काबुलः अफगानिस्तानको राजधानी काबुलस्थित एक सैनिक अस्पतालमा भएको आत्मघाती आक्रमणमा तालिबानका एक जना वरिष्ट सैनिक कमान्डर समेत केहीको ज्यान गएको छ ।
पछिल्लो समय सक्रिय हुन थालेको इस्लामिक स्टेट खोरासान (आइएस–के) ले उक्त आक्रमण गरेको दाबी गरेको छ । खोरासानकै नेतृत्वमा काबुल विमानस्थलमा अगष्टमा भएको भिषण आक्रमणमा १३ अमेरिकी सैनिक सहित २०० भन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।
खोरासान समूहसँग अफगानी पूर्व सैनिकहरु पनि संलग्न रहेको आशंका गर्न थालिएको एएफपीले खबर प्रकाशन गरेको छ ।
काबुलस्थित सरदार डाउद खान अस्पतालमा भएको आक्रमणमा तालिबानका सैनिक कमान्डर हमदुल्लाह मोखलिसको ज्यान गएको थियो । यस आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
अफगानिस्तानको सत्ताकब्जा गरेको तालिबानको कट्टर दुश्मनका रुपमा आइएस–के देखिन थालेको छ । यस समूहले अफगानिस्तानका विभिन्न भाग हाल आत्मघाती आक्रमण गरिरहेको छ ।
यो समूह हाल अमेरिकी सेनाको पनि तारोमा परेको छ, तर यसको प्रभाव बढ्न थालेको आँकलन गरिएको छ ।
प्रत्यक्षदर्शीहरुले अस्पतालमा ज्यान जोगाउन बिरामी र चिकित्सा टोलीहरुमा भागदौड मच्चिएको बताएका छन् ।
तालिबानले एक विज्ञप्ति प्रकाशन गरी आइएस–के को आक्रमणलाई १५ मिनेटभित्रै नियन्त्रणमा लिइएको बताउँदै बाहिर सार्वजनिक भएझैं व्यक्तिको हताहत नभएको दाबी गरेको छ ।
तर आइएस–के ले आफ्ना पाँच जना लडाकूले अस्पतालमा आक्रमण गरेको बताएका छन् । एजेन्सी