२३ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको करको चरम दुरुपयोग



अ+ अ-

लुम्बिनी प्रदेश सरकारले विकास बजेट कटौती गरी निजी सञ्चार संस्थाहरूका लागि ठूलो रकम विनियोजन गर्नु राज्य स्रोत तथा गरिब जनताले आफ्नो गाँस काटेर तिरेको करको चरम दुरुपयोग हो । जनहितसम्बन्धी विकास गतिविधिको अंश खोसेर आफ्ना मान्छेहरू पोस्ने र आलोचना गर्न सक्नेहरूलाई ‘किन्ने’ यस्तो छुट कुनै सरकार तथा सरकारी निकायलाई छैन । त्यसैले प्रदेश सरकार तुरुन्त यो कदमबाट पछाडि हट्नुपर्छ ।

राज्यस्रोत दुरुपयोग हुन नदिन प्रदेश संसद् तथा सांसदहरूले आफ्नो विवेक प्रयोग गरेर सरकारलाई यो गैरकानुनी कार्य सच्याउन बाध्य तुल्याउनुपर्छ । अन्यथा विनियोजन ऐनविपरीतको यस कार्यबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सम्बन्धित निकायले उचित छानबिन गरी दोषीलाई जिम्मेवार बनाउनु अपरिहार्य हुन्छ ।

प्रदेशमा नयाँ सरकार बनेपछि गत महिना नयाँ बजेट प्रस्तुत गर्दा यसरी मनलागी रकम विनियोजन गरिएको हो । कतिसम्म स्वेच्छाचारी ढंगले यो कार्य गरिएको छ भने, सञ्चार माध्यमलाई पैसा बाँड्नकै लागि अघिल्लो सरकारका पालामा रणनीतिक महत्त्वका साथ प्रदेश गौरवको योजनाका रूपमा अघि सारिएको पाल्पाको रामपुरदेखि सल्यान कपुरकोटसम्मको उच्च पहाडी राजमार्गको समेत बजेट कटौती गरेर झन्डै ६ करोड रुपैयाँबाट साढे ४ करोडमा झार्न पनि हिचकिचाइएको छैन ।

यस्तै, लुम्बिनी आयुर्वेदिक चिकित्सालयलाई १५ शय्यामा विस्तार गर्न विनियोजित १ करोड रुपैयाँलाई आधा घटाइएको छ भने लुम्बिनी प्रादेशिक अस्पतालमा १० करोड दिने भनिएकामा ४ करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । यो मामिला विकास प्राथमिकता तय गर्ने क्रममा सरकार बरालिएको घटना मात्रै हुँदै होइन, यदि त्यस्तो हुन्थ्यो भने यसरी घटाइएको रकम अरू विकास शीर्षकतर्फ सर्नुपर्थ्यो । यो त सरकार जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको दृष्टान्त हो, त्यही भएरै सञ्चार माध्यमहरूलाई जथाभावी रकम छुट्ट्याइएको छ ।

विकास बजेट कटाएर सञ्चार संस्थाहरूलाई १६ करोड रुपैयाँ छुट्ट्याइएकामा ठूलो रकम त सत्ता सञ्चालकनिकटका व्यक्तिहरूद्वारा सञ्चालित सञ्चार माध्यमका लागि विनियोजन गरिएको छ । प्रतिपक्षलाई पनि उसै गरी भाग पुर्‍याइएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीआबद्ध दल माओवादीको लगानी रहेको र सोही पार्टीका प्रदेशसभा सदस्य दीपेन्द्र पुनमगर अध्यक्ष रहेको जलजला रेडियोलाई मात्रै ६५ लाख छुट्ट्याएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकद्वारा सञ्चालित प्रेसका लागि विभिन्न शीर्षकमा २० लाख विनियोजन गरिएको छ ।

यस्तै, विभिन्न नेता तथा दलनिकट सञ्चार संस्थाहरूले गच्छेअनुसार रकम भाग लगाएर प्रदेश सरकारले राज्यस्रोतलाई ‘उल्फाको धन’ जस्तो व्यवहार गरेको छ । यो प्रकरणले तत्कालीन शाही शासनकालमा सत्तानिकट सञ्चारकर्मीहरूका लागि वितरित हन्डी–काण्डलाई समेत फिका तुल्याइदिएको छ ।

बजेट तयार गर्ने क्रममा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले पत्रकारलाई विज्ञका रूपमा प्रयोग गरेकाले यस्तो भएको बताइएको छ, तर जजसको संलग्नता भए पनि यसको दोष सम्पूर्ण प्रदेश सरकारलाई जान्छ । कर्मचारीहरूको विरोधका बावजुद यस्तो कार्यक्रम राखिएकाले पनि यसमा सरकारकै गलत मनसाय प्रस्टै देखिन्छ । प्रदेश सरकार सञ्चार माध्यम तथा सञ्चारकर्मीको सशक्तीकरण र कल्याणको पक्षमा भएकाले यसो गरेको पक्कै होइन । यदि त्यस्तो हुन्थ्यो भने अघिल्लो सरकारले सञ्चारकर्मी कल्याण कोषका लागि छुट्ट्याएको ५० लाख रुपैयाँलाई घटाएर २० लाख रुपैयाँमा सीमित गरिँदैनथ्यो । कल्याणकारी कोषको रकम काटेर निजी मिडियालाई बजेट बाँड्नुबाटै सरकारको बदनियत पुष्टि हुन्छ । प्रदेशका कतिपय मिडियाहरू आफैं यसरी सरकारी रकम लिन नहुने पक्षमा देखिन्छन्, यसको विरोध गर्दै उनीहरूले सच्याउन मागसमेत गरेका छन् । यो मागबाट सरकारले त्रुटि सच्याउनका लागि शिक्षा लिनुपर्छ ।

यसको अर्थ, सञ्चार माध्यमले कुनै पनि सरकारी सरसहयोग लिनै हुँदैन भन्ने होइन । तर, त्यस्तो सहयोग सञ्चार माध्यमहरूको व्यावसायिकता अभिवृद्धिमा सघाउने हेतुले नीतिगत व्यवस्थासहित पारदर्शी ढंगबाट वितरित भएको हुनुपर्छ, जुन सहुलियतका रूपमा हुनु बेस हुन्छ । तर विकास बजेट मासेर आफू निकटकालाई छानी–छानी प्रत्यक्ष रूपमा रकम विनियोजन गर्नुलाई चाहिँ कसै गरी मनासिब ठहर्‍याउन सकिँदैन । कार्यविधि नै बनाएर संघीय सरकारले वितरण गर्ने लोककल्याणकारी विज्ञापन त आफैंमा विवादास्पद छ भने, संघीयतालाई बदनाम गराउने गरीको प्रदेश सरकारको यस्तो मनखुसीको त औचित्य स्थापित गर्न झनै सकिन्न ।

फेरि, सञ्चार माध्यमले पनि आफूलाई व्यावसायिक आचारभित्रै राख्ने हो भने यस्तो सरकारी ‘घूस’ स्वीकार गर्नै हुँदैन । जुनसुकै सरकारले पनि यो या त्यो नाममा प्रेसको घाँटी अँठ्याउने तथा वाक् तथा अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्ने कार्य नगरेमा समाचार माध्यमहरूका लागि त्यही नै लाख हुन्छ । आसेपासे पोस्ने तथा सरकारको भजन गाउन लगाउने नियतले रकम विनियोजन गर्नु सदैव लोकतन्त्रकै लागि घातक हुन्छ । यो यथार्थलाई मनन गर्दै प्रदेश सरकारले आफ्नो कदम सच्याओस् ।

(कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय)