१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

मिथिला माध्यमिकी परिक्रमा आज भारतको कल्याणेश्वरका लागि प्रस्थान

मिथिला माध्यमिकी परिक्रमा आज भारतको कल्याणेश्वरका लागि प्रस्थान
अ अ+ अ-

धनुषा । मिथिलाञ्चलका बहुचर्चित सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमाका तीर्थयात्री आज भारतको कलाणेश्वरका लागि प्रस्थान गरेका छन् । 

मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको १५ दिने परिक्रमा बिहीबारदेखि विधिवत् रुपमा सुरु भएको हो । मिथिला हाम्रो सभ्यता हो, गर्वका साथ भन्नुपर्दछ कि सनातन संस्कारको महान् अनि पावन उदाहरणीय घटनामध्ये रामायण हाम्रो देशमा पनि घटित भएको हो । रघुवंशीय रामले मिथिलाकी राजकुमारी सीतासँग लगनगाँठो कस्दाको इतिहास अझै पनि पवित्र मिथिलाधामका गाउँ, चोक अनि चौतारीमा भनिन्छ, कथिन्छ, गाइन्छ अनि आत्मसात गरिन्छ ।

यो परिक्रमाले रामायणका धेरैजसो पक्ष अनि तीसँग सम्बन्ध राख्ने स्थान र अवयव छुने गर्दछ । हुन त मिथिला नगरमा वर्षमा तीन वटा परिक्रमा हुने गर्दछन् र कात्तिक, फागुन र वैशाखका महिनामा ती परिक्रमा हुने गर्दछन् । यी तीन परिक्रमामध्ये फागुनमा हुने परिक्रमाको महत्व असाध्यै छ । यस परिक्रममा १३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहने गरेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत्रुपमा बिहीबारदेखि सुरु भएको हो ।

फागुन कृष्णपक्षको औँसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा बिहीबारदेखि सुरु भएको हो । बिहीबार राति धनुषाको हनुमानगढमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालु आज बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गरेका छन् । फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमानगढ पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत्रुपमा सुरुआत हुने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो ।

महाशिवरात्रिलगत्तै सुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने परिक्रमाका कारण मिथिलाञ्चलमा यसपालीको फागुन महिना उल्लास एवं भक्तीमय हुने भएको छ । धार्मिक झाँकी भजन, कीर्तनसहित परिक्रमाको डोला जनकपुरबाट सुरु भई आज सीमावर्ती भारतीय गाउँ कल्याणेश्वर महादेव स्थान पुग्नेछ । परिक्रमामा सहभागी क्रमशः फूलहर (गीर्जास्थान) हुँदै महोतरीको मटिहानी, जलेश्वर, मडै धुर्वकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्र र फागुन पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिकरुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौँ सहभागिता रहने गरेको छ । यस धार्मिक यात्रालाई व्यावसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जग्गनाथ दास वैष्णवले बताउनुभयो ।

परिक्रमामा सहभागीका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले सहभागीको सुविधाका लागि १५ वटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ । परिक्रमावासी राति गाउँभन्दा टाढा खुला चौर, बगैँचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीय बासिन्दाले पनि सहभागीका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि परालसमेत उपलब्ध गराउने गर्दछन् । सहभागी दिनभरि यात्रा गर्छन् र भजन, कीर्तन तथा सत्संग गरेर रात बिताउँछन् । नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्रामा नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थल छन् । मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ ।

मिथिला महात्म्यअनुसार १८औ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाकारुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्नुपर्ने परम्परा छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, वैजनाथधामका साधु उल्लेख्यरुपमा सहभागिता हुने गर्दछ ।

परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्षप्राप्ति हुने धार्मिक मान्यता रहेको कुरा पण्डित इन्द्रकान्त झाले बताउनुभयो ।

प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । गृहस्थाश्रमदेखि साधुसन्तसम्मको विशाल सहभागिता रहेको यस यात्राका सबै सहभागीलाई यसको महत्वबारे जानकारी नभए पनि उनीहरु उत्साहका साथ यस यात्रामा सहभागी हुने गर्दछन् । मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेले छोटो दूरीको अन्तगृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अन्तगृह परिक्रमाको सीमा क्षेत्र जनकपुर नगरपालिकाभित्र पर्दछ । मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुँदै हिमालय क्षेत्र, कोसी नदी भएर पुनःहरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा गरिएको छ । भारतको पटनास्थित गङ्गा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ ।

