१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

स्वतन्त्रता भर्सेज स्वच्छन्दता

स्वतन्त्रता भर्सेज स्वच्छन्दता
अ अ+ अ-

“लोग्नेसँग यसरी बोल्दैनन् । तरिका हुन्छ लोग्नेसँग बोल्ने । सोध्ने पनि तरिका हुन्छ ।” उम्लिएको रगत उत्रिएको थियो अनुहारभरि ।

“लोग्ने साथी हो । लोग्ने परिवार हो । लोग्ने सहयात्री हो । तिमी मेरो लोग्ने मात्रै कहिलेदेखि भयौ ? तिमीसँग कुरा गर्न पनि तरिका खोज्नुपर्ने मैले ?”

“हो, केही सम्बन्धका कुरा गर्ने शैली निश्चित हुन्छन् । त्यो दायरा ननाघेकै राम्रो ।”

“तिमी मेरो लोग्ने, मैले तिमीसँग नसोधेर कोसँग सोध्न जाऊँ ? मैले सोधेको प्रश्नको सिधा जबाफ देऊ । घुमाउनु जरुरी छैन । अनि यस्ता कुरालाई पहाड बनाउनु आवश्यक पनि छैन ।”

“के सिधा उत्तर ? दिमाग हुनुप¥यो नि दिमाग ! दिमागमा गोबर भरिएको छ अनि कताबाट गतिलो कुरा आउछ ? लोग्नेलाई शङ्का ग¥यो, बस्यो ।” बन्दुकको निसानाजस्तो गरी चोरीऔँलाले मन्दिराको कन्चटमा थिचेर चिच्यायो ।

डरले सातो उड्यो मन्दिराको । कसो कुटाइबाट बँची । आपसी विवाद तिलबाट पहाड बन्दै गइसकेको थियो । उसले सोची ‘विषयको वारपार आजै लगाउनुपर्छ ।’

“शङ्का होइन, म तिम्रो मुखबाट प्रस्ट कुरा सुन्न चाहन्छु । पन्ध्र वर्षअघि मैले छोडेको श्रीपुरुष तिमी छैनौ ।”

“तिमी छौ ? परदेशमा तिमी कति जनासँग सुतेर आयौ पन्ध्र वर्षमा ? मलाई अरूसँग सुत्न गयो भन्ने ?”

अनपेक्षित सवालले मन्दिरा छाँगाबाट खसी । उसको मनमा भुइँचालो गयो ।

उसको पहिलो सोधाइ थियो, “सामरालाई पैसा सापटी दिएको हो ?”

“… … मैले यतिका वर्षसम्म तिमीलाई तिम्रा साथीहरूबारे सोधेँ ? तिम्रो त्यहाँको व्यवहारप्रति चासो राखेँ ? तिमीलाई स्वतन्त्र छाडेको थिएँ । आएको दस दिन हुन पाएको छैन, मेरो खै गर्ने हिम्मत ?” ऊ मैदान उत्रिसकेको थियो ।

“स्वतन्त्रता भनेको स्वच्छन्दता होइन ? जरुर म स्वतन्त्र थिएँ तर कहिल्यै स्वच्छन्द हुन चाहिनँ । तिमी र सम्पूर्ण मेरा आफन्तजनप्रतिको आस्था र विश्वासलाई विचलित हुन दिइनँ ।”

“बकवास ! सब बकवास ! यतिका लामो समयसम्म एउटी आइमाई… त्यो पनि विदेशमा…..।”

“हो, एउटी आइमाई, एउटी स्वास्नी अनि एउटी आमा परिवारप्रति कर्तव्यनिष्ठ र इमानदारीतासाथ आफ्नो सतित्व जोगाएर बस्न सक्छे ।” सिसा फुटेजस्तै भयो लोग्ने प्रतिको आस्था, भरोसा र विश्वास । यतिन्जेल लोग्नेको नाममा उचो भएको शिर निहुरिइसकेको थियो ।  अब त्यो आस्था र विश्वास फेरि जोरिने अवस्था थिएन । ऊ प्रतिकारमा उत्री “… … … तिमीभित्र यतिका कुत्सित विचार रहेछ र पो हरपल विदेश जानका लागि दबाब दिँदा रहेछौ । स्वास्नीले विदेशमा सुतेर पैसा कमाउँछे भन्ने सोच हुँदाहुँदै त्यसको कमाइमा राजनीति गर्न अलिकति पनि सरम लागेन तिमीलाई ?”

लोग्नेस्वास्नीको झगडा विस्फोट भइसकेको थियो ।

“के रे ? के भनिस् रे ? मैले तेरो पैसाले राजनीति गरेको होइन । म त तेरा छोराछोरीको गोठालो गर्दा राजनीतिमा पछि परेको ! बढ्ता जान्ने…। तेरा छोराछोरीलाई भुसतिघे्रचाहिँ कसले बनायो ?”

