१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

वंशजको नागरिकता नपाएको सन्थाल जातिको गुनासो



अ+ अ-

विराटनगरः नेपालको पूर्वीतराईमा बसोबास गर्ने सन्थाल जातिको कथा, व्यथा सुन्दा पीडा  गुन्जेजस्तो  लाग्छ । १७३० सालदेखि नेपाली भूमिमा बसोबास गरेकाे विश्वास गरिएका सन्थाल समुदायले  सुरुमा जङ्गलमा शिकार गरेर गुजारा चालाउँथे । उनीहरुले नै पूर्वी तराईको घना जङ्गल फँडानी गरेर उर्वरा जमिन बनाएको इतिहास छ । पहिलेदेखि नै यसक्षेत्रमा बसोबास गर्ने यस जातिको इतिहास केलाउँदा उनीहरुको सङ्ख्या भने त्यस किसिमले वृद्धि भएको पाइँदैन ।

सन्थाल जातिको विकास, संरक्षण एवं सम्वर्द्धन गर्न बनेकाे नेपाल सन्थाल आदिवासी उत्थान सङ्घ मोरङ शाखाले शोषण, दमन, थिचोमिचोका कारण यो जाति समाजमा अगाडि बढ्न नसकेकाले  भारत पलायन भएको जनाएको छ  । बसोबासको प्रारम्भदेखि अहिलेसम्मका स्थिति हेर्दा यो जातिको सङ्ख्या कम्तीमा १२ लाख पुग्नु पर्नेमा अहिले ५१ हजारमा सीमित छ । जनसंख्या घट्नुमा विगतकाे थिचोमिचो, अन्याय नै मुख्य कारण भएको सङ्घका अध्यक्ष लुखीराम हस्दाको भनाइ छ।

जङ्गली जनावरसँग नडराउने हामी अहिले दुई खुट्टे मानिससँग डराएका कारण हाम्रो उन्नति र प्रगति भएन, हिजोका जमिनदारलाई आज सुकुम्बासी बनाइएको छ, समाजमा पछाडि पारिएको छ, न्याय एवं सामाजिक न्यायमा पहुँच नभएकै कारण यो समुदायले समस्या भोग्दै आएको र  हाम्रो समस्यालाई समाधान गर्न राज्य र राजनीतिक दलले पनि साथ नदिएको उहाँले बताउनुभयो ।
    
“हामी नै वास्तविक भूमिपुत्र हौँ तर हाम्रो यहाँ  जल जमीन र जङ्गल नभएकाले नेपाली नागरिक जस्तो समान व्यवहार हुँदैन, दुःख लाग्छ सन्थाल जातिको यही समस्या छ,” अध्यक्ष लुखीराम हस्दाको गुनासो थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल र प्रहरी उपरीक्षक जनार्दन जिसीलगायत एक टोली सन्थाल जातिको समस्या बुझ्न मोरङको कानेपोखरीस्थित होक्लाबारी पुग्यो ।  आफ्नै गाउँ ठाउँमा  पहिलो पटक आएको टोलीलाई  खुशी भएर उनीहरूले सत्कार गरे  । बाक्लै उपस्थिति रहेका सन्थाल जातिले आगन्तुकलाई  आफ्नै पहिरन, संस्कृति र नाचगानमा भव्य स्वागत गर्नाका साथै प्रजिअ दाहाल र उपरीक्षक जिसीलाई आफ्नो जातिको पहिचान देखाउने ‘पन्ची डिङ्गा’ लुगा पहि¥याएका थिए ।

सन्थाल जातिका अगुवा एवं सङ्घका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र किस्कुले दिनप्रतिदिन लोप हुँदै गएको आफ्नो जातिको सबैभन्दा ठूलो समस्या नागरिकता हो भन्नुभयो । हामी आदिवासीलाई सरकारले अङ्गीकृत नागरिकता दिएकाले यो समस्या बिकराल बन्दै गएको गुनासो गर्दै उहाँले गाउँबस्ती नै नभएको बेलादेखि जङ्गल फँडानी गरेर यो क्षेत्रमा बसोबास गर्ने सन्थाल जातिलाई वंशजको नागरिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

 नागरिकता नभएकै कारण रोजगार गुमाउनु परेको, शिक्षा, स्वास्थ्यमा पहुँच हुन नसकेको, आफैंले फँडानी गरी जोतभोग गरेको जग्गा जमीन अरुले हड्पेको, बेलाबखत झुटा मुद्दामा फसाउने गरेकोे, नागरिकको पहिचान नदिएको र  आर्थिक तथा सामाजिकरुपमा पनि पछाडि पारिएकाले आफूहरूको समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी दाहालसँग सहभागीहरूले आग्रह गरे ।
    
राजेन्द्र किस्कु, श्याम टुडु, जोसन सोरेन र किसन हस्दाले एकै प्रकारका समस्या सुनाइरहेकामा  युवती शान्ति टुडुले आफूले स्नातक गरिसक्दा पनि  नागरिकताको प्रमाणपत्र  नभएकाले सरकारी जागिर खानबाट बञ्चित हुने अवस्था सिर्जना भएको गुनासो गर्नुभयो  ।
    
प्रमुख जिल्ला अधिकारी दाहालले सन्थाल जातिको समस्या सुन्दा निकै चिन्ता लागेकाले समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । कानूनको जटिलताले गर्दा स्थानीय तहबाट हुने काम स्थानीय तहबाटै र  जिल्लाबाट हुने जिल्लाबाटै समाधान गर्ने वाचा गर्दै उहाँले  नागरिकताको समस्या समाधान गर्न गृहमन्त्रालयमा लिखित पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    
प्रहरी उपरीक्षक जिसीले अपराधले जात धर्म केही नदेख्ने भन्दै झुठ्ठा मुद्दा लगाउने, मिटर ब्याज लिनेजस्ता मनोवृत्तिका मानिसलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एक सन्थाल युवाले आफूहरूका ठूला नेता तुर्सा हेमरम नेपाली कांग्रेस पार्टीमा लागेर नेपाली जनताको हकअधिकारको लडाईंमा १५ वर्षभन्दा बढी जेल बस्नुभयो, आज उहाँ यस धर्तीमा हुनहुन्न तर पनि उक्त पार्टीले हाम्रो समस्या समाधान गर्न र हक अधिकारका लागि केही गरेकामा दुःख व्यक्त गर्नुभयो ।