• ५ आश्विन २०८०, शुक्रबार
  •      Fri Sep 22 2023
  •   Unicode
Logo
Latest
★   आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सर्‍यो ★   आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना ★   पूर्व मन्त्री खेमराज भट्ट मायालुको निधन ★   शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा: प्रधानमन्त्री दाहाल ★   बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते ★   हेलो सरकारमा कस्तो छ त गुनासो तथा सुझाव ★   सरकार र शिक्षक महासङ्घबीच आज बिहान पुनः वार्ता हुँदै ★   प्रवासीको कथामा ‘परदेशी २’ ★   १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै ★   पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने

आधारभूत स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सुरु



दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसय आधारभूत स्वास्थ्य केन्द्रमा प्रसूति केन्द्र सञ्चालन गरिएको छ । सबै वडामा प्रसूति केन्द्र स्थापना गर्ने गाउँपालिकाको लक्ष्यसहित वडा नं १ को आधारभूत स्वास्थ्य केन्द्रमा बुधबारदेखि प्रसूति केन्द्र सञ्चालन सुरु गरिएको छ । 

स्थानीय महिलालाई वडास्तरमै प्रसूति सेवा दिने उद्देश्यसहित प्रसूति केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । “यस क्षेत्रका महिलालाई सुरक्षितरुपमा आफ्नै ठाउँमा प्रसूति सेवा दिनका लागि प्रसूति केन्द्र सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा घरमै असुरक्षित सुत्केरी हुने प्रचलन पनि हट्ने विश्वास लिएका छौँ ।” घरमा सुत्केरी हुँदा महिला र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले प्रसूति केन्द्रमा नै आएर प्रसूति गराउन सचेतना जगाइने उहाँले बताउनुभयो । 

स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सञ्चालनका लागि सबै उपकरण व्यवस्थापन गरिसकिएको छ । केन्द्रबाट गर्भवती जाँच, तालिम प्राप्त नर्सबाट सुत्केरी सेवा प्रदान गरिनेछ । सुत्केरी भएपछि आवश्यक जाँचको व्यवस्थासमेत गरिएको छ । केन्द्रमा एक जना नर्स पहिल्यै रहे पनि प्रसूति केन्द्रका लागि छुट्टै नर्सको व्यवस्था गरिएको छ । प्रसूति केन्द्रबाट आँबुखैरेनी गाउँपालिका– १ र २ का अलवा गोरखाको पालुङटार र तनहुँकै बन्दीपुर गाउँपालिका महिला लाभान्वित हुनेछन् । 

प्रसूति केन्द्रमा सुत्केरी गराउँदा गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसमेत प्रदान गर्ने गरेको छ । सरकारी स्वास्थ्य संस्थाबाट सुत्केरी गराउँदा  सरकारबाट रु दुई हजार ८०० गाउँपालिकाबाट रु एक हजार गरी रु तीन हजार ८०० प्रोत्साहन रकम दिने गरिएको छ । यसका साथै सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममार्फत एक क्रेट अण्डा र एउटा कुखुराको भाले दिने व्यवस्था सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार सबै वडामा प्रसूति केन्द्र सञ्चालन गर्नका लागि गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । तर बजेट अभावका कारण केन्द्र सञ्चालनमा ढिलाइ भएको उहाँले बताउनुभयो । “सबै वडामा प्रसूति केन्द्र राख्नका लागि गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरे पनि बजेट अभावले विस्तार गर्न सकिएको छैन, आगामी दिनमा विस्तार हुँदै जानेछ”, उहाँले भन्नुभयो । 

उपाध्यक्ष श्रेष्ठका अनुसार गाउँघरमै प्रसूति केन्द्र नहुँदा महिलालाई समस्या हुँदै आएको छ । प्रसूति केन्द्रको अभावमा घरमै सुत्केरी गराउँदा कतिपयले त ज्यान पनि गुमाएको उहाँको भनाइ छ । 

यसअघि आँबुखैरेनी स्वास्थ्य चौकीबाट प्रसूति सेवा नियमितरुपमा सञ्चालन भइरहेको छ । उक्त केन्द्रबाट वार्षिक १५० भन्दाबढीले सुत्केरी सेवा लिने गरेका छन् । रासस