“ए, मेरा छोराछोरीको गोठालो ग¥यौ तिमीले ? म गएको दसै दिनमा होस्टेल राखेर दिनरात होस्टेल फि तिर्नका लागि पैसाको दबाब दियौ । महिना मर्न नपाउँदै पैसा थाप्न दसऔंली पसारेको बिस्र्यौ ? १५ वर्षको मेरो कमाइ कहाँ गयो ?” यतिन्जेल रोकिएको आँसु भक्कानिएर बग्न थाल्यो मन्दिराको ।

“…राजनीति गर्दैमा छोरीको उपचार गराउनसमेत तिमीलाई फुर्सद भएन । छोरोलाई काँडा पन्छाएजस्तो गरी होस्टेलमा हाल्यौ । उसको अहिलेसम्म अत्तोपत्तो छैन । अझै भन्छौ छोराछोरीको गोठालो गरेँ ? तिमीले कहाँ दायित्व पूरा ग¥यौ ? मैले विदेश गएर नकमाएको भए कसरी राजनीति गथ्र्यौ ? १८ घण्टा काममा जोतिएर पनि तिम्रो भाषण लेखिदिन छोडिन मैले । साहुको आँखा छलीछली मेल गर्थें तिमीलाई ? सुइँकोसम्म पाएको भए मेरो अवस्था अहिले के हुन्थ्यो । कहिल्यै आफ्नोबाहेक मेरो विषयमा जानकारी लिने समय थियो तिमीलाई ?” वर्षौंदेखि थुप्रिएको आक्रोश र असन्तुष्टि एकसाथ ओकली उसले ।

तराईको मध्यम परिवार । अंशबन्डापछि परिवारको सम्पूर्ण दायित्व थोपरियो । पूरा गर्न नसक्ने भएपछि उसले लोग्नेलाई भनी, “तिमी विदेश जाऊ, म छोराछोरी हुर्काउँदै दुःखजिलो गर्छु ।”

पढ्दापढ्दै छाडेर राजनीतिमा लागेको लन्ठो । नेताको नाम लिएर थर्काएर खान बानी परेको, किन जान्थ्यो विदेश । विदेशमा कामदारलाई पेलेर तेल निकाल्छन् भन्ने सुनेको थियो । उसले ललाइफकाई स्वास्नीलाई विदेश पठायो । पाँच–सात वर्षका कलिला छोराछोरी छोडेर अर्काको भूमिमा जानुपर्दा नै उसको मुटु छियाछिया भएको थियो । सोची… सानो छाप्रो, छोराछोरीको शिक्षा र सुखद दाम्पत्य जीवन ।

वात्सल्यलाई विनिमय गरी जीवन सङ्घर्षसँग ।

त्यही निर्णय आज जीवनकै सबैभन्दा ठूलो भुल भयो ।

१५ वर्षमा सात पटक घर आई । राजनीति गर्दामै लोग्नेलाई बोल्ने समय हुँदैनथ्यो । छोराछोरी होस्टेलमा । छिमेकीका चाहिने नचाहिने कुरा सुन्थी । फर्कने बेला भइसक्थ्यो । गहभरि आँसु लिएर फर्कन्थी अर्काको मुलुक । उसको समर्पणले न वास बनायो न त छोराछोरीको शिक्षामा सहयोग पुग्यो । दस कक्षा पढ्दापढ्दै होस्टेलबाटै केटी लिएर भागेको छोरो, अहिलेसम्म पत्तो छैन । छोरी ज्वरोले थलिएर दुई वर्षअघि मरी । त्यति बेला नै नेपाल फर्किएपछि विदेश जान मन थिएन उसलाई । अहिलेसम्मको कमाइ, छोराछोरीको पढाइमा खर्च भयो ।

उनीहरू अब रहेनन् ।

आफ्ना लागि पनि त वास चाहियो । पुख्र्यौली सम्पत्ति पनि सकेर कोठाको वास थियो । तर पार्टीले दिएको भन्दै लोग्ने गाडी चढ्थ्यो । फलानो र चिलानोले दिएको भन्दै महँगा मोबाइल र आइप्याड बोक्थ्यो ।

‘यति महँगो गाडी दिने पार्टीले स्थायी बसोबासका लागि किन केही गरेन ?’ पटकपटक सोची । जबाफ उसको वशको विषय थिएन ।

पतिसुखका लागि सन्तानपीडा दबाएर फेरि विदेश गई । पछिल्लो पटक तराईमा थोरै माटो र सानो घर बनाउन पुग्ने पैसा पठाएकी थिई । त्यो पनि नभएपछि उसले हिम्मतकासाथ बैङ्क खाताको विवरण मागी । लोग्नेले दिन आनाकानी ग¥यो । आफै बैङ्क पुगी । अनेक तिकडमका साथ खाता विवरण लिई । पटकपटक त्यो खाताबाट सामनाको नाममा पैसा झिकिएको थियो ।

