५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री



अ+ अ-

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

ललितपुरको पाटनस्थित पुनःनिर्माण बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उहाँले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभारसमेत रहेको उल्लेख गर्दै भयरहित, स्वच्छ निर्वाचन गर्नु अहिलेको आवश्यकता र सरकारको दायित्वसमेत रहेको बताउनुभयो । उहाँले हामी आफ्नो सम्पदा आफैँ बनाउन सक्षम छौं भन्दै धार्मिक सम्पदा निर्माणमा नीजि क्षेत्रको सहयोग पनि अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले स्थानीय तहलाई विकासको काममा जिम्मेवारी दिन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकारद्वारा निर्माण भएका विकास सम्बन्धी अधिकांश काम राम्रो, छिटो र गुणस्तरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहलाई नै विकासको काममा जिम्मेवारी दिन अतिआवश्यक छ । अहिलेसम्म राम्रो काम भएको पनि छ । सबै ठाउँमा त भन्न सकिँदैन । ऐतिहासिक धाम र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण रहेका ललितपुर कला संस्कृतिको क्षेत्रले चिनिन्छ ।”

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउँदै भिमसेन मन्दिर पनि निजी क्षेत्रको सहयोगमामा निर्माण भएकाले अन्य मठमन्दिर पनि नेपाली मौलिक झल्कने खालको बनाउनुपर्नेमा जोड दिनुभयो ।

ललितपुर महानगरपालिकामा प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका धार्मिक सम्पदाको पुनःनिर्माणलाई महानगरपालिकाले तीव्रताका साथ सम्पन्न गरेको उल्लेख गर्दै स्थानीय सरकारले मुलुकको विकासलाई अगाडि बढाउन सहयोग पु¥याएको बताउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नीजि क्षेत्र व्यापार व्यवसायमा मात्र नभई धार्मिक सम्पदाको निर्माण गर्नुपर्दछ भन्ने मान्यता राखेको बताउनुभयो ।

पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिरको पुनःनिर्माण ललितपुर उद्योग बाणिज्य सङ्घको अगुवाइमा भएको हो र यसमा ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । ललितपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले २०७२ सालको भूकम्पले क्षति पुगेको मन्दिर पाँच वर्ष लगाएर पहिलेकै शैलीमा निर्माण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब रु चार करोड ९७ लाखको लागतमा निर्माण गरिएको मन्दिर महानगपालिकाले रु एक करोड, एभरेष्ट बैक र इन्भेष्टेमेन्ट बैकले रु एक/एक करोड तथा स्थानीय श्रमदानमा निर्माण गरिएको हो । यो मन्दिर झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको बताइएको छ । रासस