१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको १४औँ महाधिवेशन : यस्तो बन्नेछ केन्द्रीय कार्य समिति



अ+ अ-

काठमाडौँ । १४औँ महाधिवेशन सम्पन्न भएपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति दोब्बर ठूलो हुने भएको छ । १३औँ महाधिवेशनको तुलनामा पदाधिकारी, केन्द्रीय समितिमा पुग्ने खुला, महिला, आदिवासी जनजाति, समावेशीलगायतका क्षेत्रमा व्यापक परिवर्तन गरिएपछि काँग्रेसको केन्द्रीय समितिको आकार १६८ पुग्ने भएको हो । यसअघि यो सङ्ख्या ८५ सदस्यीय थियो । काँग्रेसको इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समिति बनाउन लागिएको हो ।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समितिको आकार बढ्ने अवस्था रहेको जानकारी दिनुभयो । केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिसहित १४ जना पदाधिकारीको चयन यस पटकको महाधिवेशनले गर्नेछ । जसमा उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री आठ जना र कोषाध्यक्ष एक जना गरी १४ सदस्यीय पदाधिकारी रहनेछ । कोषाध्यक्षबाहेक पदाधिकारीका १३ सिट नै महाधिवेशन प्रतिनिधिले निर्वाचनको माध्यमबाट चुन्ने छन् ।

काँग्रेसले यस पटक सबैभन्दा धेरै नेतालाई खुला सदस्यबाट केन्द्रीय समितिमा पुर्याउन सक्नेछ । खुला सदस्यमा यस पटक ३५ स्थान छुट्याइएको छ । यसअघि खुला सदस्यको सङ्ख्या २५ थियो । खासगरी पदाधिकारी निर्वाचन नलड्ने तर पाका पुस्ताका धेरै नेता केन्द्रीय समितिमा जान चाहने भएका कारण खुला सदस्यको सङ्ख्या बढाइएको हो । खुला सदस्यमा देशभरका महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

काँग्रेसले यस पटक महिलाको केन्द्रीय समितिको प्रतिनिधित्वलाई पनि थप सुनिश्चित गरेको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिले कम्तीमा दस वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएका महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिबाट प्रत्यक्ष निर्वाचित गरेका नौ जना महिला सदस्यहरू केन्द्रीय समितिमा पुग्नेछन् । काँग्रेसले सातवटै प्रदेशबाटसमेत केन्द्रीय समितिमा प्रतिनिधित्वको सुनिश्चित गरेको छ । सोअनुसार प्रदेशका महाधिवेशन प्रतिनिधिमध्येबाट एक जना महिलासहित तीन जना रहने गरी प्रत्यक्ष निर्वाचनको माध्यमबाट सातवटै प्रदेशबाट २१ जना केन्द्रीय समितिको भूमिकामा पुग्नेछन् ।

यसका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधिले चार महिलासहित नौ जना दलित, सात महिलासहित आदिवासी जनजातिबाट १५ जना, खसआर्यबाट छ जना महिलासहित १३ जना, मधेसीबाट चार महिलासहित नौ जना, थारूबाट दुई महिलासहित चार जना, मुस्लिमबाट एक महिलासहित तीन जना र पिछडिएको क्षेत्रबाट एक जना गरी ५४ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । यसअतिरिक्त अल्पसङ्ख्यक र अपाङ्गताबाट एक÷एक गरी दुई जना महाधिवेशन प्रतिनिधिको चयन गर्ने व्यवस्था काँग्रेसको विधानमा छ ।

३३ जना मात्रै मनोनित: काँग्रेसले यस पटकको विधानमा मनोनितको सङ्ख्या ह्वात्तै घटाएर निर्वाचनको माध्यमबाट चयन गरिने कुरालाई प्राथमिकता दिइएको छ । कुल १६८ केन्द्रीय कार्यसमितिमा यस पटक निर्वाचित हुने सभापतिले जम्मा ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई मात्र केन्द्रीय समितिमा मनोनित गर्नसक्छ । त्यसमा पनि एक तिहाइ महिला हुनुपर्ने व्यवस्था गरिएको छ । यसबाहेक समानुपातिक समावेशी सिद्धान्त, अपाङ्गता वा अल्पसङ्ख्यक वा पिछडिएका क्षेत्रको समेत प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने विधानमा उल्लेख छ ।

यो अवस्थामा सभापतिले धेरैलाई केन्द्रीय समितिमा मनोनित गर्नसमेत नसक्ने अवस्था रहेको जनाइएको छ । यसअघि मनोनितको सङ्ख्या १६ थियो र केन्द्रीय समितिको आकारसमेत सानो थियो । काँग्रेसको संसदीय दलको नेता केन्द्रीय समितिको पदेन सदस्य हुने व्यवस्था छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।