१६ फाल्गुन २०८१, शुक्रबार
February 28, 2025 Friday
Latest
तराईमा बिहानैदेखि लागेको हुस्सु हट्दै माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको होः अध्यक्ष दाहाल वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा शुरु गर्दै भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता महिला फुटबल टोलीकी कप्तान ग्रिस प्रस्थान शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौंः गृहमन्त्री लेखक जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन डिभोर्सको हल्लाबिच गोविन्दाको पुरानो भिडियो भाईरल, भनेका थिए,’मेरो कुंडलीमा दुईवटा बिहेको योग छ’ भुवनको समाचारप्रति आरतीको अहसमति महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई दक्षिणासहित विदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली किन सर्वसम्मत नेतृत्व चाहन्छन् ?



अ+ अ-

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौं राष्ट्रिय महाधिवेशन ९मंसिर १०–१२० मा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेका छन् । तर उपाध्यक्ष भीम रावलले अध्यक्ष ओलीविरुद्ध उम्मेदवारी दिने संकेत गरेका छन् भने नेता घनश्याम भुसाल पनि छलफलमा छन् ।

सर्वसम्मत नेतृत्वमार्फत ओली पार्टीभित्र र राष्ट्रिय राजनीतिमै केही राजनीतिक सन्देश प्रवाह गर्ने योजनामा पनि छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालजस्ता शीर्ष नेताहरूले एमाले छाडेर नेकपा एकीकृत समाजवादी बनाएपछि तथा उपाध्यक्ष वामदेव गौतमले राजीनामा गरेपछि पार्टीभित्र ओलीलाई चुनौती दिने उनकै हैसियतको अर्को नेता छैनन् ।

‘ओली शक्तिशाली अध्यक्ष बन्नेमा शंकै छैन, तर उहाँ निर्विकल्प पनि देखिन चाहनुहुन्छ । आफ्नो नेतृत्वमा पदाधिकारीसहित केन्द्रीय कमिटी नै सर्वसम्मत चयन गरेर पार्टीलाई एकछत्र नेतृत्व दिने उहाँको चाहना छ,’ दसबुँदे सहमति पक्षधर एमाले स्थायी कमिटीका एक सदस्यले भन्छन् ।

एमालेका अरू नेताले पनि आगामी चुनावमा ओलीलाई राष्ट्रिय नेताका रूपमा चित्रण गर्ने र उनको वरिपरि राजनीति केन्द्रित गर्ने योजना बनाएका छन् । एक पदाधिकारी भन्छन्, ‘यसका लागि ओलीलाई पहिला पार्टीभित्र निर्विकल्प र सर्वमान्य नेताका रूपमा स्थापित गर्नुपर्ने हुन्छ । पार्टीमै विवाद हुने र नेतृत्वका लागि अर्को प्रतिस्पर्धी आउँदा आफ्नै सहकर्मीलाई पनि समेट्न नसकेको सन्देश जान्छ ।’ उनका अनुसार यसबाहेक ओली आफ्नो परम्परागत समूहलाई सुदृढ गर्ने रणनीतिमा पनि छन् ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार अहिले एमालेले धेरै चुनौतीको सामना गरिरहेको हुँदा पार्टीलाई एकढिक्का बनाएर लैजान सर्वसम्मत नेतृत्व चयन आवश्यक बनेको हो । ‘हामीले वडा, पालिका अधिवेशनमा पनि सर्वसम्मत भनिरहेका छौं । किनभने जतिसुकै प्रजातन्त्र भने पनि चुनावमा भाग लिइसकेपछि त्यसले केही तुष रहने देखियो,’ नेम्वाङ भन्छन्, ‘अहिले थुप्रै चुनौती सामना गर्दै अगाडि बढेका छौं । त्यसैले सर्वसम्मतिमार्फत एकढिक्का भएर अगाडि बढौं भन्ने नै जोड हो । सर्वसम्मत हुन सकेन भने निर्वाचन पनि हुन्छ ।’

सर्वसम्मत नेतृत्व छनोट गर्ने ओलीको प्रयास चुनौतीरहित भने छैन । उपाध्यक्ष रावलले अध्यक्षको दाबेदारीको घोषणा गरेका छन् । उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास गर्नुपर्छ भन्ने कार्यकर्तालाई निराश नबनाउने बताएका छन् । अर्का नेता भुसाल पनि साथीहरूसँग छलफलमा छन् । ‘अध्यक्षमा उम्मेदवारीको संकेत गरेका रावल सुदूरपश्चिमबाट फर्कनुभएको छैन, उहाँ फर्किएर छलफल गरेपछि स्थिति स्पष्ट हुन्छ,’ भुसालनिकट एक नेताले भने ।

दसबुँदे पक्षधरका अन्य नेता भने ओलीको प्रस्ताव कुरेर बसेका छन् । सम्मानजनक सम्बोधन भए उनीहरू ओलीलाई निर्विकल्प मान्ने योजनामा छन् । एमालेमा अब १५ सदस्यीय पदाधिकारी चयन हुने भएकाले आफ्नो परम्परागत समूह र असन्तुष्ट समूहलाई समेट्न ओलीका लागि सहज छैन ।

