१४ असार २०८३, आईतवार
,
Latest
मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाँडी गाउँमा होम स्टे : सञ्चालकलाई आधारभूत तालिम सुरु



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरको वडा ५ मा होम स्टे (घरबास) पर्यटन सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । २ दिन सैद्धान्तिक र २ दिन प्रयोगात्मक गरी ४ कार्य दिनमा कक्षाहरु सञ्चालन हुनेछन् । हाँडीगाउँमा अहिले पहिचान गरिएका ११ घरसहित तालिममा ३० जना सहभागी हुनुहुन्छ ।  

तालिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको तारा गाउँ विकास समितिले आयोजना गरेको तालिम उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, घरबास पर्यटनसँग पूर्वाधार, आर्थिक, सामाजिक र सांस्कृतिक विकासका पक्ष जोडिने भएकाले यसको प्रवर्धनका लागि काठमाडौँ महानगरको सहयोग रहने धारणा राख्नुभयो । ‘घरबास पर्यटनले महिलाहरुको आर्थिक विकास र आत्म सम्मान बढाउन सघाउँछ । काठमाडौँको मौलिक खाना, काठमाडौँबासीको सत्कार र घुम्नका लागि सम्पदा क्षेत्र पर्यटन प्रबर्धनका सम्पत्ति हुन् । वडा ५ वाट थालिएको कार्यक्रम र यसको सिकाई भित्री सहरी क्षेत्रमा विस्तार गर्न सकिन्छ ।’ खड्गी श्रेष्ठले भन्नुभयो, ‘हामीले काठमाडौँको सर्वाङ्गीण विकास गर्नु छ । यसभित्र महिलाहरुलाई लिने हैसियतबाट दिने हैसियतमा पुर्‍याउनु पर्नेछ । यसका लागि घरबास पर्यटन एउटा सम्भावना बोकेको कार्यक्रम हो ।’

हाँडीगाउँमा भद्रावास, मनमानेश्वरी, मानदेवको कैलाशकुट भवन, २३ प्रकारका स्थानीय बाजा, वार्षिक १३ वटा जात्रा पर्व छन् । हाँडीगाउँको चाखलाग्दो विकास क्रम र ऐतिहासिक कथा छ । घरबास पर्यटनको सम्भावनाका विषयमा वडा सदस्य उत्तम शर्मा भन्नुहुन्छ, ‘व्यवस्थित कार्यक्रम सञ्चालन योजना बनाउँदैछौँ । हामी दिगो पर्यटनका लागि प्रयासरत छौँ ।’

तालिम संयोजक घनश्याम ढकालकाअनुसार सहभागीलाई पर्यटन र यसका पक्ष, होम स्टे प्रवर्धन र बजारीकरण, पर्यटन प्रबर्धनका साधन  र उपयोग, नेपालको सन्दर्भमा होम स्टे, होम स्टे सम्बन्धी कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार र सेवा लगायतका विषयमा सैद्धान्तिक ज्ञान दिइनेछ । यसैगरी सफल होम स्टेका व्यवसायिक सफलताका कथा, होम स्टे सञ्चालन र व्यवस्थापन, पाहुनाको स्वागत र विदाइ सत्कार, स्थानीइ पर्यटकीय स्थल र सम्पदासँग होम स्टेको सम्बन्ध लगायत विषयलाई पनि सैद्धान्तिक ज्ञानको विषयमा राखिएको छ । 

प्रयोगात्मक कक्षामा पाक शिक्षाअन्तर्गत स्थानीय खाना, खानाको गुणस्तर निर्माण, स्वाद, सजावट र वास्नालगायत विषयमा सीप सिकाइनेछ । हाडीगाउँमा ११ वटा होम स्टे छन् । एउटा घरमा ४ वटासम्म कोठा प्रयोग गर्न सकिन्छ । हाँडीगाउँ सामुदायिक घरबास समितिकी अध्यक्ष शकुन्तता घिमिरेकाअनुसार एक दिनमा हाँडीगाउँ होमस्टेले करीब १५० पाहुनालाई व्यवस्थापन गर्ने सक्ने क्षमता राख्छ । 

बसाइको शुल्क भने प्याकेजका आधारमा तय गरिएको छ । एक दिन मात्र बस्न सक्ने व्यवस्था पनि छ । ०७५ सालबाट थालिएको होम स्टे कोविडका कारण सुस्ताएको थियो । कोविडको असर कम भएसँगै यसलाई उठाउने प्रयास थालिएको हो ।