यो परिक्रमा अचेल साधुसन्तको सीमित सङ्ख्याले मात्र गर्ने गरेको कुरा जानकी मन्दिर जनकपुरका छोटे महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो । वृहत् माध्यमिकी र अन्तगृह परिक्रमा मङ्सिर, माघ, फागुन र वैशाख महिनामा गर्नसक्ने वैदिक मान्यता भए पनि ती परिक्रमा फागुन महिनामै हुने परम्परा रहेको महन्थ दासले बताउनुभयो । केही दशकयता माध्यमिकी परिक्रमाको क्षेत्र र अवधि विस्तारित भए पनि जनकपुरस्थित रत्नसागर स्थानका स्वःमहन्थ बाबा नारायण दासजीले करिब १५० वर्षपूर्व समयदेखि २०० सम्म साधुसन्तलाई लिएर वनजङ्गलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्मयको निर्देशनानुसार प्रारम्भ गर्नुभएको बताइन्छ । त्यसलाई करिब ५० वर्षपछि स्थानीय सीताकुण्डका महन्थ परमहंश सियालाल शरणले ५०० साधु र बाजागाजासहित परिक्रमा गरेको संस्कृतविद् रामभरोस कापडी भ्रमरले बताउनुभयो ।

पाँच सयको सानो सङ्ख्यालाई बढाएर २० हजार पु¥याइ परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्थ परमहंशको उल्लेखनीय योगदान रहेको लक्ष्मीनारायण मठ मटिहानीका मान महन्थ जग्गनाथ दास वैष्णवले बताउनुभयो । माध्यमिकी परिक्रमामा करिब ६० वर्षअघिदेखि मिथिला महात्मयको कथा वाचन गर्ने मुख्य पण्डित रामदुलारी शरणजी महाराजले ७० वर्षसम्म उक्त भूमिका निर्वाह गरेर सो परिक्रमाको धार्मिकीकरण गरे । उनको निधनपछि मिथिला महात्मयको कथा वाचन गर्ने काम उहाँका शिष्य सियाराघव शरणले गरिरहेका छन् ।

मिथिलाञ्चालको सांस्कृतिक धरोहरका रुपमा रहेको परिक्रमा यात्रीले प्रयोग गर्ने सडकमार्गको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् जनकपुर तथा सडक डिभिजन कार्यालय मुजेलियाले परिक्रमा सडक भनेर निर्माण कार्य थालेका छन् । निर्माणकार्यअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिकादेखि महोत्तरीको हरिहरपुर हरिणमरिसम्म कालोपत्र सडक निर्माण भइसकेको छ ।     

यस्तो छ परिक्रमा पथ

पहिलो दिन : फागुन औँसीका दिन जनकपुरबाट प्रारम्भ हुने परिक्रमाको पहिलो बिसौनी हनुमाननगर (कुवा) हो । जनकपुरधामबाट दुई किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम तथा जानकीका मूर्ति भएको १६० वर्षअघि स्थापित मन्दिर छ ।

दोस्रो दिन : दोस्रो दिनको मेला लाग्ने कल्याणेश्वर भारत उत्तर विहारको बासोपट्टी तथा उमाकुण्डको सानो बस्ती नजिकै छ । भव्य कुण्ड तथा विश्रामालयसमेत रहेको कल्याणेश्वर (कलना) निकै आकर्षक एवं मनमोहक छ । भविष्यज्ञाताका रुपमा नाम कमाएर प्रसिद्ध सिद्धबाबा ११० वर्ष बसेको ठाउँ पनि यही हो ।

तेस्रो दिन : तेस्रो दिनको विश्रामस्थल गिरिजास्थान पनि भारतमै पर्छ । स्थानीयस्तरमा फूलहर नामले चिनिने यो ठाउँमा सीताजीले फूल टिपेर गिरिजा भगवतीको पूजा गर्ने गरेको र त्यही क्रममा भगवान् रामसँग पहिलो देखादेख भएको जनविश्वास छ । गौरीशङ्कर, जानकी, गिरिजा भगवती र गणेशका मूर्ति एवं कप्टहारिणी र शरसमीर पोखरीह भएको यो ठाउँबाट जमुनी नदी बगेको छ ।

