काठमाडौंः प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा विरुद्ध सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनको अगुवाईमा वकीलहरुले धर्ना दिएका छन् । उनीहरुले प्रधान न्यायाधीश राणाले तत्काल राजीनामा दिनु पर्ने माग गरेका छन् ।
उनीहरुले "न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधान न्यायाधीश राजीनामा देऊ" भन्ने नारा लेखिएको ब्यानर सहित धर्ना दिइरहेका छन् ।
सर्वोच्चमा गत सोमबारदेखि इजलास बस्न सकेको छैन । प्रधान न्यायाधीशविरुद्धको इजलास बहिष्कार गरेका उनीहरुले न्यायालयमा देखिएका विकृतिका विरुद्ध धर्नामा बस्नु परेको बताएका छन् । उनीहरुले हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत प्रांगणमा धर्ना दिइरहेका छन् ।
तर, अधिवक्ताहरू स्वागत नेपाल, भूमिनन्द चूडाल, आकृति रायामाझीलगायतले प्रधान न्यायाधीशले राजीनामा दिन नहुने भन्दै सेतो पट्टी बाँधेर प्रदर्शनमा भाग लिएका छन् ।