काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा नेकपा (एमाले) धादिङका स्थानीय कमिटीहरू सक्रिय भएका छन्।
छिमेकी जिल्लाका विपद्पीडितलाई सहयोग गर्ने उद्देश्यले धुनिवेशी, थाक्रे, सिद्धलेक र बेनीघाट रोराङका एमाले कमिटीहरूले प्रभावित क्षेत्रमा पुगेर सरसफाइ तथा श्रमदान गरेका हुन्।
नेकपा (एमाले) बागमती प्रदेश कमिटी उपसचिव एवं बाढीपीडित राहत तथा उद्धार सहयोग समिति धादिङ–चितवनका संयोजक रमेश आचार्यका अनुसार स्थानीय कमिटीको नेतृत्वमा स्वयंसेवकहरू परिचालन गरी बाढीबाट प्रभावित घर तथा सार्वजनिक संरचनाको सरसफाइ गरिएको हो।
भदौ २० गते धुनिवेशी नगर कमिटीका अध्यक्ष दिनेश बाँस्कोटाको अगुवाइमा २० जना स्वयंसेवकले गल्छी–६, बैरेनी बजारस्थित श्री बागेश्वरी माध्यमिक विद्यालयमा सरसफाइ तथा श्रमदान गरेका थिए।
त्यसैगरी, थाक्रे गाउँपालिका कमिटीका अध्यक्ष गणेशमान वाइबाको नेतृत्वमा ८१ जना स्वयंसेवकले गल्छी–६ स्थित महेश दोभान तथा बैरेनी बजारमा रहेका आठ निजी घरको सरसफाइ गरेका थिए।
सिद्धलेक गाउँपालिका कमिटीका अध्यक्ष रामहरि बराकोटीको अगुवाइमा भदौ २० र २१ गते ५० जना स्वयंसेवकले गजुरी–५, गलौदी बजारमा बाढीबाट प्रभावित ६ निजी घरको सरसफाइमा श्रमदान गरेका थिए।
यस्तै, भदौ २२ गते बेनीघाट रोराङ गाउँपालिका कमिटीका अध्यक्ष राजकुमार त्रिपाठीको नेतृत्वमा १६ जना स्वयंसेवकले गजुरी–५, गलौदी बजारमा रहेका दुई निजी घरको सरसफाइमा श्रमदान गरेका छन्।
बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का बेला राजनीतिक दलका स्थानीय कमिटी तथा स्वयंसेवकहरू प्रभावित समुदायको सहयोगमा परिचालन हुनु मानवीय सेवाको महत्वपूर्ण पक्ष भएको एमालेले जनाएको छ। पार्टीका स्थानीय कमिटीहरूले आगामी दिनमा पनि आवश्यकताअनुसार उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्ने जनाइएको छ।