चौथो दिन : यस दिन परिक्रमाका यात्री नेपालको मटिहानी आइपुग्छन् । महोत्तरी जिल्लामा पर्ने मटिहानी पूरातात्विक महत्वका १२ वटा मन्दिर तथा आठ वटा पोखरी भएको घना बस्ती हो । नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा मठ छन् ।

पाँचौँ दिन : मिथिला परिक्रमाका यात्री यस दिन जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्छन् । जलेश्वरनाथको मन्दिरको शिवलिङ्ग सधैँभरि जलमै डुबेको हुन्छ ।

छैटौँ दिन : यस दिन यात्री जलेश्वरबाट मडई आइपुग्छन् । यहाँ मुनेश्वर महादेवको मन्दिर तथा दुई वटा आकर्षक पोखरी छन् । 

सातौँ दिन : सातौँ दिनको विश्रामस्थल धु्रव कुण्ड हो । यहाँ धु्रवजीको मन्दिर छ । 

आठौँ दिन : यात्रीको आठौँ दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ । यहाँ सीतारामको मन्दिर छ ।

नवौँ दिन : यस दिनको विश्रामस्थल पर्वता हो । यहाँ हनुमानजीको विशाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनले हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजा अर्चना गर्छन् । 

दसौँ दिन : यस दिन यात्री धनुषाधाम आइपुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा यहाँ खसेको विश्वास छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ । विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधामस्थित पोखरी, वाणगङ्गा नदी एवं उत्तरपट्टी करिब ५०० बिघामा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाएको छ । यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ ।

एघारौँ दिन : यात्रीको एघारौँ दिनको गन्तव्य सतोषर हो । राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ ।

बार्‍हौँ दिन : यात्रीको बार्‍हौँ दिनको गन्तव्य औरही हो । जनकपुर जयनगर रेल्वेको तेस्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजन कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन् ।

तेर्‍हौँ दिन : भारतको विशौल परिक्रमा यात्रीको तेर्‍हौँ दिनको गन्तव्य हो ।

चौधौँ दिन : चौधौँ दिन परिक्रमाका यात्री करुणा भन्ने स्थानमा आइपुग्छन् । यो कल्याणेश्वर नजिकै पर्दछ ।

पन्ध्रौँ दिन : यस दिन परिक्रमाका यात्री जनकपुर आइपुग्छन् । यो यात्राका अन्तिम दिन हो । फागुपूर्णिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूर्णिमाको बिहानै जनकपुरको पञ्चकोसी परिक्रमा (अन्तगृह) पछि श्रद्धालु जानकी मन्दिरलगायत अन्य मठ,मन्दिरमा दर्शन, पूजन गरी घर फर्कन्छन् ।

यसरी मिथिला परिक्रमाको १५ दिने यात्रा समाप्त हुन्छ । परिक्रमा यात्रीका लागि बाटोमा पर्ने विभिन्न स्थानमा पानी, सर्वत, नास्ता, औषधि आदिको व्यवस्था गरिएको हुन्छ । परिक्रमामा सहभागी हजारौँ यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौँ श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारी र गैरसरकारी क्षेत्रका संस्था प्रयासरत रहेका हुन्छन् । महाशिवरात्रि सम्पन्नलगत्तै प्रारम्भ हुने धार्मिक यात्रा होली खेलेर समापन गर्ने परम्परा छ ।

मिथिला माध्यमिकी परिक्रमा हुँदा मासु मदिरा प्रतिबन्ध

मिथिला मध्यमिकी परिक्रमालाई मध्यनजर गर्दै जनकपुरधाममा माछा, मासु र मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लागाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले परिक्रमाको डोलाका सबै विश्रामस्थल र त्यहाँभन्दा एक किलोमिटर वरिपरी माछामासु बेचबिखनमा रोक लगाएको हो । जिप्रकाले एक सूचना जारी गर्दै परिक्रमाको डोला पुग्नु २४ घण्टा अगावैदेखि लागू हुनेगरी पशुबध तथा माछा, मासु बिक्रीवितरण, सेवन नगर्न र नगराउन भनिएको छ ।

(रासस, अजयकुमार साह)