१४ असार २०८३, आईतवार
,
Latest
कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा चुनौतीपूर्ण बन्दै सडक बालबालिकाको व्यवस्थापन



अ+ अ-

तम्घास । गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली  बिहान सबेरैदेखि राति अबेरसम्म भेटिनुहुन्छ ।  उनी सदरमुकामको तम्घास बजारमा अन्य कुनै कामले होइन, विभिन्न मानिससँग पैसा माग्दै हिड्छन् । आफ्नो वास्तविक ठेगाना र उमेर पनि थाहा नभएका उनी अन्दाजी आठ वर्षका देखिन्छ । घरमा बुवा, आमा, दिदी र दाइ  रहेका र दाइ हिमाल र उनीसँगै बजारमा पैसा माग्न हिँड्नुहुन्छ भने बुवा पल्लेदारका रूपमा काम गर्नुहुन्छ ।

“दिनभर पैसा माग्छौँ, एक जनाले रु पाँचदेखि ४० सम्म दिन्छन्”, सागरले भन्नुभयो, “मागेको पैसा घरबेटीलाई भाडा बुझाउन आमालाई दिन्छौँ ।” उनी खानीगाउँस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत छन् । तिहारपछि विद्यालय सञ्चालन भइरहेको छ तर दिदीले विद्यालयमा नभई पैसा माग्न पठाएर आफू बजारमा हिँडेको उनी बताउँदछन् । हिमालले विद्यालय सञ्चालन हुने÷नहुनेबारे आफूहरूलाई केही थाहा नहुने र  रातिमाबाहेक अन्य समयमा आफूहरु कहिले समूहमा त कहिले एक्लै पैसा माग्न जाने उनी बताउँछन् 

सागर र हिमाल त बजारमा माग्दै हिँड्ने सडक बालबालिकाका प्रतिनिधिमूलक पात्रमात्रै हुन् । उहाँहरुजस्ता कतिपय बालबालिका अझै पनि जीवन गुजाराकै लागि बजारमा कसैले फालेका फलफूल एवं खानेकुरा खान्छन् । होटलबाट फालिएको खाना, खाएर फालेको फलफूल, ढलमा फ्याँकिएका वस्तुलगायतका खाद्यान्न एवं नगद आउने सामग्री बालबालिकाका जीवन गुजार्ने माध्यम बनेका छन् । सदरमुकाम तम्घासको उदिनढुङ्गा, मिलनचोक, भीमचोक, लाकुरीमञ्च, खानीगाउँ, बसपार्कलगायतका ठाउँ बालबालिकाका लागि पैसा माग्ने मुख्य ठाउँ हुन् । बसपार्क र उदिनढुङ्गामा मानिस सवारी चढ्ने÷ओर्लने भएकाले बालबालिकाहरूको बढी भीड हुन्छ । तम्घासमा पैसा माग्दै हिँड्नेमध्ये अधिकाशंका बाबु–आमा छन् । उनीका राम्रो हेरचाह नगर्दा अहिले सडकमा बालबालिका मगन्ते जीवन बिताइरहेका छन् । सडक बालबालिकाले पैसा माग्दा कतिपयले कुटपिटसमेत गर्दछन् । यसका कारण सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

पसलबाट सामान लैजान्छन् ः व्यापारी

बालबालिकाले बाटोमा हिँड्ने मानिस र व्यापारीसँग पैसा माग्नेमात्रै होइन, पसलबाट खानेकुरासमेत लैजान्छन् । व्यापारीका आँखा छलेर चाउचाउ, दालमोट, बिस्कुटलगायतका खानेकुरा आफैँले झिक्ने गरेका छन् । “म नभएको बेला आफैँ झिकेर कयौँपटक लगे, बालबालिका भएकाले कुटपिट गर्न मानवताले दिएन ।” बसपार्कमा किराना पसल सञ्चालन गर्दै आउनुभएका हरि पाण्डेले भन्नुभयो, “सडक बालबालिकाको उचित व्यवस्थापन जरुरी छ ।” तत्कालै यस्ता बालबालिकाको व्यवस्थापन गर्न नसके भविष्यमा ठूलो समस्या झेल्नुपर्ने उहाँले बताउनुभयो ।

धुर्कोट गाउँपालिका–७ वाग्लाका ३२ वर्षीय रमेश विश्वकर्माले घर छाडेको १३ वर्ष भयो । रोजगारीका लागि बीचमा केही समय भारतमा गएका उहाँ पछिल्लो केही वर्षयता तम्घासमै बस्दछन् । बसपार्कमा उहाँ र श्रीमतीसहित उहाँका दुई छोरा र दुई छोरी बस्नुहुन्छ । यसमध्ये सात वर्षीय छोरा र एक छोरी बिहानदेखि बेलुकीसम्म बजारमा पैैसा माग्न हिँड्ने उहाँले बताउनुभयो । “मैले दिनभर काम गरेको पैसाले बिहान–बेलुका खान पनि मुस्किलले पुग्छ”, उहाँले भन्नुभयो, “केटाकेटीलाई पढाउन खर्चले पुग्दैन ।” छोराछोरीलाई माग्न पठाउने आफ्नो रहर नभई बाध्यता भएको उहाँले सुनाउनुभयो । राज्यले पढाइ खर्चमा सहयोग गरे विद्यालय पठाउने पनि उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । पल्लेदारकै रूपमा काम गर्ने अर्का अभिभावक सुशील नेपालीले पनि राज्यले सहयोग गरेमा आफ्ना बालबालिकालाई विद्यालय पठाउने बताउनुभयो । 

बजारमा बालबालिका छाड्नेहरूका अभिभावक तम्घासमै पल्लेदारका रूपमा काम गर्नुहुन्छ । उहाँहरुले ज्यालादारी गरेर दैनिक सातदेखि एक हजारसम्म आम्दानी गर्नुहुन्छ । अधिकाशं अभिभावकले दिनभर कमाएको पैसाले मादक पदार्थ सेवन गर्दा बालबालिकाको व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गइरहेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेले बालबालिकाले पसलमा चोरी गरेको निवेदन कार्यालयमा आउने गरेको बताउनुभयो । त्यसका साथै मोटरसाइकलमा क्षति गरेको, जबर्जस्ती पैसा लगेकोजस्ता उजुरी कार्यालयमा आउने उहाँको भनाइ छ । 
तम्घासमा माग्दै हिँड्ने १३ बालबालिका रहेको र उनीहरुलाई रेसुङ्गा नगरपालिका–८ को वडा कार्यालयको समन्वयमा सिद्धबाबा माध्यमिक विद्यालयमा पढाउने तयारी भइरहेको उहाँले बताउनुभयो । “तेह्र जनामध्ये दुई जनाका मात्र अभिभावक छैनन्, बाँकी ११ जनाका अभिभावक भएर पनि स्याहार नगरेका हुन्”, सूचना अधिकारी पाण्डेले भन्नुभयो, “अहिलेलाई विद्यालय पठाउने तयारी भइरहेको छ ।” यसका साथै उहाँले राज्यले नै एउटा नीति बनाएर व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले स्थानीय तहले बालबालिकाको जिम्मेवारी लिनुपर्ने र नभए परिवार स्वयंले लिनुपर्नेमा बताउनुहुन्छ ।