“एक पटक लोग्ने मान्छेको चित्त दुख्यो भने त्यो आइमाईलाई फर्केर हेर्दैन । थाहा छ  ? लोग्नेसँग हिसाब खोज्ने ? मेरो चरित्रमाथि शङ्का गर्ने ? हिम्मत कसरी आयो ? प्रमाणित गर्न सक्छेस् ? बस् एक्लै… अब बल्ल थाहा पाउँछेस् तैँले लोग्नेको माया के रहेछ ?” रात निकै छिप्पिइसकेको थियो । ऊ कोठाबाट बाहिरियो । उसैको भनाइमा पार्टीले दिएको गाडी थियो । पैसा थियो । रात त गरिब र निमुखाका लागि न हो ।

सम्बन्धभित्रका बुझाइहरू विचलित भइसकेका थिए । कमजोर बुझाइमा सम्बन्ध सुदृढ कसरी हुन्थ्यो । विच्छेद हुने अवस्थामा पुग्यो ।

‘पैसाको चमकका अगाडि सम्बन्धको मूल्य कैयौँ गुणा बढी हुन्छ ।’ उसको बुझाइ गलत भयो । पैसा र सम्बन्धबीचको सम्बन्धमा आएको खाडल पुर्नु थियो जसरी पनि । त्यही बुझाइले उसलाई नेपाल फर्कायो ।

सुखद दाम्पत्य जीवनको न्यायो उछ्वास मात्रै कल्पनामा !

संसार लुटियो ।

जीवन टुङ्गियो ।

बाँकी छ केवल सङ्घर्ष ।

समस्याले पाठ पढायो तर समाधान भएन । घटनाको दस दिनपछि उसको हातमा एउटा पत्र आयो— सम्बन्ध विच्छेद !

दैला ठेलामै पत्र खोली । ढोका जोरले ढप्काई । डाँको छोडेर रोई । रातभर रोई । आँखाको आँसु सुक्यो ।

बिहेको चर्चा चलेदेखिका घटना सम्झी ।

बिहेकै रात उसले भनेकी थिई, ‘जन्मले जोडेका सम्पूर्ण नातागोताको माया तिमीले दिनुपर्छ । तिम्रो मायालाई कुनै पनि कुराले प्रतिस्थापन गर्न सक्तिनँ । सानैमा टुहुरी भएकीले पनि हुन सक्छ म मायाकी साह्रै भोकी छु । कुनै पनि सर्तमा मायाको खोट स्विकार्न सक्तिनँ ।’

‘सुखी राख्न नसकुला तर मेरो मायामा खोट कहिल्यै देख्न पाउने छैनौ तिमीले ।’ त्यो मायालु अँगालो !

उफ् !

आफ्नै आँखाअगाडि सबै घटना भइरहँदा पनि यथार्थ स्विकार्न कठिन भयो । सम्बन्ध विच्छेदको कागज डसनामुनि राखी र सोची, ‘म कुनै पनि अवस्थामा सिँदुर मेट्न दिन्नँ ।’

महिनादिन बित्यो । यसबीच ‘डिभोर्स पेपर’ मा हस्ताक्षर गराउन उसका दर्जनौँ कारिन्दा आए ।

गहभरि आँसु पार्दै सबैलाई भनी, “यतिन्जेलसम्म उसले मलाई केही दिएन । बाचुन्जेल उसको नामको सिन्दुर नखोसोस् ।”

“महिलाविरुद्धको हिंसामा अनवरत लाग्दै आएका राजनीतिक व्यक्तित्व श्रीपुरुष दाहाललाई यस वर्षको उत्कृष्ट महिला संरक्षण पुरस्कार प्रदान गरिएको छ । दाहाललाई लामो समयदेखि महिला हिंसाविरुद्धको अभियानमा संलग्न रहँदै आएबापत सम्मान गरिएको हो ।”

काट्ताकाट्तैको बन्दा चटक्कै छाडेर जुरुक्क उठी । अचानक श्वासप्रश्वास यसरी बढ्यो कि नियन्त्रण गर्नै सकिन । मस्तिष्कमा सबै स्मृति ताजा भए ।

उसको ध्यान टेलिभिजनको समाचारले तान्यो । सम्मान गर्ने व्यक्ति सामरा थिई ।

माला लगाई, दोसल्ला ओढाई, दह्रोसँग अँगालो हाली, वर्षौंपछि भेट भएका आमाछोरीले जसरी । अनि सम्मान पत्रसाथ फोटो खिचाई । सायद सम्मानको तारिफदारीमा फलाकी होली उहाँ साह्रैै महिलामैत्री पुरुष… …।

मन्दिराले डसनामुनिको डिभोर्स पेपर निकालेर हस्ताक्षर गरी ।