विगतमा ओलीको आलोचना गर्दै आएका एमाले उपाध्यक्ष युवराज ज्ञवाली पनि अहिले सर्वसम्मत नेतृत्व चयन हुँदा राम्रो सन्देश जाने बताउँछन् । ‘अहिले एमाले विशिष्ट अवस्थामा छ । पाँचदलीय गठबन्धन मिलेर एमाले हराउने योजनामा लागेका छन् । अहिले नै पार्टी विभाजित भएको छ । यो आफैंमा ठूलो चुनौती हो,’ ज्ञवालीले भने, ‘पदाधिकारी, स्थायी र केन्द्रीय कमिटीमा योग्यता, क्षमता क्रियाशीलताका आधारमा यहाँभित्रका सबै भावनालाई सम्बोधन गर्ने गरी सहमति गर्नुपर्छ । होइन भने, आउने चुनावमा नकारात्मक परिणाम आउन सक्छ ।’एमालेमा रहेका पूर्वमाओवादी नेताहरू पनि सर्वसम्मत नेतृत्वको पक्षमा छन् ।

‘देशको अहिलेको राजनीति र पार्टीको स्थितिलाई हेर्दा सहमतिबाट नेतृत्व चयन गर्नुपर्छ । त्यसले पार्टीलाई राम्रो गर्छ,’ केही दिनअघि कान्तिपुरसँगको कुराकानीमा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले भनेका थिए । पूर्वमाओवादी नेताहरू ओलीसँग व्यक्तिगत रूपमा संवादमा छन् । पछिल्लो समय पूर्वमाओवादी नेताहरू ओलीको प्राथमिकतामा नै छन् । एमालेभित्र संगठनमा बलियो बनी नसकेकाले पनि उनीहरू चुनावको जोखिम उठाउन इच्छुक छैनन् ।

ओलीले सर्वसम्मत नेतृत्वको प्रयास गरे पनि पार्टीले आन्तरिक प्रतिस्पर्धालाई भने खुला राखेको छ । ओलीले पनि आफ्नो प्रतिवेदनमा एमालेले आन्तरिक प्रतिस्पर्धालाई पनि महत्त्व दिएका छन् । ‘समाज र लोकतान्त्रिक प्रणालीमा प्रतिस्पर्धा आजको राजनीतिको यथार्थ हो । यस प्रतिस्पर्धालाई स्वीकार गर्ने मात्रै होइन, कम्युनिस्ट पार्टीलाई त्यस प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न सक्ने गरी सुदृढ र लोकप्रिय बनाई राख्नुपर्द,’ विधान महाधिवेशनबाट पारित ओलीको प्रतिवेदनमा छ, ‘समाजमा लोकतन्त्रका लागि लड्ने र त्यसको अगुवाइ गर्ने कम्युनिस्ट पार्टीले आफ्नो आन्तरिक जीवनमा पनि उन्नतस्तरको लोकतन्त्र अवलम्म्बन गर्नुपर्दछ । त्यसैले हाम्रो पार्टीलाई आन्तरिक लोकतन्त्र उन्नत भएको पार्टीका रूपमा स्थापित गर्नुपर्दछ । नीति, विधि र नेतृत्व निर्माणमा पार्टी सदस्यको निर्णायक भूमिका र सार्वभौमसत्तालाई प्रत्याभूत गरिनुपर्छ ।’

विधान महाधिवेशनबाट पारित ओलीको प्रतिवेदनमा पार्टीको सार्वभौमसत्ता सारतः पार्टी सदस्यमै निहित रहन्छ तथा पार्टीको नीति तथा नेतृत्व निर्माणको निर्णायक स्रोत पार्टी सदस्य नै रहने उल्लेख छ । एमालेले विगतमा पार्टीको सर्वोच्च संस्था राष्ट्रिय महाधिवेशनबाट नीति, विधि र नेतृत्व निरुपण गर्दै आएको थियो । तर, विधि र नीति निर्माणको विषय नेतृत्व चयनको राप–चापबाट मुक्त रहन सकोस् र यससम्बन्धी बहस एवं निष्कर्ष वस्तुगत, सन्तुलित र सिर्जनात्मक बन्न सकून् भन्ने उद्देश्यले एमालेले प्रथम विधान महाधिवेशन ९असोज १५–१७० गरेको बताएको थियो ।

विधान महाधिवेशन एमाले पार्टी जीवनमा सुरु गरिएको नौलो अभ्यास र विशेष खालको प्रबन्ध थियो । नीति र विधि पास भएकाले चितवनमा हुने दसौं महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित हुनेछ । महाधिवेशनले १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी गठन गर्नेछ । जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव हुनेछन् ।

सबै पदाधिकारी सम्मिलित १५ सदस्यीय केन्द्रीय सचिवालय रहनेछ । केन्द्रीय कमिटीका पदाधिकारीसहित स्थायी कमिटी ४५ सदस्यीय रहनेछ । महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । एमालेले शनिबार देशभर प्रतिनिधि चयन गर्दै छ । (आजको कान्तिपुरमा समाचार छ)