गर्दैन,’ श्रेष्ठ भन्छन् ।

कांग्रेसका एक नेता भने प्रधानमन्त्री देउवासँग सबै विकल्प खुला रहेको बताउँछन् । ‘अहिले प्रधानमन्त्री गठबन्धनका नेताहरूको दबाबमा हुनुहुन्न, बरु उहाँले अरूलाई दबाबमा राखेको जस्तो देखिन्छ,’ उनी भन्छन्, ‘गठबन्धन नेताहरूले धेरै दबाब बनाए भने विपक्षीलाई साथमा लिएर चुनावमा जाने बलियो विकल्प प्रधानमन्त्रीसँग जीवित छ ।’

महाकालीको तुइन घटना र नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडेको घटनामा सरकारले ढिला मात्रै अग्रसरता लिएको बुझाइ गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरूको मत छ । तर दाहालले यस मुद्दामा देउवामाथि दबाब बढाएका छैनन् । तर पनि गठबन्धन भरपर्दो छैन भन्नेमा दाहाल स्पष्ट छन् । भन्दै आएका छन्, ‘गठबन्धनलाई तोड्न देशभित्र र बाहिरबाट षड्यन्त्र भइराखेको छ । प्रतिगमनलाई परास्त गर्न, संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रको रक्षाका निम्ति बनेको गठबन्धन हरहालतमा जोगाउनुपर्ने अवस्था छ ।’

राजनीतिक विश्लेषक हरि रोका पनि अहिलेको अवस्थामा देउवाले गठबन्धनका नेताहरूलाई बाहिर राखेर ओलीसँग सहकार्य गर्ने सम्भावना नरहेको तर्क गर्छन् । ‘देउवा आफैं पनि माओवादीलाई इन्कार गर्ने हैसियतमा छैनन्,’ उनी भन्छन्, ‘फागुन २३ पछि नै यिनीहरूबीच साझा न्यूनतम कार्यक्रमको गृहकार्य हुनुपर्थ्यो, त्यो पुगेन । त्यसपछि आफैंभित्र कसलाई मन्त्री बनाउने भनेर मापदण्ड बनाउनुपर्थ्यो, त्यो पनि बनाउन सकेनन् ।’

गठबन्धनका तर्फबाट गत साउन २४ मा ११ बुँदे प्राथमिकतासहित सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको थियो । गठबन्धन सरकारले कोभिड–१९ महामारीबाट जनताको जीवनरक्षा गर्ने, संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासन प्रत्याभूत गर्ने, शान्ति प्रक्रियालाई पूर्णता दिने, सहमतिका आधारमा संविधान संशोधनको पहल गर्ने, संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने, महँगी नियन्त्रण तथा भ्रष्टाचार छानबिन गर्नेलगायतका प्राथमिकता तय गरेको थियो । तर, यी विषयमा सरकार र गठबन्धनले कुनै पहल गरेका छैनन् । यसमा प्रधानमन्त्री देउवाजस्तै उनका पृष्ठपोषक दाहाल मौन छन् । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।