१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका प्रधानमन्त्री देउवाले भौतिकरूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो ।

उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना र प्राज्ञिक व्यक्तित्वको अग्रसरतामा स्थापित प्रतिष्ठानले मुलुकको भाषा, साहित्य, संस्कृति, दर्शन आदिका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउँदै आगामी दिनमा पनि प्राज्ञिक अध्ययन र सांस्कृतिक संरक्षणमा थप योगदान गर्नुपर्ने धारणा राख्नुभयो । समयको मागअनुसार प्राज्ञिक सामग्रीको उत्पादन हुनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो ।  प्रधानमन्त्री देउवाले महाकवि देवकोटा सङ्ग्रहालय निर्माणले देवकोटाप्रति सम्मान हुने उल्लेख गर्दै सभाबाट सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले कोभिड–१९ को महामारीका समयमा पनि प्राज्ञिक अध्ययन अनुसन्धानका काममा नियमितता दिएकामा प्रशंसा गर्नुभयो । कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रतिष्ठानले ऐतिहासिक ग्रन्थहरूको प्रकाशन र पुनः प्रकाशन गरेर भाषिक तथा साहित्यिक क्षेत्रको समृद्धिका लागि योगदान दिनसक्ने बताउनुभयो ।

प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले प्रतिष्ठानले लेखक साहित्यकार परिचयपत्र वितरण गरेर उपयोगी काम गरेको जनाउनुभयो । सभामा नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सभामा शुभकामना व्यक्त गर्नुभएको थियो ।

साहित्यकार परिचयपत्र वितरण

समारोहमा प्रधानमन्त्री देउवाले बहुप्रतिक्षित लेखक/साहित्यकार परिचयपत्र वितरण कार्यको आरम्भ गर्नुभयो । प्रधानमन्त्रीबाट पूर्व सदस्यसचिव तथा वाङ्मय शताब्दी पुरुष जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति काइँला र पूर्व सदस्यसचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक÷साहित्यकार परिचयपत्र वितरण गरिएको थियो । प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने जानकारी दिनुभयो ।

सभामा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचारिक आरम्भ पनि गरियो । सो वेबसाइटमा अनलाइनबाटै हल बुकिङ तथा पुस्तक–पत्रिका बिक्री वितरणको समेत व्यवस्था गरिएको छ ।रासस